चुनावको मुखमा एउटा पार्टीबाट अर्कोमा जम्प मारेका जनप्रतिनिधि

कुनै एउटा नेताले विचार, सिद्धान्त र त्यागको आधारमा जनताको मन जितेको हुन्छ । विचार र सिद्धान्तबाट निर्देशित भएर उसले आफ्नो पार्टी चुनेको हुन्छ । 

बिडम्बना, नेपालमा पछिल्लो एक महिनायता एउटा पार्टीबाट अर्को पार्टीमा जम्प मार्ने जनप्रतिनिधिहरूले यसमा न कुनै सिद्धान्त, न कुनै वैचारिकको बहस गरेका छन्। पूर्णतः आफूलाई पदको लाभ होस् भन्ने हेतुले उनीहरूले पार्टी फेरेका छन् । 

यसको ज्वलन्त उदाहरण हुन्- वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी । सरावगी त एक पात्र मात्र हुन् । व्यक्तिगत स्वार्थ, फेरि पद पाउने लोभ र आसन्न निर्वाचनमा उम्मेदवारीको मोहका कारण पार्टी फेर्ने प्रतिनिधिको सूची अहिले नै निकै लामो भइसकेको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरू कुन दलबाट कहाँ पुगेका छन् ? 

मोरङ :  रंगेलीका मेयर र उपमेयर नै माओवादीबाट एमालेमा

गत २५ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप कुमार बगडिया र उपमेयर केशव कुमारी खराललाई पार्टी प्रवेश गराए । उनीहरु ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।



पटक-पटक सचेत  गराउँदा पनि पार्टी हितमा काम नगरेको भन्दै माओवादीले मेयर बगडियालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । पहिले कांग्रेसमा आस्था राख्ने इँटाभट्टा व्यवसायी बगडिया सांसदको टिकट नपाएपछि माओवादीमा प्रवेश गरेर रंगेली नगरपालिका मेयरमा विजयी भएका थिए । तत्कालिन नेकपाको एकता टुटेपछि उनी एमालेसँग नजिकिएका थिए ।

तर, उपमेयर खराललाई भने पार्टीले कुनै किसिमको कारबाही गरेको थिएन । पहिले एमालेमा आबद्ध खराल शान्ति प्रक्रियापछि माओवादीमा प्रवेश गरेर उपमेयरमा निर्वाचित भएकी थिइन् । 



०७४ सालको निर्वाचनमा बगडियाले ८ हजार ८६ मत प्राप्त गरेका थिए । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोदराज घिमिरेले ६ हजार १८६ मत प्राप्त गरेका थिए । रंगेलीमा एमाले तेस्रो स्थानमा थियो । एमालेका उम्मेदवार सन्तोषकुमार साहले ३ हजार १२१ मत प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवारभन्दा करिव २८ सय मत बढी मत बगडियाले पाएका थिए । 

रूपन्देही : ओमसतियाका अध्यक्ष र उपाध्यक्ष नै माओवादीबाट एमालेमा 

गत २ फागुनमा ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट राहुल र उपाध्यक्ष सुन्दरीमती कुमारी हरिजन एमालेमा प्रवेश गरे । उनीहरूलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा लगायतले एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेका थिए । 

०७४ सालको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । सो निर्वाचनमा रुपन्देहीका १६ पालिकामध्ये ओमसतियामा मात्र माओवादीले जीत हासिल गरेको थियो । 

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा राहुल छापामार समेत थिए । गएको स्थानीय तहमा तुलनात्मक रूपमा कमजोर रहेका पालिकाहरू यसपटक कब्जा गर्ने रणनीति अन्तरगत सोमबार रुपन्देहीका दुईवटा पालिकाका प्रमुख र उपप्रमुखलाई एमालेमा प्रवेश गराइएको एमाले नेताहरूको बुझाइ छ । 

रूपन्देही : रोहिणीका अध्यक्ष र उपाध्यक्ष नै एमालेमा 

गत २ फागुनमै आयोजित कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव एमाले प्रवेश गराए । उपाध्यक्ष पौडेल र सचिव विश्वकर्मा लगायतले उनलाई पार्टी प्रवेश गराएका थिए ।

यादव तत्कालीन मधेशी जनअधिकार फोरम र हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अध्यक्ष हुन । उनी रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित कांग्रेस प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादवका सहोदर भाइसमेत हुन ।

सनोजको स्थानीय क्षेत्रमा राम्रो प्रभाव रहेको नेताहरु बताउँछन् । यादव तत्कालीन मधेसी जनअधिकार फोरम र हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अध्यक्ष थिए । पुन अध्यक्षमा दोहरिन चाहेकाले त्यसको सुनिश्चितताका लागि एमाले प्रवेश गरेको बताएका छन् । 

रुपन्देही : लुम्बिनी सांस्कृतिकका मेयर स्वतन्त्रबाट जसपामा

रुपन्देहीमा सबैभन्दा पहिले दल बदल्ने जनप्रतिनिधि हुन्- लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी । उनी ४ भदौमा जसपामा खुलेर लागेका थिए । उनी ०७४ को निर्वाचनमा स्वतन्त्रतर्फबाट निर्वाचित भएका थिए । त्यतिबेला उनले स्वतन्त्रबाट ८ हजार १ सय ७५ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा नगरपालिकामा स्वतन्त्र उम्मेदवार भएर विजयी बनेका चौधरीले निर्वाचनमा अवसर खोज्दै जसपामा प्रवेश गरेका हुन् । 

रुपन्देही : सम्मरीमाईका अध्यक्ष जसबाट एमाले हुँदै माओवादीमा 

गत २६ फागुनमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला माओवादी केन्द्रमा प्रवेश गरे । उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारस्थित नीजि निवासमै बोलाएर पार्टी प्रवेश गराएका थिए ।

गत निर्वाचनमा फोरमबाट जितेका उनी अहिले टिकट सुरक्षित बनाउन माओवादी प्रवेश गरेको बताइन्छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका शुक्ला संघीय र प्रदेशसभा निर्वाचन बेला नेकपा एमालेमा प्रवेश गरेका थिए । शुक्ला तत्कालीन फोरम लोकतान्त्रिक र यादव नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । एमालेमा प्रवेश गरेको केही समयपछि नै उनले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

शुक्लासँगै पत्नी पल्लवी शुक्ला पनि एमालेमा प्रवेश गरी रुपन्देही क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेकी थिइन । तर, उनी पराजित भएकी थिइन्।  

बारा : आदर्श कोतवालका अध्यक्ष जसपाबाट एमालेमा 

गत २८ फागुनमा एमाले अध्यक्ष ओलीले बाराको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी नेकपा (एमाले)मा प्रवेश गराए । अन्सारीले जनता समाजवादी पार्टी (जसपा) त्यागेर एमाले रोजेका हुन् । 

०७४ सालको स्थानीय तह निर्वाचनमा २७८२ मतका साथ तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्ष निर्वाचित भएका अन्सारी जसपाका प्रभावशाली नेता मानिन्छन्।

मुस्तफाले जसपा लगायत मधेसवादी पार्टीले मधेशी जनतालाई झुक्याएको र एमालेलाई मधेसविरोधी भनिए पनि मधेशको विकासमा केपी ओलीकै पालामा ठूला काम भएको पार्टी प्रवेशको क्रममा भनेका थिए ।

सिन्धुपाल्चोक : बलेफीका अध्यक्ष एमालेबाट कांग्रेसमा 

गत २४ फागुनमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीलाई कांग्रेस प्रवेश गराए । पार्टी कार्यालय सानेपामा आयोजित पार्टी प्रवेश कार्यक्रममा देउवाले उनलाई पार्टीमा स्वागत गरेका थिए । ०७४ को स्थानीय तहको निर्वाचनमा उनी एमालेबाट निर्वाचित भएका थिए ।

एमाले लगायत ४० वर्ष कम्युनिस्ट राजनीति गरेका क्षेत्री कांग्रेस प्रवेश गरेपछि सिन्धुपाल्चोक एमाले तरंगित भएको थियो । उनले ४ फागुनमा एमाले परित्याग गरेको घोषणा गरेका थिए । क्षेत्री एमालेमा रहँदा बागमती प्रदेश सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य थिए ।

तत्कालीन जिविस सदस्यसमेत भएका क्षेत्री एमाले भित्र चर्चित नेतामा पर्थे । एमालेमा रहँदा उनी तत्कालीन वरिष्ठ नेता माधव नेपालसँग नजिक थिए । नेपाल एकीकृत समाजवादी दल गठन गरेर त्यता गए पनि क्षेत्री एमालेमै बसेका थिए ।

एमाले विभाजनपछि मूल पार्टीमै बस्ने निधो गरेका उनको चाहना जिल्ला अध्यक्ष बन्ने थियो । प्रायः ठाउँमा सहमतिबाट नेतृत्व चयन गरेको एमालेले उनलाई जिल्ला अध्यक्षमा उम्मेदवारी नै दर्ता गर्न नदिएपछि उनी असन्तुष्ट थिए ।  

पर्सा : वीरगन्जका मेयर जसपाबाट एमालेमा 

गत २८ फागुनमै एमाले अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई पार्टी प्रवेश गराए । उनी जनता समाजवादी पार्टी (जसपा) छाडेर एमाले प्रवेश गरेका हुन् । 

उनी २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । उनले १९ हजार ३९३ मत पाएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी (राजपा)का राजेशमान सिंहले १२ हजार १६५ मत पाएका थिए । उपमेयरमा भने कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत पाएर विजयी भएकी थिइन् । अघिल्लो निर्वाचनमा करिब १२ हजार मतसहित तेस्रो भएका राजेशमान सिंह एमालेमा प्रवेश गरेर वीरगञ्जको मेयर बन्ने भएपछि सरावगीले एमाले प्रवेश गरेको चर्चा अहिले पनि वीरगञ्जमा छ ।

व्यापारिक एवं व्यावसायिक घरानाका विजय सरावगी २०७४ को स्थानीय निर्वाचन हुनुभन्दा पाँच महिनाअघि मात्रै राजनीतिमा प्रवेश गरेका थिए । राजनीतिज्ञले विकास नगरेको भन्दै चुनाव लड्नका लागि उनी संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । त्योबेला पनि टिकट फिक्स गरेर मात्रै राजनीति प्रवेश गरेका थिए । 

त्यसअघि उनी वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भइसकेका थिए ।  

पर्सा :पोखरियाका मेयर नेपाली जनता दलबाट कांग्रेसमा

गत २६ फागुनमा प्रधानमन्त्री शेरबहादुर देउवाले पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारलाई पार्टी प्रवेश गराए । ०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली जनता दलबाट रौनियार मेयरमा निर्वाचित भएका थिए ।

नेपाली जनता दलबाट ३ हजार २६ मत प्राप्त गरेर उनी नगर प्रमुखमा निर्वाचित भएका थिए ।  

बैतडी: शिवनाथकी उपाध्यक्ष एमालेबाट कांग्रेसमा

गत २६ फागुनमा बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द नेपालीलाई कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले पार्टी प्रवेश गराए । उनी ०७४ सालको स्थानिय निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । 

गत फागुनमा सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगरेको भन्दै एमालेले उनलाई पार्टीका साधारण सदस्यता समेत नरहने गरी कारबाही गरेको थियो । 

चन्दले भने एमालेलाई सामन्तवादीको संज्ञा दिएकी थिइन । एमालेले पूर्वाग्रही ढंगले कारबाही गरेको उनको आरोप थियो । 

अर्घाखाँची : पाणीनिकी उपाध्यक्ष एमालेबाट कांग्रेसमा

गत १९ पुसमा अर्घाखाँचीको पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टी प्रवेश गराए । ०७४ सालको निर्वाचनमा उनी नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन ।

एमाले विभाजन भएपछि एकीकृत समाजवादी रोजेकी गौतमले १९ पुसमा कांग्रेस महामन्त्री गगन थापा, केन्द्रीय सदस्य पुष्पा भुसाल लगायत नेताहरुको उपस्थितिमा कांग्रेस प्रवेश गरेकी हुन् । उक्त गाउँपालिका वर्तमान अध्यक्ष कांग्रेसका छन् ।

एमालेबाट निर्वाचित लक्ष्मीको गाउँपालिका प्रमुख बन्ने रुचि छ ।

त्यही रुचिका कारण एकीकृत समाजवादीबाट अध्यक्षमा निर्वाचित हुने सम्भावना नदेखेपछि विचारै नमिल्ने कांग्रेस प्रवेश गरेकी हुन । लामो समय एमालेको राजनीतिमा सक्रिय सही जिल्ला सदस्यसमेत भएकी लक्ष्मी गौतम स्थानीय तहको निर्वाचनमा शिक्षकबाट राजीनामा दिएर एमालेबाट गाउँपालिका उपाध्यक्षमा विजयी भएकी हुन् । 

कैलाली : मोहन्यालकी उपाध्यक्ष एमालेबाट माओवादीमा 

गत ३० फागुनमा कैलालीको मोहन्याल गाउँपालिका उपाध्यक्ष पूजादेवी बुढा मगरलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा प्रवेश गराए । ०७४ सालको निर्वाचनमा उनी नेकपा एमालेबाट निर्वाचित भएकी थिइन । 

एमाले विभाजन भएपछि उनले नेकपा एकीकृत समाजवादी रोजेकी थिइन । गाउँपालिका अध्यक्ष नवलसिंह रावलको निधनपछि उनी त्यहाँ कार्यबहाक अध्यक्षको रुपमा छिन । उनी एकीकृत समाजवादीको कैलाली जिल्ला सदस्य थिइन् ।  

कपिलवस्तु : कृष्णनगरका मेयर स्वतन्त्रबाट कांग्रेसमा

गत २२ माघमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरे । ०७४ को निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार बनेर सो नगरपालिकामा मेयर निर्वाचित भएका थिए । 

उनलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा स्वागत गरेका थिए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा फोरमबाट उम्मेदवारी नपाएपछि स्वतन्त्रबाट उठेर विजयी भएका थिए उनी । उनले जसपा, नेकपा तथा एमालेमा आफ्नो स्थान पक्का गर्न निकै प्रयास गरे पनि । तर अन्ततः काँग्रेसमा छिरेका हुन । 

काठमाडौंमा गएर प्रचण्डलाई भेटेपछि तस्बिरसमेत खिचेका थिए । तर, नगरमा माओवादीको प्रभाव राम्रो रहेको र फेरि शाहलाई मेयरको टिकट दिनको लागि माओवादीभित्र आफ्नो उम्मेदवारहरू बलिया देखिएपछि उनले कांग्रेस रोजेका हुन् । कहीँ पनि सुरक्षित रुपमा टिकट नपाउने भएपछि आफ्नै काका अभिषेकप्रताप शाहको पार्टी नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

डोल्पा : डोल्पाबुद्धका अध्यक्ष स्वतन्त्रबाट माओवादीमा

गत २४ फागुनमा डोल्पाको डोल्पाबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराए । ०७४ सालको स्थानीय निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका थिए । 

उनलाई माओवादी प्रवेश गराउन प्रचण्डसहित माओवादी नेताहरू शक्ति बस्नेत, जनार्दन शर्मा, सत्य पहाडीलगायत डोल्पा पुगेका थिए । 

रूपन्देही : मर्चवारीका अध्यक्ष लोसपामा 

गत १८ भदौमा रूपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँ लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरे । उनीहरू जिल्ला पार्टी कार्यालय पुगेर लोसपामा सनाखत गरेका थिए । तत्कालीन स्थानीय निर्वाचनको समयमा उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम नेपालबाट बनियाँ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

पछि पार्टी एकीकृत भएपछि जसपामा रहँदै आएका उनी दल विभाजनपछि लोसपामा लागेका  हुन् । लामो समय उपेन्द्र नेतृत्वको पार्टीमा रहेर काम गरेका उनले लोसपा रोजेसँगै उपेन्द्रको साथ छाडेका छन् ।

  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार ९:३९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया