मधेस प्रदेशमा तत्कालीन नेकपाको नाममा बैंकमा जम्मा भएको लेवी रकमका विषयमा विवाद भएको छ ।
नेकपाको नाममा काटिएको लेवीमा तीन दलबीच विवाद भएको हो । तत्कालीन नेकपाको नाममा काटिएको लेवीमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले दावी गरेका हुन् ।
नेकपामा बैंकमा करिब १९ लाख रकम जम्मा भएको बताइन्छ । तर, नेकपा विघटन हुन लाग्दा तत्कालीन नेकपा प्रदेश अध्यक्ष प्रभु साहले हतारहतार पार्टीको खाताबाट एकमुष्ठ १० लाख रकम झिकेका थिए ।
माओवादी केन्द्रका सांसद जगत यादवले बाँकी रहेका रकम माओवादी केन्द्र र नेकपा समाजवादीले पाउनुपर्नेमा एमालेले विवाद गरेको बताए ।
पार्टीबीच विवाद हुँदा करिब ९ लाख रकम अझै नेकपाकै नाममा बैंकमा रहेको उनले जनाए ।
यसैबीच, जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश सभा सदस्यबाट लिँदै आएको लेवी फागुनदेखि लिन छोडेको छ ।
फागुनको सांसदहरूको तलब खातामा जानुअघि नै जसपाले प्रदेशसभामा पत्र पठाई आफूहरूका सांसदको तलबबाट पार्टीको लागि काट्दै आएको लेवी नकाट्न प्रदेशसभा सचिवलाई जानकारी गराएको छ ।
मधेस प्रदेश सभामा जसपाका ३८ जना सांसद छन् । जसपाले सांसदले पाउने तलबको १५ प्रतिशत रकम लेवी लिदै आएको थियो ।
प्रदेश सांसदको तलब ६१ हजार २० रुपैयाँको १५ प्रतिशत अर्थात् नाै हजार १५३ रुपैयाँ कम गरेर सांसदहरूले तलब पाउँदै आएको थियो ।
त्यसैगरी, संसदीय समितिका सभापतिको तलब ६५ हजार पाँच सय ३० रहेकोमा १५ प्रतिशत लेवी नाै हजार आठ सय २९, प्रमुख सचेतकको तलब ६७ हजार २५ रहेकोमा १५ प्रतिशत १० हजार ५४ रुपैयाँ लेवी काटिने गरिएको थियो ।
त्यसैगरी, नेपाली कांग्रेसले आफ्ना सांसदहरूबाट लेवी लिइरहेका छैन् भने एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्येक सांसदबाट मासिक पाँच हजार लेवीको रूपमा पैसा लिँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।