ओलीको दाबी जस्तै के निर्वाचनपछि नेपालको पार्टी ‘समाप्त’ होला ?

१५ वर्ष आफैंले नेतृत्व गरेको नेकपा एमाले त्यागेका माधवकुमार नेपाल नयाँ दल दर्ता भएपछि पहिलोपटक निर्वाचनमा सहभागी हुँदैछन् । दुई पटकसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि चुलिएको विवाद अन्ततः विभाजनसम्म पुग्यो ।

गत ९ भदौमा औपचारिक रूपमा नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता भयो । तर, प्रमुख प्रतिपक्षी दल एमालेले अहिलेसम्म सो दललाई ‘वैधानिक’ मानेको छैन । 

माधव नेपाल उपस्थित हुने हुँदा सत्ता गठबन्धनकारी दलका शीर्ष नेताले बोलाएको बैठक नै एमालेले बहिस्कार गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि पनि प्रश्न उठाएको एमालेले १४ जना सांसदको कारबाही सूचना टाँस नगर्ने बेलासम्म संसद् अवरुद्ध गरिरहने बताएको छ । सत्तारुढ गठबन्धनमा सामेल भएको नेकपा एस आगामी निर्वाचनबाट समाप्त हुने घोषणा ओलीसहितका नेताहरूले गर्दै आएका छन् । 

पूर्वसहयात्रीको दोहोरी !

एमाले र माओवादीबीच एकता भएर बनेको नेकपा ३ वर्ष पनि पूरा टिक्न सकेन । यो बीचमा केही माओवादी नेताहरू एमाले प्रवेश गरे । केही एमाले नेताहरूले छुट्टै पार्टी गठन गर्नेसम्म भयो । 

माधव, झलनाथ खनाल, केपी शर्मा ओली, सुवास नेम्वाङ, ईश्वर पोखरेल, शंकर पोखरेललगायत शीर्ष नेताहरू एमालेका पूर्वसहयात्री हुन् । अहिले उनीहरू दुई चिरामा विभाजित छन् । 



३० वैशाखमा घोषणा भएको निर्वाचनका लागि यी दुई दलका नेताहरूले आन्तरिक तयारी सुरु पनि गरिसकेका छन् । माधव नेपालको पार्टीको अस्तित्व स्वीकार्ने पक्षमा एमालेका नेताहरू देखिँदैनन् । एमसिसी अनुमोदनमा सहयोग गर्ने भन्दै ओलीले देउवासमक्ष १४ सांसदलाई कारबाहीको मागसमेत गरेका थिए । 

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरूले जोगाइदिएको र माधव नेपालहरू अबको निर्वाचनपछि समाप्त हुने बताएका छन् । 



उनले यसअघि पनि माधव नेपालको पार्टीको अस्तित्व सकिने बताउँदै आएका थिए । उनी मात्र नभइ एमालेका शीर्ष नेताहरूले पनि सोही अभिव्यक्ति दिँदै आएका छन् । तर, ओलीको व्यक्तिवादी चरित्रकै कारणले पार्टी खोल्ने निष्कर्षमा पुगेका नेपाल–खनालसहितका नेताहरू एमालेलाई शून्य सिटमा झार्ने भाषण गरिरहेका छन् ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनालले शनिबार नै ओलीले गरेको प्रतिगमनको बदलामा जिरो सिट दिएर जनताले दण्डित गर्ने बताएका थिए । त्यसको भोलिपल्ट, आइतबार झलनाथकै गृहजिल्लामा पुगेर अध्यक्ष ओली र संसदीय दलका उपनेता सुवास नेम्वाङले कडा झटारो बर्साएका छन् । सूर्योदय नगरपालिकामा आयोजित कार्यक्रममा नेम्वाङले त झलनाथलाई नचिन्ने दाबी गर्दै ‘अन्तरे–जन्तरे’ को संज्ञा दिन भ्याए । 

ओलीको​ दाबी जस्तै माधव नेपालको पार्टी समाप्त हुन्छ ? 

दुई दलबीच एकले अर्कालाई घोचपेचको श्रृङ्खला चलिरहँदा अबको निर्वाचन माहोलबारे चासो बढ्न थालेको छ । त्यसो त, पहिलो दल बन्ने तयारीमा रहेको एमाले जसरी पनि गठबन्धन टुटाउने तयारीमा छ । तर, नेकपा एस र माओवादी केन्द्रले गठबन्धन कायमै राखेर चुनावमा जाने बताउँदै आएका छन् । 

यदी गठबन्धन नभएको खण्डमा नेपाललाई चुनावी माहोल बनाएर रणनीतिक रूपमा अघि बढ्न गाह्रो छ । गठबन्धन हुने वा नहुने भन्नेबारेको अन्योल अझै कायमै छ । ओलीले भनेजस्तै चुनावमा नेकपा एस समाप्त हुन्छ/हुँदैन गठबन्धनमै निर्भर रहेको प्रष्ट देखिन्छ ।

  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार ८:५१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया