कर्णालीका महिलाकाे पीडा : अस्थायी साधन प्रयाेग गर्न छैन अनुमति, विकल्पमा गर्भपतन

चम्पा पुन (नाम परिवर्तन)ले १३ वर्षको उमेरमा विवाह गरेकी हुन् । हाल उनी ३५ वर्षकी भइन् । उनले पाँच सन्तानलाई जन्म दिइसकेकी छन् । जन्म नदिएका सन्तान दशौँपटक खेर गए । दशौँपटक उनले गर्भधारण गरेर असुरक्षित तरिकाले गर्भ खेर फालेकी छन् । कारण परिवार नियोजनको अस्थायी साधनको अभाव नै हो । 

उनलाई एकातिर अस्थायी साधनको प्रयोग गर्न श्रीमानको अनुमती छैन । अर्कोतिर लुकिछिपी प्रयोग गरेको साधनले स्वास्थ्यमा प्रतिकूल असर गरेपछि उनी बारम्बार गर्भपतन गराउन बाध्य भएकी हुन् ।  जाजरकोटको नलगाड नगरपालिका ४ प्युली घर भएकी उनी एकातिर निरन्तर असुरक्षित गर्भपतन गराउनुपर्ने बाध्यतामा छन् भने अर्कोतिर सोही कारणले आउने समस्याबाट पनि उत्तिकै पीडित छन्  । 

उनले कैयौँपटक श्रीमानबाट लुकेर गर्भ रोक्नका लागि पिल्स खाइन्, तर उनलाई पिल्सले रक्तश्राव गरायो । ‘श्रीमानलाई स्थायी बन्ध्याकरण गर्नका लागि आग्रह गर्छु, तर मान्नुहुन्न,’ उनले भनिन्, ‘मलाई परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न अनुमति पनि छैन । लुकेरै प्रयोग गर्छु, तर रक्तश्राव हुन्छ, त्यसैलै गर्भपतन नै मेरो विकल्प हो ।’

पटक–पटक गर्भपतन गराउँदा उनी निकै कमजोर भइसकेकी छन् । सधैँ यसरी नै गर्भपतन गराउने हो भने बाँचिएला जस्तो उनलाई लाग्दैन । ‘अब जहिले मरिन्छ मरिन्छ,’ उनले गहभरि आँसु पार्दै थपिन्, ‘श्रीमानलाई स्थायी बन्ध्याकरण गराइदिन पाए मेरो जीवनले पालुवा फेर्ने थियो ।’

श्रीमतीको स्वास्थ्यमा प्रतिकूल असर पर्दासमेत उनका श्रीमान् परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न राजी हुँदैनन्, नत चम्पालाई नै अनुमति दिन्छन् । 

उनी मात्रै होइन, वीरेन्द्रनगर नगरपालिका वडा नं २ की कमला बुढा (नाम परिवर्तन)को पनि हालत उस्तै छ । चार सन्तानकी आमा उनले पनि श्रीमानको अनुमतिविना  परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्न पाउँदिनन् । 



उनका श्रीमानले समेत न त आफू अस्थायी साधनको प्रयोग गर्छन्, न त कमलालाई नै गर्न दिन्छन् । जसका कारण नचाहेको गर्भ रहँदा गर्भपतन गर्नुपर्ने बाध्यता कमलालाई छ ।

२९ वर्षीय कमलाका श्रीमान् भारत जाने भएका कारण आफूमाथि बढी शंका गर्ने गरेको उनले सुनाइन् । अस्थायी साधनको प्रयोग गरेपछि आफू नभएको समयमा अरुसँग यौन सम्बन्ध राख्छे भनेर प्रायः कमलाका श्रीमानले उनलाई तनाव दिन्छन् । 



‘श्रीमान् घर आएको समयमा अस्थायी साधन प्रयोग गर्न खोज्दा शंका गर्नुहुन्छ,’ उनले भनिन्,‘म नभएको समयमा पनि अस्थायी साधन प्रयोग गरेर अरुसँग यौनसम्बन्ध राख्छेस् कि भन्नुहुन्छ । त्यसैले बरु गर्भ रहे रहन्छ औषधि खाएर फाल्ने गरेकी छु ।’

श्रीमानलाई छलेरै अस्थायी साधनको प्रयोग गर्दा पनि रक्तश्राव हुने, तौल घट्ने समस्या हुने गरेको उनले बताइन् । २९ वर्षीय कमलाले पाँचपटकसम्म गर्भपतन गरेको बताइन् ।

उनीहरु जस्तै कर्णाली प्रदेशका धेरै महिला श्रीमानको अनुमतिविना परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न पाउँदैनन् । जसका कारण नचाहेको गर्भ रहन गई विकल्पमा गर्भपतन गर्नुपर्ने बाध्यतामा महिलाहरु छन् । परिवार नियोजनको अस्थायी साधन प्रयोगबारे चेतना नहुँदा यसो हुने गरेको स्वास्थकर्मीहरुको भनाइ छ । 

परिवार नियोजनका अस्थायी साधन पुरुषभन्दा महिलाले नै गर्नुपर्ने बाध्यता पनि उस्तै छ । अस्थायी साधनले पार्ने नकारात्मक असरबारे पुरुष जानकार छैनन् । अस्थायी साधनले स्वास्थ्यमा प्रतिकूल असर गरे पनि विकल्पमा गर्भपतन गर्नुपर्ने अवस्था कर्णालीका महिलालाई छ। यसबारे पुरुषहरु सचेत छैनन् ।  

पटक–पटक गर्भपतन गराउँदा रक्तश्राव भइरहने, पाठेघर खस्ने समस्या देखिने र ज्यानैसमेत गुमाउनुपर्ने अवस्थामा कर्णालीका महिला परेका हुन् । 

अस्थायी साधन प्रयोग गर्नेमा पुरुषभन्दा महिला नै बढी 

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशभर आर्थिक वर्ष २०७६–०७७ मा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नेको संख्या ७३ हजार ९ सय ५७ मात्र रहेको छ । 

जसमा कन्डम (पुरुषले प्रयोग गर्ने) प्रयोगकर्ता १४ हजार ९७ रहेका छन् । त्यस्तै, महिलाहरुले प्रयोग गर्ने अस्थायी साधन डिपो ३४ हजार ८ सय १४, इम्पलान्ट प्रयोगकर्ता ७ हजार ४६, आइयुसिडी ६ सय २५ र पिल्स प्रयोगकर्ता १६ हजार ४ सय ७५ रहेका छन् । 

त्यस्तै, आर्थिक वर्ष २०७७–०७८ मा समेत ७३ हजार ७ सय ४५ ले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेकोे निर्देशनालयको तथ्यांक रहेको छ ।

जसमा कन्डम प्रयोगकर्ता १३ हजार १ सय ३२, डिपो प्रयोगकर्ता ३८ हजार ३ सय ३४, इम्पलान्ट प्रयोगकर्ता ७ हजार ९ सय ७६, आइयुसिडी प्रयोगकर्ता ४ सय ७६ र पिल्स प्रयोगकर्ता १३ हजार ८ सय २७ रहेको निर्देशनालयले जानकारी दिएको हो ।
 
कर्णाली प्रदेश अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. धर्मराज रेग्मीका अनुसार कर्णाली प्रदेश अस्पतालमा समेत दैनिक एक सय पचासभन्दा बढी महिला विभिन्न समस्या लिएर आउने गरेका छन् । जसमा ३० प्रतिशत महिला पाठेघर खस्ने, रगत बग्ने र सेतोपानी बग्ने समस्या लिएर आउने गरेको उनले सुनाए । 

अस्थायी साधनको प्रयोग गरेको बच्चा बसेछ भन्दै अस्पतालमा गर्भपतन गराउन आउनेको संख्या समेत ३० प्रतिशत भन्दा बढी भएको उनले जानकारी दिए । 
उनले गर्भ, गर्भपतन र अन्य महिलासँग सम्बन्धित समस्या समाधानका लागि तल्लो स्तरबाट दम्पतीलाई नै सचेत गराउनुपर्ने बताए । 

उनका अनुसार कर्णाली प्रदेश अस्पतालमा दैलेख, सल्यान, जाजरकोट, कालिकोटलगायत जिल्लाबाट महिलाहरु सेवा लिन आउने गरेका हुन् ।

  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १८:४२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया