माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले देश र संविधानको रक्षा तथा स्थायित्वका लागि माओवादीले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढेको बताएका छन् ।
पोखरामा आजदेखि सुरु भएको माओवादी केन्द्र गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै उनले कांग्रेससँगको सहकार्यमा संविधान ध्वस्त पार्ने र संघीयतालाई असफल पार्ने योजनालाई परास्त गरिएको उल्लेख गरे ।
'माओवादीको पहल कदमीमा कांग्रेस सहितका शक्तिसँग मिलेर प्राप्त उपलब्धिको रक्षाका लागि अहिलेको गठबन्धन बनेको हो' उनले भने । नेपालमा स्थिरता र स्थायित्व कायम गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको नेता गुरुङको भनाइ थियो ।
आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा लोकतन्त्रको रक्षाका लागि माओवादीले जित्नैपर्ने उल्लेख गर्दै नेता गुरुङले उनले भने 'माओवादीले जितेन भने देशको संविधान र संघीयता धरापमा पर्छ । अहिलेको सबै खालको परिवर्तन माओवादीको एजेण्डा भएकाले यसको रक्षाका लागि माओवादीले जित्नुको विकल्प छैन ।'
आगामी स्थानीय तहको निर्वाचनमा माओवादी अरुसँगको तालमेलमा भर पर्न नहुने उनको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।