नेपाली कांग्रेसको ‘घर–घर जाऊँ, नेपाली कााग्रेस जिताऔँ अभियान आजबाट देशभर सुरु भएको छ । केन्द्रीय सर्कुलर अनुसार बझाङ जिल्लासहित देशैभर उक्त अभियानको शुभारम्भ भएको हो ।
उक्त अभियानअन्तर्गगत आज नेपाली कांग्रेस बझाङले जिल्ला सदरमुकाम चैनपुरमा चुनावी अभियानको सुरुवात गरेको छ । अभियानमा सहभागी हुन जिल्ला पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले स्थानीय तहको चुनावमा कांग्रेसले एक्लै चुनाव लड्ने वा गठबन्धन गरेर चुनाव लड्ने भनेर व्यापक छलफल भइरहेकाले नआत्तिन आग्रह गरेका छन् ।
सही समयमा पार्टीले सही निर्णय गर्ने र त्यहीअनुसार अघि बढ्नुपर्ने नेता लेखकले बताए । नेपाली कांग्रेस जनताको पार्टी भएका कारण जनतालाई कसरी विकास र समृद्धिसँग जोड्न सकिन्छ भन्नेबारे नेताको ध्यान जान आवश्यक रहेको उनले बताए ।
उनले भने, ‘कांग्रेसले पहुँच र पावरका आधारमा नभई जनताको काम गर्न सक्ने व्यक्तिलाई टिकट दिनुपर्छ भन्ने मान्यता राख्दछ । स्थानीय तहमा जुन नेताले जनताको क्षेत्रमा काम गर्न सक्छ उसैलाई टिकक दिनुपर्छ ।’
एमसिसी देशको हितमा रहेको र यो विशुद्ध विकास परियोजना भएको समेत नेता लेखकले बताएका छन् । प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएका बेला एमसिसी चाहिन्छ भनेर विज्ञ टोली गठन गरेको स्मरण गराउँदै उनले भने, ‘प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायत नेताले हलो अड्काएर गोरु चुट्ने काम गरेको भए पनि उनीहरु सफल हुन सक्नुभएन ।’
नेता लेखकले भने, ‘प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतले एमसिसीलाई हतियार बनाएर गोरु चुट्न खोज्नु भएको थियो । तर, हामीले हलो नै फुत्काइदिने भनेपछि लाइनमा आउनुभयो ।’
देशको भाग्य र भविष्य कोर्ने जिम्मेवारी नेपाली कांग्रेसको मात्रै भएको नेता लेखकले बताए । २०६४ सालमा माओवादीलगायत कम्युनिस्टको दुईतिहाइ भएको समयमा संविधान बनाउन नसकेको र उल्टै कम्युनिस्टले चार–चारवटा प्रधानमन्त्री मात्र फेरेको उनले बताए ।
२०७२ सालमा नेपाली कांग्रेसले संविधान बनाएको भन्दै उनले कम्युनिस्टहरु सरकारमा जान औधी मन पराउने, तर काम भने माखो नमार्ने गरेको उनको भनाइ रहेको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री लेखक जिल्ला सदरमुकाम चैनपुरमा पार्टी सभापति खडक बोहराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।