मेयर बरबरियाको बदमासी : आफू निकटस्थ शिक्षकलाई तलब, अन्य वञ्चित

धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवलाई आफूनिकट शिक्षकलाई तलब दिएर अन्य शिक्षकलाई वञ्चित गरेको आरोप लागेको छ ।  

मेयर बरबरियाले विद्यालय कर्मचारीलाई स्थानीय सरकारले थप्नुपर्ने तलब पटक-पटक आग्रह गर्दा पनि नदिएको भन्दै शहीदनगर नगरपालिकाका बालविकास सहजकर्ता र विद्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् ।

संघीय सरकारले दिँदै आएको तलवमा स्थानीय सरकारले थप गरेर दिनुपर्ने कानुन बने पनि आफूहरूले हालसम्म नपाएको उनीहरूको गुनासो छ । गत ६ असोज र ६ चैतमा समेत यसबारे ज्ञापनपत्र बुझाएर आग्रह गर्दा पनि मेयर बरबरियाले ध्यान नदिएपछि उनीहरूले विद्यालयको कामकाज बन्द गरी नगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।

गत साउनदेखि नै आफूहरूले स्थानीय सरकारबाट समेत तलब पाउनुपर्नेमा नपाएको बालविकास सहजकर्ता लक्ष्मी थारू महतोले बताइन् ।

पारित भइसकेको बजेट पनि मेयर बरबरियाले दिन आलटाल गरेकाले आफूहरूलाई आन्दोलनमा उत्रनुपरेको उनले बताइन् । बढाइएको तलव स्थानीय सरकारले नदिएसम्म नगरपालिका कार्यालयमा धर्ना दिइरहने उनीहरूले चेतावनी दिएका छन् ।

संघीय सरकारले विद्यालय कर्मचारीको १३ हजार ५ सय, बालविकास सहजकर्ताको ८ हजार र कार्यालय सहयोगीलाई ८ हजार दिँदै आएकोमा स्थानीय सरकारले ७ हजार दिन अध्यादेशबाट बजेट पारित गरेको थियो ।



यसअघि मेयर बरबरियामाथि नगरभित्र अनुगमन गरेको नाममा पनि लाखौँ रकम अनियमिता गरेको पनि आरोप छ । भ्रमण खर्च नियमावली, २०६४ अनसुार आफू कार्यरत क्षेत्रभित्र भ्रमण गर्दा दैनिक भ्रमण भत्ता नपाउने तथा एकै दिन गएर फर्किन सक्ने ठाउँमा खाजा खर्चबापत दैनिक भ्रमण भत्ताको २५ प्रतिशत रकम उपलब्ध गराउन मिल्ने व्यवस्था रहे पनि नगरभित्र अनुगमन गरेको भन्दै मेयर बरबरियाले दैनिक भ्रमण भत्ताबापत ४ लाख ६९ हजार ९ सय रुपैयाँ अनावश्यक रूपमा खर्चेका थिए ।

यसबाहेक अन्य दर्जनौँ अनावश्यक शीर्षकमा मेयर बरबरियाले करोडौँ रुपैयाँ मनोमानी खर्च गरेका स्थानीयले बताएका छन् ।



  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १८:१८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया