प्रदेश नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा बने यस वर्षको ‘महामूर्ख’

मिथिला कला एवं संस्कृतिको क्षेत्रमा निरन्तर कार्य गर्दै आएको जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप) ले यस वर्ष मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई ‘महामुर्ख’को उपाधि प्रदान गरेको छ । प्रत्येक वर्षको होलीमा प्रदान गर्दै आएको यो उपाधि यस पटक झालाई दिइएको हो ।

‘महामूर्ख’को उपाधि पाएपछि झाको अनुहारमा अनौठो मुस्कानसमेत देखिएको थियो । उनलाई प्रशस्ति पत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारी मिश्रित माला लगाएर सम्मान गरिएको छ ।

त्यसैगरी यस पटक प्रदेश सभा सदस्य मञ्जु यादवलाई अदल बदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश विक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख, नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरिया उपाधि प्रदान गरियो ।

त्यस्तै, अधिवक्ता सुदिप कोइरालालाई गोबर गणेश, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट, जनकपुरधाममा मिथिला चित्रकलालाई शुरुवात गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझकड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई बैशाखनन्दनको उपाधि दिइएको छ ।

मिनापले भाषा, संस्कृति, कला, सामाजिक रुपान्तरण, राजनीति जस्ता विधामा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान गर्दै आएको छ ।
समाजमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई मिनापले २०६१ सालदेखि नै ‘महामुर्ख’को उपाधि प्रदान गर्दै आएको छ । मिनापले महामूर्खका साथै बिभिन्न पदवीबाट समाजका अगुवाहरुलाई सम्मान गर्ने गरेको छ ।

२०६१ सालमा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल उपाधि प्रदान गरिएको थियो ।



त्यस्तै, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा मधेस प्रदेश सरकारका वर्तमान भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंह, २०७१ मा मधेस प्रदेश सरकारका वर्तमान उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, २०७२ मा समसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

त्यस्तै, २०७३ सालमा सप्तरीको मलेठमा नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम मिनापले स्थगित गरेको थियो ।



२०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, २०७५ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई प्रदान गरिएको थियो ।

त्यस्तै, २०७६ सालमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार १८:१९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया