चुनावी देश दौडाहमा प्रचण्ड : दिमागमा केपी ओली मात्र !
नारायणकाजी फकाउने चिन्ता छुट्टै

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला देश दौडाहामा छन् । गत २५ फागुनमा बागमती प्रदेशस्तरीय अगुवा भेलालाई सम्बोधन गरेका प्रचण्ड त्यसलगत्तै देशका विभिन्न स्थानमा पुगेर चुनावी सरगर्मी बढाएका हुन् । 

२७ फागुनमा प्रचण्ड कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित राजनीतिक तथा वैचारिक कार्यक्रममा सरिक हुन पुगेका थिए । पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रचण्ड २९ फागुनमा प्रदेश-१ मा पुगेका थिए भने ३० फागुनमा सुदूरपश्चिम पुगेर प्रशिक्षणात्मक कार्यक्रममा सहभागी भएका थिए ।

आगामी ३ चैतमा लुम्बिनी, ६ चैतमा गण्डकी र ८ चैतमा मधेश प्रदेशमा पुगेर प्रचण्डले चुनावलक्षित कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ । स्थानीय निर्वाचन नजिकिँदै जाँदा प्रचण्डसामु सत्ता गठबन्धन जोगाउनेदेखि पार्टीभित्रका असन्तुष्ट नेताहरूलाई मिलाएर लैजानेसम्मको चुनौती छ । 

दिमागमा ओली मात्र !

३० वैशाखमा हुने स्थानीय निर्वाचनको माहोल बनाउँदैछन्, प्रचण्ड । सत्ता गठबन्धन बनाएर कांग्रेस नेतृत्वमा बनेको सरकारको आलोचना प्रचण्डले गर्ने कुरै भएन । बरु, आगामी तीनै तहको निर्वाचनसम्म चुनावी गठबन्धन जोगाएरै अघि बढ्नेमा उनको सक्रियता छ । 

सत्तारुढ ४ दल हुन् नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपा । कांग्रेसभित्र गठबन्धन कायम राखेर चुनावमा जान नहुने तर्क बढी सुनिन थालेका छन् । शीर्षस्थ नेताहरूले पनि प्रधानमन्त्री देउवालाई सोही अनुसार व्याख्या गरिरहेका छन् । 



तर, देउवा भने गठबन्धनकै पक्षमा रहेको संकेत गरिरहेका छन् । उनले गठबन्धनभित्रका दलको आलोचना नगर्नसमेत सार्वजनिक रूपमा भनेका छन । त्यसो त, प्रचण्डको दिमागमा यतिबेला ‘नेकपा एमाले’ र सो पार्टीका अध्यक्ष केपी शर्मा ओली मात्रै घुमिरहेका छन् । 

सार्वजनिक कार्यक्रमका सम्बोधनमा मात्र नभइ नेताहरूसँगको अनौपचारिक छलफलमा पनि प्रचण्डले ओली र एमालेको आलोचना गरिरहेका हुन्छन् । ५ फागुनमा बागमती प्रदेश समितिको राजनैतिक वैचारिक कार्यक्रममा सरिक भएका प्रचण्डले एमालेकै कारणले आजको परिस्थिति सामना गर्नुपरेको बताएका थिए । त्यसपछि २७ फागुनमा सुर्खेत पुगेका प्रचण्डले त्यहाँस्थित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली प्रवृत्तिविरुद्ध आफ्नो लडाईं रहेको बताए ।



उनले ओलीतर्फ नै इंकित गर्दै बेला बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरि पुरानै ठाउँमा लिएर देशलाई डुबाउन खोज्नेविरुद्ध माओवादी सचेत भएको बताए । २८ फागुनमा नुवाकोट पुगेका प्रचण्डले त्यहाँ पनि ओलीलाई बिर्सेनन् । संविधान बनाउने बेलामा त्यतिबेलाका नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउनेभन्दा पनि कुनै तरिकाले परम्परागत बनोस् भन्ने हिसाबले अघि बढेको भन्दै प्रचण्डले माओवादीले पहलकदमी लिएको बताए । यसमा नेताहरूलाई प्रधानमन्त्री र राष्ट्रपति अफर गरेर मनाएको उनको भनाइ छ ।

‘संविधान बनाउने बेलामा ढिलासुस्ती गर्ने वा निष्क्रियता देखाउने परिस्थितिमा मैले मिस्टर केपी ओलीलाई तपाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन मद्दत गर्नुस्, तपाइँलाई प्रधानमन्त्री प्रस्ताव म गर्नेछु र तपाइँलाई प्रधानमन्त्री हण्ड्रेड प्रतिशत ग्यारेन्टी हुन्छ भनेपछि मात्रै संविधान बनेको हो,’ प्रचण्डले भने । उनले तत्कालीन कांग्रेस सभापति सुशील कोइरालालाई राष्ट्रपति अफर गरेको दाबी गरे ।

ओलीको गृह प्रदेशमै चर्को आलोचना 

त्यसको भोलिपल्ट २९ फागुनमा विराटनगरमा आयोजित १ नम्बर प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न पुगे प्रचण्ड । ओलीको गृह प्रदेश भएकाले पनि प्रचण्डले त्यहाँको माहोल ओलीकै आलोचनामा तताउन लागे ।

एमालेको नेतृत्वको चर्को आलोचना गरेका प्रचण्डले अहिले पनि संसद् चल्न नदिएर आफैंले गरेको विघटन जायज नै थियो भन्ने देखाउन खोजेको बताए । प्रचण्डले ओलीले राष्ट्रिय स्वाधिनताको विषयलाई लिएर अन्तिमपटक छलफलमा जाँदा त्यसरी कड्किएको स्मरण गरे ।

‘देउवा बालकोट गएको गयै गरेपछि हामी पनि किन नजाने भनेर एमसिसीको विषयमा छलफल गर्न ओलीजीकोमा गयौं,’ प्रचण्डले ओलीसँग भएको एक्लाएक्लै भेटको स्मरण गरे, ‘त्यसबेला मैले धेरै मिठो भाषामा भने, राष्ट्रिय संकटको बेलामा लेफ्टहरू त मिल्नै पर्छ नि । तर, ओलीले पहिले अग्निलाई हटाउनुहोस्, १४ सांसद हटाउनु होस्, अनि १९ पृष्ठ लामो प्रतिवेदन फिर्ता लिएको सार्वजनिक घोषणा गर्नुहोस् भने । त्यसपछि म झसङ्ग भएँ,’ प्रचण्डले भने, ‘फेरि अर्को पटक भएको छलफलमा केपीसँग देव गुरुङले राष्ट्रिय स्वाधिनताको विषयमा मात्रै के भन्नुभएको थियो, केपी ओलीले के को राष्ट्रियता जस्ताको तस्तै पारित गर्नुपर्छ भनेर कड्किए ।’

हप्तौंसम्म देउवा निवास बुढानिलकण्ठ धाएर प्रधानमन्त्री बनाएको दाबी गर्दै प्रचण्डले त्यही प्रधानमन्त्री एमसिसीको कारण ढल्ने अवस्था आएपछि नयाँ विकल्प खोजी गर्न ओलीकोमा पुगेको उनले बताए ।

‘शेरबहादुर र आफूबीच असहमति हुँदा हुँदै सहमति गर्यौं । त्यसपछि देउवा पास गर्नेतिर लागे, हामी हराउने तिर लागियो । हार्ने अवस्था देखेपछि ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव देउवाले गरेको थाहा पाइयो,’ प्रचण्डले भने, ‘आज बालकोट, भोलि बालकोट, श्रीमान्/श्रीमतीसहित बालकोट जाने भयो । देउवाले प्रधानमन्त्री केपी ओलीलाई दिएर, प्रदेशसमेत भागबण्डा गरेको थाहा पाइयो । त्यसपछि आफू, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत एमालेसँग छलफल गर्न गयौं ।’

सुदूरपश्चिममा प्रचण्ड​ले भने– ओली खलनायक 

प्रचण्ड ३० फागुन (हिजो) सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी पुगे । त्यहाँ आयोजित प्रशिक्षणमा पनि प्रचण्ड ओलीतर्फ नै बढी आक्रमक थिए । उनले भनेका छन्, ‘अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र मधेसका दलहरुले तपाईहरु पार्टी एकता नगर्नुस्, ५ वर्ष प्रधानमन्त्री खानुस् भनेरभन्दा मैले नैतिक दृष्टिले त्यो कुरा सम्भव नभएको भन्दै अस्वीकार गरेको हो ।’

उनले ओलीलाई खलनायकको संज्ञा दिँदै भने, ‘तर चार वर्ष पुग्दा नपुग्दै केपी ओलीको खलनायक भूमिका र विदेशी शक्तिसामु सम्पूर्ण आत्मसमर्पण गरेपछि हामीले प्रतिगमनविरुद्ध केही समय मिल्ने अवस्था देखिएपछि हामीले जसरी पनि बहुमत बनाउँछौं, तपाई सरकार बनाउनुस् भनेर अनुरोध गर्यौं । यसमा पनि माओवादी केन्द्रको प्रमुख भूमिका थियो ।’

दोस्रोपटक भएको संसद् विघटनको प्रयासलाई असफल बनाएको भन्दै उनले अघि भने, ‘यी सबै प्रयासले केपी ओली बालुवाटारबाट बालकोटमा पुगे । सातवटै प्रदेशका मुख्यमन्त्री घर फर्किए । त्यसैले अहिले विचलित र अस्पष्ट हुनु जरुरी छैन । आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्छ ।’

नारायणकाजी फकाउने चिन्ता 

लामो विवादकाबीच संसदबाट अनुमोदन भएको एमसिसीका विषयमा माओवादी पार्टीमा दुई धार विकसित भयो । एमसिसी अनुमोदनको दिनलाई ‘कालो दिन’ को घोषणा गरेका नेता नारायणकाजी श्रेष्ठसहितका केही नेताहरू प्रचण्डसँग रुष्ट देखिए । 

एमसिसी पारित भएपछि पत्रकार सम्मेलन गर्दै प्रचण्डले नेता श्रेष्ठलाई नै लक्षित गर्दै ‘०५४ सालमा वामदेव गौतम’ को अवस्थालाई स्मरण गर्न खुला चुनौती दिए । जसले पार्टीभित्रको समस्या मत्थर हुनेभन्दा पनि विकसित हुन थाल्यो । 

पार्टी प्रवक्ताको जिम्मेवारीबाट बाहिरिएपछि विभिन्न असन्तुष्टि बेला बेलामा राख्दै आएका श्रेष्ठसहितका नेताहरूका बारेमा विभिन्न चर्चा सुरु भए । त्यसपछि प्रचण्ड आफैं नारायणकाजीलाई फकाएर अघि बढ्ने रणनीतिका साथ श्रेष्ठको निवासमै पुगेका थिए । दुई नेताबीच एमसिसीको विषयलाई चुनावपछि बहस गर्नेगरी भद्र सहमति भयो । 

केन्द्रीय कमिटीमा सामान्य छलफल गराएर अहिले उनै श्रेष्ठलाई लिएर २८ फागुनमा नुवाकोटको विदुर पुगेका थिए । पोष्टबहादुर बोगटीको सालिक अनावरणमा सँगै पुगेका श्रेष्ठ भने अघिपछि जस्तो उत्साहित थिएनन् । 

नुवाकोट पुग्नेवित्तिकै सञ्चारकर्मीसँग प्रचण्डसँग कुराकानी गर्दैगर्दा पनि उनी हात बाँधेरै बसेका थिए । प्रचण्डले स्थानीय तह निर्वाचनलाई लिएर दौडधूप बढाइरहँदा अन्य शीर्षस्थ नेताहरू पनि दौडधूपमै छन् । 

  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार १३:४१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया