अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न कार्यकर्तालाई माधव नेपालको आग्रह

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका छन् । 

बुधबार काठमाडौंमा भएको पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका हुन् । उनले आफ्नो शक्ति बलियो भए मात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्नु नहुने बताए ।

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा समाज र पार्टीले चिनेको मान्छेलाई मात्रै उम्मेदवारीमा उठाउनु पर्ने बताउनु भयो । अध्यक्ष नेपालले भने, ‘हामी सबैले ध्यानमा राख्नुपर्ने कुरा के हो भने आफ्नो शक्ति बलियो भयो भने मात्र अरुसँगको तालमेलको कुनै अर्थ रहन्छ । अरुको सहारमा चुनाव जित्ने कुरा नसोच्नुहोस् ।’ आफ्नो शक्तिको जगमा उभिएर नै अरुको सहयोग लिएर जित्ने कुरा सोच्न सकिने उल्लेख गर्दै उनले भने, ‘स्थिति कमजोर छ भने अनावश्यक रुपमा दावा गर्ने काम पनि गर्नुहुँदैन । फेस मूल्यांकन गर्नुपर्छ । लोकप्रिय व्यक्ति चाहिन्छ । पार्टीको नीतिहरु दह्रोसँग अवलम्बन गरेर अघि बढ्ने मान्छे चाहिन्छ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीमा रहेका मन्त्रीद्वय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गएको कुरा झुटो भएको दाबी गरे । अध्यक्ष ओलीका साइबर सेनाले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताको निद्रा खराब भएको उनले बताए । अध्यक्ष नेपालले नेकपा एमाले अध्यक्ष ओलीका अपराधलाई जम्मा गरेर जनतासमक्ष लैजाने पनि बताए । केपी ओली झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने उनले आरोप लगाए । 

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसिसी परियोजनामार्फत नेपाललाई इण्डोप्यासिफिकको अंग बनाउने कुरा ल्याएको आरोप लगाए । । उनले आफूले त्यसको विरोध गरेपछि अहिले अमेरिकाले इण्डोप्यासिफिकको अंग बन्ने कुरा काटेको बताए । अध्यक्ष नेपालले ओलीको विचारमा क्रान्तिकारिता नभएको आरोप लगाउँदै दक्षिणपन्थी अवसरवादसँग ओली रहेको बताए ।

अध्यक्ष नेपालले तत्कालीन नेकपामा ओलीले दाउपेच खेलेपछि आफूले पनि राजनीतिक दल विभाजनसम्बन्धी विधेयकमा २० प्रतिशतमा झारेर पार्टी दर्ता गराएको बताए । उनले केपी ओली १४ वर्षसम्म जेल बसेको १४ वर्षपछि केन्द्रीय कमिटीमा आएको भन्दै फुर्ती नदेखाउन चेतावनी दिए । अध्यक्ष नेपालले आफ्नो पार्टी सानो दुःखले आर्जेको पार्टी नभएको भन्दै आफ्नो पार्टीलाई हेपेको सहन नसक्ने बताए ।



फरक प्रसंगमा अध्यक्ष नेपालले नेपालको नेपालको शिक्षा, स्वास्थ्यलगायतका धेरै क्षेत्रमा परिवर्तन आवश्यक रहेको बताए । उनले जनतालाई रोजगारी, सीप प्रदान गर्नेलगायतका नीति तर्जुमा गर्न आवश्यक रहेको पनि उनले बताए ।

अध्यक्ष नेपालले सबै गठबन्धन मिलेर चुनावमा प्रतिस्पर्धा गरे मात्रै नेकपा एमालेलाई पराजित गर्न सकिने बताए । उनले ओलीको घमण्डलाई चकनाचुर पार्ने कुरामा नेपाली कांग्रेस पनि सहमत रहेको बताए । अध्यक्ष नेपालले ओलीलाई विदेशीको आड रहेको आरोपसमेत लगाए ।



  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १८:३२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया