भिभिआइपीको चन्द्रागिरी यात्रा : राष्ट्रपति माइक्रोबसमा, प्रधानमन्त्री हेलिकोप्टरमा !

नेपालका भिभिआइपी बेला–बेलामा आफूले प्रयोग गरेका सवारीसाधनकै कारण विवादमा तानिन्छन् । भिभिआइपीको सवारी हुँदा उपत्यकामा हुने सवारी जाम त सामान्य भइसक्यो । राष्ट्रपति विद्यादेवी भण्डारी पनि यो विवादको घेरामा बेला–बेलामा मुछिने गरेकी छिन् । 

०७५ सालको शिवरात्रिमा पशुपति निस्किएकी भण्डारीको कारणबाट सडकमा लामो समय जाम भएपछि सर्वसाधारण निषेधको अवज्ञा गरेका थिए । त्यसपछि पनि पटक–पटक विवादमा मुछिँदै आएकी राष्ट्रपति भण्डारी माइक्रोबस चढेर चन्द्रागिरी पुगेको खबरले सामाजिक सञ्जालमा वाही–वाही पाएको थियो ।

राष्ट्रपति माइक्रोमा, प्रधानमन्त्री हेलिकप्टरमा !

गत १८ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारी चन्द्रागिरी हिल्स पुगेकी थिइन् । कुनै पनि कार्यक्रम आयोजना नभए पनि चन्द्रागिरी केबलकार चढेर पृथ्वीनारायण शाहले युद्ध लडेको ठाउँको अवलोकनका लागि भण्डारी त्यहाँ पुगेकी थिइन् । 

नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाहले चन्द्रागिरीबाट काठमाडौं हेरेको र यहाँबाट देखिएको दृश्यले काठमाडौं जित्ने अठोट गरेको भन्ने इतिहासमा पढ्न पाइन्छ । 

त्यहाँ अहिले भालेश्वरको मन्दिर स्थापना भएपछि अहिले पर्यटकीय गन्तव्यको रुपमा त्यहाँको विकास गरिएको छ । कारगेड सवारीसहित पुग्न कुनै समस्या नभएकी राष्ट्रपति भण्डारी त्यतिबेला माइक्रोबस चढेर चन्द्रागिरी पुगेकी थिइन् । 



सोही स्थानमा आज मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा एक कार्यक्रमका लागि पुगेका थिए । तर, प्रधानमन्त्री भने हेलिकोप्टर चार्टर गरेर चन्द्रागिरी पुगेका छन् । 

वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित दुईदिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ । तीमध्ये सयजना भौतिक रुपमा र बाँकी सयजना भर्चुअल माध्यमबाट सहभागिता जनाउने आयोजकले बताएको छ । 



सम्मेलनको उद्घाटनका लागि बुधबार बिहानै चन्द्रागिरी पुगेका देउवा हेलिकोप्टरबाट चन्द्रागिरी हिल्स रिसोर्टमा अवतरण गरेका हुन् ।

  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १८:१०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया