उदयपुर सिमेण्ट उद्योगको व्यवस्थापनमा देउरी स्वास्थ्यचौकीलाई एम्बुलेन्स तथा प्रयोगशाला हस्तान्तरण

उदयपुर सिमेण्ट उद्योगको व्यवस्थापनमा देउरी स्वास्थ्य चौकी उदयपुरलाई एम्बुलेन्स तथा प्रयोगशाला हस्तान्तरण गरिएको छ । साथै, उक्त स्वास्थ्यचौकीम बाणिज्य बैंक काउण्टरको पनि स्थापना गरिएको छ । शनिबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । 

नेपालको राष्ट्रिय गौरवको रुपमा २०४४ सालमा जापान सरकारको सहयोगबाट नेपाल सरकारको पूर्ण स्वामित्व रहनेगरी स्थापना भएको यस उद्योगले ०४९ सालदेखि व्यापारिक उत्पादन सरु गरेको हो। ०४५ भाद्र १ गते को तत्कालीन मन्त्रीपरिषद्को निर्णयानुसार उद्योगलाई विद्युत, सडकलगायत पूर्वाधार तथा खानी रहेको जग्गासमेत उपलब्ध गराइएको थियो ।

पछि ०४६ सालमा उद्योग स्वयंले त्रियुगा नगरपालिकाअन्तर्गत ५,६,७ र ८ नं वडामा उद्योगपरिसरमा ५० बिघा १२ कठ्ठा जग्गा र वडा नं १६ मा रहेको क्वारी अफिसमा ५१३ रोपनी जग्गा खरिद गरी उद्योगको नाममा रहेको छ ।

उद्योगको सम्पत्ति र दायित्वको यकिन गरी नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याडर्डबमोजिम वित्तीय विवरण तयार गर्नुपर्ने कानुनी बाध्यता भएकोले आव ०७७–७८ को वित्तीय विवरण तयार हुँदा सञ्चित नोक्सानी हट्न गई चालू आर्थिक वर्ष २०७८–७९ देखि उद्योगलाई नाफामा लैजानेगरी बजेट तर्जुमा गरी कार्यान्वयन गरिएको उदयपुर सिमेन्ट उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जनाएका छन् । 

उदयपुर सिमेन्ट उद्योग यस क्षेत्रमा रहेका कारण सुरुको अवस्थाबाट नै त्यहाँका स्थानीयले सडक र विद्युतको उपभोग गर्न पाएका छन् । उद्योगकै कारण प्रत्यक्ष–परोक्ष रुपमा ठूलो संख्यामा रोजगारी तथा स्वरोजगारको वातावरण पनि सिर्जना भएको छ । उद्योगका कारण वरिपरिका बासिन्दाको कृषि उपज खपत भई आर्थिक उपार्जनको स्रोत बनेको छ । 



उद्योगले वार्षिक एक अर्बको हाराहारीमा मूल्य अभिवृद्वि कर, अन्तःशुल्क, अग्रिम कर, रोयल्टीलगायत कर तथा विद्युत महसुलबापत रकम सरकारलाई बुझाउँदै आएको प्रवक्ता पोख्रेलको भनाइ छ । 

प्रतिष्ठानले लाभलाई मात्र एकल अभीष्ट नठानी समाज र वातावरणको प्रवर्द्धनमा पनि योगदान पुर्‍याउनुपर्छ भन्ने मान्यतालाई संस्थागत रुपमा अघि बढाएको छ । उद्योगबाट निस्कने धुलो, धुवाँका कारण प्रभावित बासिन्दाको स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माणका लागि नगरपालिका मार्फत बर्सेनि लगभग ५० लाखको हाराहारीमा स्रोत जुटाइरहेको र यस आर्थिक वर्षदेखि सो रकमलाई प्रभावित वडाहरुमा नगरले बजेट वितरण गरेकोमा उद्योगले नगरपालिकाका कार्यकारी परिषद्लाई धन्यवाद दिएको छ । 



उद्योगमा कार्यरत कर्मचारीका छोराछोरीको अध्ययनका लागि स्थापना भएको उदयसी अंग्रेजी उच्च माध्यमिक विद्यालयको व्यवस्थापन उद्योगभित्रकै उच्च तहका कर्मचारी समूहबाट हेरिँदै आएको छ । सो विद्यालयमा १६ सय विद्यार्थी सस्तो शुल्कमा अध्ययनरत छन् । 

उद्योगपरिसरमै रहेको प्रहरी कार्यालय, सुकौरामा उद्योगको अफिसपरिसरमा रहेको प्रहरी कार्यालयबाट उद्योगको मात्रै नभएर आमनागरिकलाई सुरक्षा प्रदान भएको छ । उद्योग परिसरभित्र रहेको विद्युत प्राधिकरणले उद्योगलाई मात्रै होइन, उदयपुरबासी र नजिकका पहाडी जिल्लामा समेत विद्युत प्रवाह गरिरहेको छ ।

उद्योगले कोभिड कहरको दोस्रो लहरमा देउरी स्वास्थ्य चौकी र सुकौरा स्वास्थ्य चौकीमा अक्सिजन ग्यासको व्यवस्थापन गरिदिएको थियो । नगरपालिका, विद्युत् प्राधिकरणलगायतलाई लोडर, स्काभेक्टर, ड्रमट्रक लगायत साधन समयसमयमा उपलब्ध गराउँदै आएको छ । उद्योगले व्यक्तिगत रुपमा निश्चित सहुलियत शुल्क लिएर नागरिकहरुलाई एम्बलेन्स सेवा पनि दिइरहेको छ । 

महाप्रबन्धकको रुपमा ०७७ माघ  १ गते श्री गोपीकृष्ण न्यौपाने प्रवेश गरेपछि उद्योग सुचारु रुपमा सञ्चालन गर्न मूलतः सुशासन, उद्योगको मर्मत सम्भार, पारदर्शिता तथा व्यवस्थापन सुधारका क्षेत्रलाई प्राथमिकता दिई कार्य सम्पादन गरेका कारणबाट यसको फाल्गुण २७ गतेसम्ममा उद्योगले लक्ष्यभन्दा बढी प्रगति हसिल गरेको र गत वर्षको सोही अवधिको भन्दा बढी उत्पादन तथा बिक्री गर्न सफल भएको प्रवक्ता पोखरेलले बताए । 

उद्योगले गत वर्ष फाल्गुनसम्ममा ६६,५९५ टन क्लिंकरको उत्पादन गरेकोमा यस वर्षको फाल्गुनसम्ममा ७५,००० टन लक्ष्य रहेकोमा यस वर्षको फाल्गुन २७ सम्ममा ७६,९०० टन उत्पादन गरेको छ । यो १०२.५३ प्रतिशतले प्रगति हो । त्यसैगरी, सिमेण्ट बिक्री गत वर्ष फाल्गुनसम्ममा १२,४६,०१३ टन रहेको थियो । यस वर्षको फाल्गुनसम्ममा १३,२४,९६० टन लक्ष्य रहेकोमा यस वर्षको फाल्गुन २७ सम्ममा १४,५६,१२८ टन उत्पादन भएको छ । यो १०९.९ प्रतिशत प्रगति हो ।

उद्योग वरपरका बासिन्दा र उद्योगका कर्मचारीको स्वास्थ्यलाई ध्यान दिई कम्तीमा लिपिड प्रोफाइलसम्मको प्रयोगशाला स्थापना गर्न जरुरी रहेकाले देउरी स्वास्थ्य चौकीको प्रयोगशाला स्तरोन्नति गर्न मेसिन जडान गरी ल्याबको उद्घाटन गरिएको उद्योगले जनाएको छ । यसबाट सस्तो सरकारी दररेटमा यस भेगका बासिन्दा तथा कर्मचारीले लाभ लिने उद्योगले विश्वास लिएको छ । 

उद्योगमा एउटा मात्र एम्बुलेन्स भएको र त्यो पनि जीर्ण अवस्थामा रहेकोले एउटा नयाँ महेन्द्राको बलेरो एम्बुलेन्स पनि आजैदेखि सञ्चालन हुनेगरी नगरका मेयरमार्फत देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो । 

सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट १५ लाख, माछापुच्छ्रे बैकको तर्फबाट ५ लाख ६५हजार र अन्य संघ–संस्थाको तर्फबाट गरी कुल  ३० लाखको लगानीमा यी कार्यहरू सम्पन्न भएका हुन् । सो कामलाई प्रोत्साहन गर्न नेपाल सरकार, स्वास्थ्य सेवा विभागले एक थान अल्ट्रासाउन्ड मेसिन प्रदान गरेको छ । त्यसको लागि उद्योगले स्वास्थ्य सेवा विभागका डा. दीपेन्द्ररमण सिंहलाई धन्यवाद ज्ञापन गरेको छ । 

आगामी दिनमा एउटा एक्सरे मेसिनसमेत राख्न सक्नेगरी भौतिक निर्माण गरिएको छ, करिब २५ लाख पर्ने एक्सरे मेसिनसमेत जडान गर्न सके त्रियुगा नगरपालिकाको निर्णयानुसार १५ शय्याको अस्पताल स्थापना गर्न सकिने भएकोले आगामी दिनमा यतातर्फ पनि हामी सबै मिलेर सहयोग जुटाउन सके यो एक नमुना अस्पताल बन्न सक्ने बताइएको छ । 

एम्बुलेन्स र प्रयोगशालामा आवश्यक पर्ने प्राविधिक जनशक्तिको व्यवस्थापन देउरी स्वास्थ्य चौकी आफैँले गर्ने गरी आब २०७८–७९ को स्वीकृत बजेटबाट उदयपुर सिमेन्ट उद्योग लिको तर्फबाट ७ लाखको चेक देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।

आम नागरिकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य पूरा गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्य गर्दै जाने कुराको उद्योगले प्रतिबद्धता जाहेर गरेको छ । उद्योगले सबै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । 

  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार २१:२८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया