नेता-कार्यकर्तालाई निधिले भने - टिकट माग्‍न नेताकहाँ होइन आ-आफ्नो वडामा जानुहोस्

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनको टिकटका लागि आफूकहाँ नआई वडामा जान नेता कार्यकर्ताहरूसँग आग्रह गरेका छन् । 

निधिले पहिलाजस्तो परिस्थिति अब नरहेकोले टिकटका लागि आ–आफ्नो वडामा जान नेता कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् । 

उनले भने, ‘विधानको पालना गर्दै नेताकहाँ गएर हार-गुहार गर्नुभन्दा आ–आफ्नो वडामा गएर आफूले गरेको कार्यको मूल्यांकन र निर्वाचन जित्न सक्ने क्षमताको आधारमा टिकट माग्नुहोस् ।’ 

बुधबार धनुषा जिल्लाको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्न आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै नेता निधिले जनता अब कांग्रेसको बहुमतीय सरकार खोजिरहेको बताएका छन् । 

उनले नेता कार्यकर्तालाई कांग्रेसलाई जिताउने अभियानमा सक्रिय भएर लाग्न आग्रह गरे । 

नेता निधिले कम्युनिस्टले जनताका लागि काम गर्न नसकेपछि बाध्यतावश कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको बताए ।



उनले कम्युनिस्ट सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असफल पार्ने खेलतर्फ लागेपछि बाध्यात्मक अवस्थामा कम्युनिस्टहरूकै आग्रहमा कांग्रेसले सरकारको नेतृत्व गर्न पुगेको जिकिर गरे । 

‘एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपा सबै दलहरू सरकार चलाउन असफल भए,’ उनले भने, ‘कांग्रेसबिनाको सरकार नै चलाउन सकेनन्, त्यसपछि अहिले कांग्रेसले नै देश हाँक्नु परेको छ ।’



धनुषाका नवनिर्वाचित सभापति योगेन्द्र पजियारको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीलगायतकाले पार्टीको सम्पन्न महाधिवेशनबाट आएका परिणामलाई आन्तरिक कलह नबनाई एकजुट भएर निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे ।

  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार २०:३३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया