कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट ९ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये ६ हजार ९१३ उत्पादनमूलक र २ हजार ७४१ कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ । कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने शाखाले जनाएको छ ।

भाषा परीक्षामा सहभागी हुन आगामी चैत १४ देखि २१ गतेसम्म आवेदन फारम भर्न सक्ने शाखाले जनाएको छ । परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ । आवेदन फारम शुल्क अमेरिकी डलर २४ लाग्नेछ ।

आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षा र सीप परीक्षण आगामी वैशाख २६ देखि जेठ १३ सम्म पहिलो चरण र आगामी जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणमा हुनेछ ।

यस्तै, उत्पादनमूलक क्षेत्रतर्फको परीक्षा आगामी असार २० देखि भदौ १० सम्म पहिलो चरण र आगामी भदौ १६ देखि असोज २१ गतेसम्म दोस्रो चरणमा हुनेछ । परीक्षा एक दिनमा चार सिफ्टमा सञ्चालन हुने शाखाले जनाएको छ ।

कृषि तथा पशुपालन क्षेत्रतर्फ पहिलो चरणमा भएको भाषा परीक्षाको नतिजा आगामी जेठ २४ गते र दोस्रो चरणमा भएको परीक्षाको नतिजा आगामी असार २३ गते प्रकाशन हुनेछ । यस्तै, उत्पादनमूलक क्षेत्रतर्फ पहिलो चरणमा सम्पन्न भाषा परीक्षाको नतिजा आगामी भदौ १६ गते र असोज २७ गते प्रकाशन हुनेछ ।





  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १०:४२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया