२७ वर्षअघिको भ्रष्टाचार ब्युँत्याउँदै अख्तियार, मरिसकेका मान्छेविरुद्ध पनि मुद्दा दायर

२०५१ सालको वैशाख ११ गते तनहुँस्थित शुक्लागण्डकी नगरपालिका १६ को हिमाली प्राविको विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर सार्वजनिक जग्गा बिक्री गरिदियो ।

साविक ढोरफिर्दी गाविसमा रहेको जग्गा विभिन्न ब्यक्तिलाई घरसारको कागज बनाई गैरकानुनी रुपमा जग्गा बेचेपछि समितिविरुद्ध उजुरी पर्‍यो ।

समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानिया, सदस्य सचिव (प्रधानाध्यापक) याम बहादुर ठकुरीसहित ७ जना विरुद्ध उजुरी परेको थियो । समितिका सदस्य घनश्याम बानियाँ, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँसहितले १ लाख ६९ हजार रुपैयाँ लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

बिक्री भएको जग्गाको १ लाख ६९ हजार बिगो कायम गरेर उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो । आरोपितमध्ये यामबहादुर, धुनबहादुर, ज्ञानबहादुर र खडकबहादुरको मृत्यु भइसकेको छ । मृत्यु भए पनि उनीहरुले भ्रष्टाचार गरेको देखिएकोले उनीहरुसँग माग दाबी लिइएको छ ।

सार्वजनिक जग्गालाई घरसारको कागजात बनाई आँफैले घडेरी नम्बर कायम गरेर भोगचलन गरेको आरोपमा खरिद गर्नेलाई समेत अख्तियारले आरोपी बनाएको छ । सन्तबहादुर सिजालीमगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बुद्दिमाया विक, बाबुराम बानियाँ, लोकबहादुर माकिम, पूर्णबहादुर विक र धनबहादुर विकले विद्यालय व्यवस्थापन समितिलाई पैसा दिएर जग्गा भोगचलन गरेका थिए ।

उनीहरुलाई मतियारको रुपमा कारबाही माग गरिएको छ । भोगचलन गरिरहेकाबाट जग्गाको भोग हटाई जफत गर्न माग गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । भोगचलन गरेकामध्ये लोकबहादुर, डोलराज र धनबहादुरको मृत्यु भइसकेको छ ।





  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार २१:११:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया