आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा मात्रै २१ हजारभन्दा बढी म्यादी प्रहरी खटाइने भएको छ ।
सरकारले स्थानीय तह निर्वाचनको सुरक्षार्थ सातवटै प्रदेश र उपत्यका गरी देशभर १ लाख म्यादी प्रहरीको दरबन्दी स्वीकृत गरेकोमा मधेस प्रदेशमा मात्र २१ हजार ६९८ जना म्यादी प्रहरी भर्ना गरिने भएको हो ।
सबैभन्दा बढी मधेस प्रदेशमा म्यादी प्रहरी खट्नेछन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम भर्ना गरिनेछ ।
प्रहरी प्रधान कार्यालयका अनुसार धनुषामा ३ हजार ४८६, सप्तरीमा ३ हजार १३९, सर्लाहीमा ३ हजार ८८, महोत्तरीमा २ हजार ७३६, रौतहटमा २ हजार ५८९, बारामा २ हजार ५२८, सिरहामा २ हजार ३३१ र पर्सामा १ हजार ८०१ जना म्यादी भर्ना गरिनेछ।
मधेस प्रदेशका ८ जिल्लामा कुल संख्याको करिब २२ प्रतिशत म्यादी खटाइँदै छ।
त्यस्तै, कर्णाली प्रदेशका १० जिल्लामा ७ हजार ७१३ जना म्यादीको दरबन्दी निर्धारण गरिएको छ ।
निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको अन्तिम विवरण निर्क्योल गरेपछि म्यादी प्रहरीको तैनाथी संख्यामा केही तलमाथि पर्न सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विशेषगरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिनेछ ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।
पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत ७ हजार २ सय, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत् एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने छ ।
छनोट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुने र नतिजा २२ चैतसम्म प्रकाशन गरिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।