प्रकाशको आग्रह : ‘पिर’ ले उठाउन खोजेको विषयलाई इमान्दार भएर विचार गरौं

आफ्नो नयाँ गीत ‘पिर’ बारे विभिन्न टीकाटिप्पणी भएपछि सर्जक तथा गायक प्रकाश सपुतले प्रष्टिकरण दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो गीतले केही व्यक्तिहरूको चित्त दुखेमा क्षमा माग्दै उनले प्रष्टिकरण दिएका हुन् । 

प्रकाशले गीतलाई राजनीतिकरण नगर्न अनुरोध पनि गरेका छन् । ‘सिर्जना र स्वतन्त्रताको कुरा गरौं । तर, यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला,’ प्रकाशले भनेका छन् । 

उनले ‘पिर’ बाट आफूले युद्धकै जग/बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको पनि स्पष्ट पारेका छन् । समानताको लागि एकसाथ लडेका कमरेडहरूबीचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको प्रकाशको भनाइ छ ।  

‘मलाई लागेको- यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र? पत्रपत्रिकाहरूमा त्यसबारे लेखिँदै-पढिँदै आएको होइन र? छर्लङ्गै देखिएको विषय होइन र? स्वीकारिएको विषय होइन र?,’ प्रकाशले प्रश्न गरेका छन् । उनले गीतले उठाउन खोजेको मुख्य विषयलाई इमान्दार भएर विचार गर्न पनि आग्रह गरेका छन् । 

‘विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समीक्षा गरौँ । तर, गीतले उठाउन खोजेको मुख्य विषयहरूलाई एकपटक इमान्दार भएर विचार गरौं,’ प्रकाशले लेखेका छन्, ‘समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ । त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो ।’   






  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १३:४८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया