ओलीको प्रश्न- हरियो रङ परिवर्तन गर्न निर्वाचन आयोग किन सक्दैन ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको क्रियाकलापप्रति प्रश्न उठाएका छन् । 

उनले भित्रभित्रै निर्वाचन आयोगले सत्ता गठबन्धनसँग परामर्श गरेर अघि बढेको आरोप पनि लगाएका छन् । 

सोमबार पार्टी कार्यालयमा आयोजित पहिलो पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास अहिले पनि भइरहेको बताए ।

उनले भने, ‘अहिले पनि निर्वाचन आयोग र सत्ता गठबन्धनका बीचमा संवाद भइरहेको छ ।’

ओलीले यसअघि पनि मतपत्रको रङ हरियो राखिएको भन्दै आपत्ति जनाएका थिए । उनले हरियो नै किन राखेको भन्दै पोलिटब्युरो बैठकमा पनि प्रश्न गरेका छन् 

‘अहिलेसम्म रङको कारणले चुनाव चिन्ह चिनेनौं भनेर कहींकतै गुनासो आएको छ । त्यसकारण रङ बदलेर हरियो नै किन राख्नुपर्‍याे ? हरियो रूख चाँहि चिन्हमा किन राख्नुपर्‍याे ?’ उनले आफ्नाे पार्टीको चुनाव चिन्ह सूर्यसँग हरियो रङ नमिल्ने बताउँदै भने, ‘अरूको चाँहि चिन्ह त्यस्तो नमिल्न सक्छ । सूर्य कसरी हरियो हुन सक्छ ? हामीले रातो सूर्य नभनी एउटै गर्नपर्ने ? हैन भने रूखको जुन रङ हो, त्यही गर्नपर्ने ? यो बदल्न निर्वाचन आयोगले सक्दैन ?’



बैठकलाई सम्बोधन गर्दै ओलीले ०७४ को निर्वाचनमा भरतपुर महानगरपालिका र सिराहामा जस्तो हुने त होइन भन्दै प्रश्न पनि गरेका छन् । उक्त निर्वाचनमा भरतपुर महानगरपालिकामा मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको थियो । 

त्यसतर्फ कटाक्ष गर्दै ओलीले भने, ‘यसको लक्षण निर्वाचन आयोगको क्रियाकलाप भरतपुरकाण्ड, सिराहाकाण्ड जस्तै देखिने त होइन भन्ने कुरा देखियो । पहिलो निर्वाचन आयोगको जस्तो गतिविधि थियो, त्यो स्पष्ट एमालेविरुद्ध थियो । यो कुरा नदोहोरियोस् भन्ने हामी चाहन्छौं । हामी निर्वाचनको तयारीमा जाँदैछौं । यस्ता कुरामा सजगताका साथ अघि बढ्नुपर्छ ।’



  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १२:५१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया