सहिद स्मारक ‘ए’ डिभिजन लिग
अन्तिम मिनेटमा चुक्यो थ्रिस्टार, आर्मीसँग बराबरीसँगै तुहियो दोस्रो स्थानको सपना

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्रिस्टार क्लब र विभागीय टिम आर्मीले बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा थ्रिस्टार र आर्मीले १–१ गोलको बराबरी खेले ।

निर्धारित ९० मिनेटको समय सकिँदा थ्रिस्टार १–० ले अघि थियो । तर, अन्तिम समयमा आर्मीलाई रोक्न नसक्दा थ्रिस्टारले जित पक्का गर्न सकेन । थपिएको चार मिनेट इन्जुरी टाइमको अन्तिम मिनेटमा आर्मीले फ्रिकिक पायो । 

फ्रिकिक हान्न आएका आर्मीका जर्जप्रिन्स कार्कीले करिब ३० सेकेन्ड समय बाँकी छँदा गोल गरे । जर्जप्रिन्सको फ्रिकिक गोलसँगै आर्मीले १–१ गोलको बराबरी बनायो । 

यसअघि, पहिलो हाफसम्म खेल गोलरहित बराबरीमा थियो । दोस्रो हाफमा थ्रिस्टारले गोल गर्दै अग्रता बनाएको थियो । थ्रिस्टारका लागि निराजन खड्काले खेलको ७०औँ मिनेटमा गोल गरेका थिए । 

यी दुई टिमले अंक बाँड्दा यसको प्रत्यक्ष फाइदा भने मनाङ मर्स्याङ्दी क्लबलाई पुगेको छ । अंक बाँडिँदा उपाधि होडमा मनाङलाई पछ्याइरहेका आर्मी र थ्रिस्टारको ऊसँगको दुरी बढेको हो । 

बराबरीसँगै लिगको दोस्रो स्थानमा उक्लिने अवसर पनि थ्रिस्टारले गुमाएको छ । 



थ्रिस्टारले ९ खेलबाट २२ अंक बटुलेको छ । समान खेल खेलेको आर्मीको १८ अंक छ । शीर्ष स्थानमा रहेको मनाङको ९ खेलबाट २७ अंक छ भने दोस्रो स्थानको संकटाको २४ अंक छ ।



  • प्रकाशित मिति : पुस ४, २०७५ बुधबार १८:३४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया