सशस्त्रका पूर्वडिआइजी कोइरालाको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुँदै

सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) रञ्जनप्रसाद कोइरालाविरुद्धको कर्तव्य ज्यान मुद्दाको सुनुवाइ आज (बिहीबार) हुँदैछ ।

न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजलासमा सुनुवाइका लागि सर्वोच्चले मुद्दाको पेसी तोकेको छ ।

मुद्दा दर्ता भएको डेढ वर्षपछि मात्र सुनुवाइका लागि मुद्दा पेसीमा तोकिएको हो । १५ असार २०७७ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले श्रीमती गीता ढकालको हत्यासम्बन्धी मुद्दामा रञ्जनको कैद सजाय घटाएको थियो ।

जबकि कोइराला भने डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भोगिरहेका थिए । तर, प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसी रहेको संयुक्त इजालसले साढे आठ वर्ष मात्र कैद बसे पुग्ने भन्ने फैसला गरेको थियो । 

जन्मकैद सजाय तोकिँदा नाबालक छोराहरूको हेरचाह, संरक्षण एवं शिक्षादीक्षाका कार्यहरूमा अनिश्चितता र अन्योल हुने तथा सजाय चर्को पर्न जाने चित्तमा परेकाले घटाउनुपरेको फैसलामा भनिएको थियो । 

फैसल पीडकको पक्षमा आएको भन्दै न्यायिक वृत्तबाटै चर्को आलोचना भयो । त्यसपछि महान्यायाधिवक्ताको कार्यालयले १४ साउन २०७७ मा आदेशप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकन निवेदन सर्वोच्चमा दिएको थियो ।



निवेदनउपर सुनुवाइ हुँदा पुनरावलोकन हुने निर्णय सर्वोच्चले गरेको थियो । अब, मुद्दा सुरुवाती चरणदेखि नै अघि बढ्ने भएको छ । 

कोइराला २७ पुस २०६८ मा श्रीमती गीता ढकालको हत्यासम्बन्धी मुद्दामा यसअघि अदालतबाट दोषी ठहर भएका थिए । ढकालको हत्या गरेर मकवानपुरको मेत्राङमा शव जलाएको खुलेको थियो । 
 



  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार ११:४५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया