मधेस प्रदेश : म्यादी प्रहरीका लागि पहिलो दिनमै ५ हजार २१६ जनाको आवेदन

मधेस प्रदेशमा म्यादी प्रहरीका लागि एक दिनमै ५ हजारभन्दा बढी व्यक्तिले आवेदन दिएका छन् । 

स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा मात्रै २१ हजार भन्दा बढी म्यादी प्रहरी खटाइने भएको हो ।

आइतबारदेखि म्यादी प्रहरी भर्नाको आवेदन दिने व्यक्तिहरुको जिल्ला प्रहरी कार्यालयअगाडि भीड लागेको छ । दरखास्त आह्वान गरिएको पहिलो दिनमै यस प्रदेशमा ५ हजार २१६ जनाले आवेदन भरेका छन् । 

सरकारले स्थानीय तह निर्वाचनको सुरक्षार्थ सातवटै प्रदेश र उपत्यका गरी देशभर १ लाख म्यादी प्रहरीको दरबन्दी स्वीकृत गरेकोमा मधेस प्रदेशमा मात्र २१ हजार ६९८ जना म्यादी प्रहरी भर्ना गरिने भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार धनुषा जिल्लामा ३ हजार ४८६, सप्तरीमा ३ हजार १३९, सर्लाहीमा ३ हजार ८८, महोत्तरीमा २ हजार ७३६, रौतहटमा २ हजार ५८९, बारामा २ हजार ५२८, सिरहामा २ हजार ३३१ र पर्सामा १ हजार ८०१ जना म्यादी भर्ना गरिनेछ ।

यस प्रदेशका ८ जिल्लामा कुल संख्याको करिब २२ प्रतिशत म्यादी खटाइँदै छ।



म्यादी भर्नाका लागि प्रहरी प्रधान कार्यालयले १८ वर्षदेखि ५४ वर्ष उमेर ननाघेको नेपाली नागरिकको दरखास्त माग गरेको हो । भर्नाको आवेदन चैत ६ गतेदेखि ११ गतेसम्मको समय दिइएको छ । 

आवेदन दिएकाहरूको छनोट चैत १५ देखि हुनेछ भने अन्तिम नतिजा चैत २२ गते प्रकाशित गरि २८ गतेदेखि प्रशिक्षण सुरु गरिने छ ।



विशेषगरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । 

पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत ७ हजार २ सय, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्च वापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने छ ।

  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १६:९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया