खोप लगाउँदा धनुषाको एउटै विद्यालयका १० विद्यार्थी सिकिस्त

धनुषामा कोरोनाविरुद्धको मोडर्ना खोप लगाउँदा एउटै विद्यालयका १० जना विद्यार्थी बिरामी परेको बताइएको छ ।  

जिल्लाको धनुषाधाम नगरपालिका-७ मा सञ्चालित मेरी गोल्ड सेकेण्डरी बोर्डिङ्ग स्कुलका १० जना विद्यार्थी खोप लगाउँदा बिरामी परेका हुन् । 

विद्यालयका शिक्षक इन्ददीप साहले अत्यधिक टाउको दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या भएर एकाएक बेहोस् हुने जस्ता लक्षण उनीहरूमा देखिएको जानकारी दिए ।

सिकिस्त विद्यार्थीहरू ६ कक्षाभन्दा माथिका रहेको उनले बताए ।  

उनले भने,‘आइतबार दिउँसो विद्यालयका झण्डै ३ सय विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको थियो । सोमबार बिहान १० बजे विद्यालय आउँदा एकाएक १४ जना विद्यार्थी बेहोस भए । जसमध्ये १० जना बढी सिकिस्त छन् । ४ जना विद्यार्थी स्थानीय स्तरमै उपचार पश्चात घर फर्किसकेका छन् ।’

धनुषाधाम नगरपालिका वडा नं. ८ का हेल्थपोस्टका स्वास्थ्यकर्मी विद्यालय पुगेर विद्यार्थीहरूलाई खोप लगाएका थिए ।



उनीहरूलाई प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ । 

यसैबिच, उनीहरूको उपचारमा संलग्न रहेका बालरोग विशेषज्ञ डाक्टर जितेन्द्र जयसवालले उनीहरूमा त्रासका कारण मास हिस्टेरिया भएको हुनसक्ने बताए ।



उनले अस्पताल भर्ना भएपश्चात अहिले सबैको अवस्था सामान्य रहेको समेत जानकारी दिए । 

सबै विद्यार्थीलाई १२ घण्टा चिकित्सकको निगरानीमा राखिने डा.जयसवालले बताए ।

  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १५:२२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया