मन्त्री प्रेम आलेलाई २१ किलोको माला

धनगढीमा सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता हिजाे सम्पन्न भयो ।  फाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ ले हराउँदै मनाङ च्याम्पियन बन्याे । मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २१ किलोकाे माला लगाइदिएर चर्चामा आएको गोल्डकप प्रतियोगितामा शनिबार समापन समारोहमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेलाई २१ किलोकाे फूलको माला पहिर्‍याइयाे ।

समापन कार्यक्रममा मन्त्री आले प्रमुख अतिथि थिए । मन्त्री आलेले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशिका खेलकुद प्रतियाेगिता भइरहेकाले यो क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा प्राकृतिक पर्यटन मात्र नभएर खेलकुदका माध्यमबाट चिनाउन आवश्यक रहेका बताए ।

उनले धनगढी रङ्गशालामा रात्रिकालीन खेल हुनेगरी स्तरोन्नति आवश्यक रहेको जनाउँदै यसका लागि आवश्यक बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देश समेत दिए । 

प्रतियोगिता सुरु भएदेखि सुदूरपश्चिम प्रदेशका मन्त्रीहरूलाई हरेक दिन ११ किलोको फूलको माला पहिर्‍याइएको थियो । 

प्रतियोगिताको नाम विगतमा खप्तड गोल्डकप हुने भए पनि यस पटक भने मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप राखिएको थियाे । मुख्यमन्त्री त्रिलोचन भट्टलगायत प्रदेशका मन्त्रीहरूलाई ११ देखि २१ किलो माला लगाइदिएकाे भन्दै सामाजिक सञ्जालमा चर्काे आलोचना भयाे ।



मालाका लागि सबै फूल भारतबाट आयात गरिएका हुन् । भारतबाट महँगोमा फूल ल्याएर प्रदेशका मुख्यमन्त्रीहरूलाई २१ किलो माला लगाउनुकै कुनै अर्थ नरहेको स्थानीयको भनाइ छ ।

आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लब धनगढीका अध्यक्ष सुरेश हमाल आर्थिक सहयोग गर्नेलाई स्वागत गर्नका लागि मात्र फूलका माला लगाइएकाे बताए ।



‘प्रतियोगिता आयोजना गर्नका लागि ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ’, उनले भने ‘कम्तीमा पनि एक करोड ३० लाख रुपैयाँ खर्च हुन्छ । यो बजेट स्थानीय र प्रदेश सरकारले व्यहाेर्नुपर्छ भन्ने हाम्रो माग हो ।’
 
माला पहिर्‍याउने कुनै स्वार्थ नरहेको उनले दाबीसमेत गरे । माला नेपालमा भन्दा भारतमा सस्तो पर्ने भएको हुँदा उतैबाट नै ल्याएको उनले बताए । तर, फूल मालामा कति खर्च भयो ? भन्ने प्रश्नमा भने उनले खुलाउन चाहेनन् ।
 
प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । विजेताले २१ लाख नगद प्राप्त गर्दा उपविजेता टोलीले १० लाख नगद प्राप्त गरेको छ। 

सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदीयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गरे । 

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाए ।

  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १२:४६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया