आइसिसी महिला एकदिवसीय विश्वकपमा आज सम्पन्न खेलमा अस्ट्रेलिया विजयी भएको छ । लगातार जित निकाल्ने क्रममा अस्ट्रेलियाले आयोजक न्युजिल्याण्डमाथि १४१ रनको सहज जित हात पारेको हो ।
२७० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ३०.२ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन मात्र बनाउन सक्यो । उसका लागि एमी सेथरवेथले सर्वाधिक ४४ रनको योगदान दिइन् ।
ली तहुहुले २३, केटी मार्टिनले १९ र सुजी बोट्सले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अस्ट्रेलियाका लागि डार्सी ब्राउनले ३, अमान्डा वेलिङ्गटन र एश्लेघ गार्डनर २/२ तथा एलिस पेरी, तहलिया म्याकग्रेथ र मेगन स्कटले १/१ विकेट हात पारे ।
यसअघि बेलिङ्गटनस्थित बेसिन रिजर्भमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६९ रन बनाएको थियो । अस्ट्रेलियाका लागि एलिस पेरी र ताहलिया म्याकग्राले अर्धशतकीय पारी खेले ।
८६ बलको सामना गरेकी पेरीले ६ चौका र १ छक्कासहित ६८ रन बनाइन् । ५६ बलको सामना गर्दै ५७ रनको योगदान दिएकी म्याकग्रेथले ८ चौका प्रहार गरिन् । एस्ले गार्डनर ४८ रनमा अविजित रहँदा राचेल हाइनेसले ३० रन जोडिन् ।
न्युजिल्यान्डका लागि ली ताहुहुले ३ तथा हान्ना रोवे, फान्सिस म्याकी, हेली जेनसन र अमेलिया केरले १/१ विकेट हात पार्दा १ विकेट रन आउटको रूपमा प्राप्त भयो ।
यो जितसँगै अस्ट्रेलिया ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिँदा पराजित न्युजिल्याण्ड ४ खेलबाट ४ अंकका साथ चौथो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।