चाँगुनारायण कोरोनाविरुद्धको पूर्ण खोपयुक्त नगर घोषणा
२० जनालाई अध्यक्ष तिमिल्सिनाबाट विभूषण प्रदान

चाँगुनारायण नगरपालिकाको छैठौँ स्थापना दिवसको अवसरमा आज बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा, कोभिड–१९ विरूद्धको पूर्ण खोप युक्त नगर घोषणा गर्दै विभिन्न पदकका साथ सम्मान प्रदान गरिएको छ । 

नगरपालिकाले आज आयोजना गरेको स्थापना दिवसमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा, कोभिड–१९ विरुद्धको पूर्ण खोप युक्त नगर घोषणा गर्दै विभिन्न पदक एवं सम्मान प्रदान गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले चाँगुनारायणमा सबै राजनीतिक दलको एकता देखेर आफू प्रभावित भएको बताए । अन्य जिल्ला र पालिकाको कार्यक्रममा एक दलले अर्को दलको विरोध गर्ने गरेको सुने पनि यहाँ भने सबै दलले विकासको प्रशंसा गरेको देखेर सबैको एकताका साथ विकासले गति लिएको देख्न पाउदा खुसी लागेको बताए । 

'विकासमा एउटा दलले अर्को दलको विरोध गरेको सुनिन्थ्यो, देखिन्थ्यो तर यहाँ त बोल्ने सबै दलका नेताले चाँगुनारायणको विकासको प्रशंसा गर्नुभयो । यहाँ सबै दलको एकता देखियो', अध्यक्ष तिमिल्सिनाले भने, 'अब आउने चुनावमा पनि सबै दलसँगै प्रचारप्रसार गर्नुस्, एउटै मञ्च प्रयोग गरेर सभा गर्नुस् र राम्रो सन्देश दिनुस् ।'

उनले यहाँको पूर्वाधारको विकास, सामाजिक विकास र सबै विकास भएको बताउदै जनताको विकासलाई अगाडि बढाएर जनताको मन जित्दै जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सांसद महेश बस्नेतले आफ्नो पहलमा आएको १६ अर्ब बजेटले भक्तपुरको विकास भएको चर्चा गर्दै जनप्रतिनिधि आएपछि तीन तहकै सरकारको बजेटले भक्तपुरको विकासको मुहार फेरिएको बताए । 



त्यस अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरको विकास देशकै लागि नमूना भएको चर्चा गरे । उनले विकासमा विरोध नभई एकता हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले सरकारले आफ्ना नागरिकलाई दिने विभिन्न विभूषण जस्तै नगरपालिकाले पनि आफ्ना नगरवासीका लागि रत्न, गौरव, ओजस्वीलगायतका विभूषण प्रदान गरेको बताए । उनले नगरपालिकामा सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी सबै क्षेत्रको विकासमा कुनै कसर बाँकी नरोखेको बताए ।



कार्यक्रममा ‘चाँगुनारायण रत्न एक, चाँगुनारायण गौरव एक, चाँगुनारायण ओजस्वी प्रथम एक, द्वितीय दुई, तृतीय तीन, चाँगुनारायण स्वर्ण माला प्रथम एक, द्वितीय दुई, तृतीय तीन, चाँगुनारायण ज्ञानपुञ्ज प्रथम एक, द्वितीय दुई, तृतीय तीन गरी २० जनालाई अध्यक्ष तिमिल्सिनाले विभूषण प्रदान गरे । 

विदेशमा रहेर ख्याति कमाएका चाँगुनारायणवासी तथा चाँगुनारायणको विकासमा विभिन्न क्षेत्रबाट उल्लेख्य योगदान गर्ने व्यक्तिलाई विभिन्न पदक एवं विभूषणबाट सम्मान गरिएको हो । नगरपालिकाको विभिन्न क्षेत्रमा योगदान पुर्याउने कर्मचारीसहित थप १० जनालालाई ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

अध्यक्ष तिमिल्सिनाले नगरपालिकाले विगत पाँच वर्षमा गरेको उपलब्धि समेटेर प्रकाशित गरेको पुस्तक ‘चाँगुनारायण विकास दर्पण’ पनि सार्वजनिक गरे ।

  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार २०:३७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया