नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका अपराधलाई जम्मा गरेर जनतासमक्ष लैजाने बताएका छन् ।
बुधबार काठमाडौंमा भएको पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले एमाले अध्यक्ष ओली झूटो बोल्न माहिर रहेको पनि बताए ।
'केपी ओलीका अपराधहरू के-के हुन् ? जति छन् त्यो तयार गरेर हामीले जनताको माझमा लैजानुपर्छ । भ्रष्टाचारसँग जोडिएका, राष्ट्रघातसँग जोडिएका, जनविरोधी कामसँग जोडिएका, अनुचित कामसँग जोडिएका, कम्युनिस्टहरूको आचरणसँग मेल नै नखाने, आदर्शसँग मेल नै नखाने, त्यस्ता खालका,' उनले भने ।
अध्यक्ष नेपालले आफ्नो पार्टीमा रहेका मन्त्रीद्वय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राति नेकपा एमालेका अध्यक्ष ओली भेट्न गएको कुरा झूटो भएको दाबी गरे । उनले ओलीका साइबर सेनाले झूटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरुको निन्द्रा खराब भएको बताए ।
'दुई मन्त्री प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ मध्यरातमा बालकोट पुगेछन्, केपी ओलीसँग गोप्य वार्ता गरेछन्, अब उनीहरुको टिकटबाट चुनावमा लड्ने रे । त्यसले कतिपय हाम्रा कमरेडहरूको निन्द्रा खराब । विरोधीले, केपी ओलीको साइबर स्यालले प्रचार गरेको कुरालाई पत्याएर हो कमरेड भनिरहेका छन्' उनले भने, 'जसमा कुनै सत्यता छैन ।'
अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसिसी परियोजनामार्फत नेपाललाई इण्डोप्यासिफिकको अंग बनाउने कुरा ल्याएको आरोप लगाए । उनले आफूले त्यसको विरोध गरेपछि अहिले अमेरिकाले इण्डोप्यासिफिकको अंग बन्ने कुरा काटेको बताए । अध्यक्ष नेपालले अध्यक्ष ओलीको विचारमा क्रान्तिकारीता नभएको आरोप लगाउँदै दक्षिणपन्थी अवसरवादसँग ओली रहेको बताए ।
अध्यक्ष नेपालले तत्कालीन नेकपामा ओलीले दाउपेच खेलेपछि आफूले पनि राजनीतिक दल विभाजनसम्बन्धी विधेयकमा २० प्रतिशतमा झारेर पार्टी दर्ता गराएको बताए । उनले ओली १४ वर्षसम्म जेल बस्नुभएको र १४ वर्षपछि केन्द्रीय कमिटीमा आएको भन्दै फूर्ति नदेखाउन चेतावनी दिए । अध्यक्ष नेपालले आफ्नो पार्टी सानो दुःखले आर्जेको पार्टी नभएको भन्दै आफ्नो पार्टीलाई हेपेको सहन नसक्ने बताए ।
फरक प्रशंगमा अध्यक्ष नेपालले नेपालको नेपालको शिक्षा, स्वास्थ्य लगायतका धेरै क्षेत्रमा परिवर्तन आवश्यक रहेको बताए । उनले जनतालाई रोजगारी, सीप प्रदान गर्ने लगायतका नीति तर्जुमा गर्न आवश्यक रहेको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।