अस्ट्रेलियन लेजेण्ड क्रिकेटर शेन वार्नको स्मृतिमा प्रो क्लब क्रिकेट लिग आयोजना हुने भएको छ ।
नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले सामाजिक संजाल ट्विटरमार्फत वार्नको स्मृतिमा प्रो क्लब क्रिकेट लिग आयोजना गरिने जनाएकी हुन् ।
‘क्रिकेट प्यासन नेपाल र अस्ट्रेलियाबीच साझा छ । नेपालका पुर्व राष्ट्रिय क्रिकेटर आमिर अख्तरलाई भेट्नु र शेन वार्नको स्मृतिमा भैरहवामा अप्रिलमा अन्तर्राष्ट्रिय प्रो क्लब क्रिकेट लिग आयोजना गर्ने उनको योजना सुन्न पाउँदा खुसी लाग्यो । आशा छ कि केहि हेर्न सक्षम हुनेछौँ’ भोल्कले ट्विटरमा लेखेकी छन् ।
आमिर अख्तर नेपाली फ्रेन्चाइज क्रिकेट एभरेस्ट प्रिमियर लिग (इपिएल) का म्यानेजिङ डाइरेक्टर हुन् ।
यसअघि नेपालमा अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको स्मृतिमा समेत अस्ट्रेलियन र नेपाली खेलाडीबीच क्रिकेट खेल आयोजना भएको थियो ।
वार्नको गत हप्ता हृदयघातका कारण थाइल्याण्डमा ५२ वर्षको उमेरमा निधन भएको थियो । लेग स्पिनर वार्नले टेस्टमा ७०८ विकेट लिएका थिए । उनी टेस्ट क्रिकेटमा श्रीलंकका मुथैया मुलरीधर (८००) पछि सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।