परम्परागत रूपमा चल्दै आएकाे आरन व्यवसाय संकटमा

गाउँघरमा परम्परागत रूपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । धेरै मिहिनेतमा कम आम्दानी हुन थालेपछि विस्तारै लोप हुने अवस्थामा पुगेको हो । 

पुखौैंदेखि चल्दै आएको यस व्यवसाय बजारमै तयारी भएका साधन आएपछि यसको महत्त्व पनि त्यत्तिकै कमी भएको आरन व्यवसायीको गुनासो छ ।

गाउँघरमा चलाउँदै आएका हँसिया, बन्चरोजस्ता हतियार बिस्तारै लोप हुँदै गएको मर्स्याङदी गाउँपालिका-५ छिचुका ६१ वर्षीय सन्त कामी बताउँछन् ।

‘पहिला-पहिला बजारमा पनि त्यस्ता साधन पाइँदैनथियाे । केही खर्च दिएर हँसिया बन्चरोजस्ता घरायसी चाहिने हतियार बनाउन स्थानीयको चाप हुने गर्दथ्यो’, उनले भने, ‘अहिले कतै कतैबाट मात्र यस्ता साधन बनाउन आउँछन्। बजारमा उत्पादित सामानले हाम्रो व्यवसाय पनि लोप हुने अवस्थामा पुगेको छ ।’

समय परिवर्तनसँगै बिस्तारै गाउँघरमा परम्परागत रूपमा चलिआएका पेशा पनि लोप हुने स्थितिमा रहेको छिचुका ७८ वर्षिय हर्कबहादुर विक बताउँछन् ।

यस्ता पुराना पेशालाई संरक्षण गरेमा स्थानीय स्तरका स्रोत साधनको पनि भविष्यमा राम्रो अवस्था आउने मर्स्याङदी गाउँपालिका-५ का वडाध्यक्ष लेखमान गुरुङ बताउँछन् । 



गाउँघरमा भएका साधन, स्रोत र सीपलाई प्रयोगमा ल्याउँदा दिगो र टिकाउ हुने गुरुङको भनाइ छ ।

पुर्ख्याैली सीप सिकेर खेर नजाने भन्दै यो व्यवसाय छाडेर पनि कुनै आम्दानी गर्ने अन्य स्रोत केही नभएकाले पनि यसै व्यवसायमा दिन काट्नु परेको मर्स्याङ्दी गाउँपालिका ५ निउरीका मनबहादुर कामीले बताए ।



उनले भने, ‘मैले बुवासँग हँसिया, बन्चरो बनाउने काम सिकेकाले अहिले मलाई अन्य केही आम्दानीको स्रोत नभए पनि यो सीप काम लागेको छ ।त्यसैले पुर्ख्याैली पेसा र सीपलाई बचाई आम्दानीको स्रोत बनाउन मेरा परिवारलाई सम्झाउँदै आएको र यसैलाई आफ्नो रोजीरोटीको रूपमा लिएकाे छु।’

एउटा हँसियाको ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताउँदै कामीले हँसिया बनाउन एक दिन लाग्ने र त्यो पनि बिक्री नहुने हुँदा सबैले याे पेशा छोड्दै कामका लागि खाडी मुलुक जानुपर्ने अवस्था आउँदा पेशा नै पलायन हुन लागेको बताए ।

  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार १०:५४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया