स्वास्थ्यलाभ गरेर चुनावी अभियानमा वर्षमान, शक्ति आर्जनको प्रयास !
फाइल तस्वीर

माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन केही दिनदेखि आफ्नो गृहजिल्ला रोल्पामा व्यस्त छन् । माओवादी केन्द्रका अध्यक्षसहितका शीर्ष नेताहरू धमाधम निर्वाचनको माहोल बनाइरहँदा पुनले पनि आफ्नो सक्रियता बढाएका हुन् । 

पुन गत पुसको दोस्रोसाता आठ दिनसम्म चलेको पार्टीको आठौं महाधिवेशनमा समेत सहभागी हुन पाएका थिएनन् । माओवादीमा महासचिवको बलियो दाबेदार बताएका पुन स्वास्थ्य उपचारका लागि ३ महिनाभन्दा बढी विदेशमा बस्नुपरेको थियो ।

जण्डिस संक्रमण भएपछि थाइल्याण्ड गएका पुन त्यहाँ उपचार संभव नभएपछि चीन गएका थिए । चीनको थर्ड पिपुल्स सेनजेनबाट ९८ दिनमा डिस्चार्ज भएका पुन अहिले विस्तारै स्वास्थ्य लाभ गरेर राजनीतिक सभामा देखिन थालेका छन् । 

महासचिवको दाबीले कमाए ‘चर्चा’

कम्युनिस्ट पार्टीमा अध्यक्षपछिको सबैभन्दा बलियो र महत्वपूर्ण मानिने पद हो, महासचिव । महासचिवका आकांक्षीलाई व्यवस्थापन गर्न नसक्दा नै पदाधिकारी चयनको प्रक्रिया अझै टुंगिन सकेको छैन । 

वर्षमान विदेशमा उपचाररत हुँदै गर्दा महासचिवमा आफ्नो स्वभाविक दाबी रहेको सन्देश प्रचण्डसामु पुर्‍याएपछि पदाधिकारी चयनको प्रक्रिया रोकिएको थियो । अझ, प्रभावशाली नेता जनार्दन शर्मा, पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङ लगायतका नेताहरुको आकांक्षापछि प्रचण्डलाई सकस परेको थियो । 



महाधिवेशनको अन्तिम दिन प्रचण्डले वर्षमान पुन र ओनसरी घती विदेशमा रहेको कारणले उनीहरु फर्किएपछि पदाधिकारीको विषय टुंगिने पनि बताएका थिए । 

प्रचण्डले वर्षमानको नामै लिएर उनी नआई पदाधिकारीको टुंगो नलाग्ने बताएपछि अन्य आकांक्षीहरुको मनमा ‘चिसो’ पसेको चर्चा त्यतिबेला माओवादी वृत्तमा चलेको थियो । 



स्वास्थ्यमा समस्या आएपछि महाधिवेशनमा भौतिक उपस्थित हुन नसकेका वर्षमान अहिले सक्रिय राजनीतिमा देखिन थालेका हुन् ।

‘शक्ति आर्जन’को तयारी !

पुन रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन । गृहजिल्ला समेत रहेको रोल्पामा भएका धेरैजसो कार्यक्रममा पुन सक्रिय भइरहेका हुन्थे । गत माघ १० गते पुन उपचारपछि नेपाल फर्किएका थिए । त्यसयता, उनी घरमै लामो समय उपचार गराएर बसे । 

स्वास्थ्य समस्या लामो समय खेपेका पुन केही दिनदेखि रोल्पामा नै छन । उनी त्यहाँ पुगेर एकै दिनमा धेरै ठाउँमा आयोजित कार्यक्रममा सरिक भइरहेका छन् । शनिबार माओवादी केन्द्र रोल्पाद्वारा आयोजित नगरपालिकास्तरीय भेलामा सक्रिय भएका थिए । 

सोही दिन पुनले लिवाङमा आयोजित द्वन्द्वपीडित तथा शहीद परिवारलाई सम्मान तथा अभिनन्दन कार्यक्रममा सहभागी भएका थिए । उनी सोही दिन गलैँचा बनाउने तालिम, भेला तथा प्रशिक्षण, पुल उद्घाटन, ज्येष्ठ नागरिक, शहीद, बेपत्ता परिवार र अपाङ्गता नागरिकको सम्मानलगायतका कार्यक्रममा सहभागी भए । 

जनयुद्ध र त्यसको पृष्ठभूमिबाट हुर्किँदै नेतृत्व तहसम्म प्रभाव जमाएका पुन रोल्पाबाट पुनः निर्वाचित हुने दौडमा छन् ।

  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार २०:४३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया