बेलायतको इष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्वकीर्तिमान कायम गर्ने आरोही निर्मल पुर्जालाई सम्मान प्रदान गरेको छ । उनलाई काउन्सिलले ‘फ्रिडम अफ दि बरो’ उपाधिसहित सम्मान गरेको हो ।
काउन्सिल भवनमा आयोजित एक समारोहबीच इष्टली मेयर काउन्सिलर सिन्थिया गार्टोनले उनलाई उक्त सम्मान प्रदान गरिन् । सन् १९४६ मा इष्टली बरो बनेयता उक्त सम्मान पाउने पुर्जा १७ औं व्यक्ति हुन् ।
सम्मान प्रदान गर्दै मेयर सिन्थियाले पुर्जा विश्वले नै गर्व गर्न लायक धरोहर भएको भन्दै बधाई दिइन् । पुर्जाले सम्मान प्रदान गरिएकोमा काउन्सिलप्रति आभार व्यक्त गरेका छन् । निर्मल इष्टली बरोकै बासिन्दा हुन् ।
उनी नेपाल पर्वतारोहण संघको सद्भावना दूतसमेत हुन् । उनले दुई वर्षअघि सबैभन्दा कम अवधि ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरेर विश्वकीर्तिमान बनाएका थिए ।
पुर्जामा आधारित रहेर तयार पारिएको वृत्तचित्र नेटफ्लिक्स ट्रेडिङमा पर्न सफल भएको थियो । एसोसिएसन अध्यक्ष कमल पुर्जाले निर्मलले उक्त सम्मान पाएर नेपाली समुदायको शीर उचो बनाएको बताए ।
समारोहमा इष्टली गोर्खा नेपलिज एसोसिएसन अध्यक्ष कमलबहादुर पुर्जालगायत एसोसिएसन पदाधिकारी, काउन्सिल लिडर, काउन्सिलका प्रमुख कार्यकारी, भुपू गोर्खाहरू आदिको सहभागिता थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।