प्रदेश सरकारले संघीयताकाे अनुभूति गर्न सकेकाे छैन : कृष्णप्रसाद शर्मा
फाइल फाेटाे

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले संघीयताको अनुभूति गर्न नसकेको बताएका छन्। 

बिहीबार बागमती प्रदेश सञ्चार रजिस्टारको कार्यालयले काठमाडौंमा आयोजना गरेको ‘एफ.एम., रेडियो र टेलिभिजन सञ्चालनमा कानुनी सहजीकरणका उपाय’ का विषयमा सञ्चार सरोकारवालासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो बताएका हुन् ।

मन्त्री शर्माले प्रदेश सरकारले बनाएका ऐन, कानुनहरूलाई कार्यान्वयन पनि गर्न नसकेको बताए ।

मन्त्री शर्माले भने, ‘अहिले हामी संघीयतामा छौं । संघीयतामा छौं तर मलाई अनुभूति भइराखेको छ- संघीयताको मर्म अनुसार यो चल्या छैन । त्यसैले हामीले जति ऐन, कानुन प्रदेशमा बनाएका छौं, त्यसलाई कार्यान्वयन गर्न पनि सकिराखेको छैनौं ।’ 

राजनीतिक नेतृत्व र कर्मचारी सामन्ती चरित्रबाट मुक्त हुन नसकेको भन्दै यसको विरुद्धमा आवाज उठाउनुपर्ने खाँचो रहेको उनकाे भनाइ छ ।

‘हामी जुन राजनीतिक संस्कारबाट हुर्कियाैं, त्यसले आफूसँग भएको अधिकार  दिन चाहिराखेको छैन । एउटा पक्ष मात्र होइन, अनेकौं पक्ष छन् । त्यसकारणले त्यो सामन्ती चरित्र जो छ, नेतृत्व त्यो चरित्रबाट मुक्त छैन । कर्मचारी मुक्त छैन । राजनीतिक नेतृत्व मुक्त छैन । आमरूपमा यो दुईवटा चरित्रको बारेमा आवाज उठाउनुपर्ने खाँचो छ । मलाई यो कुरा भन्दाखेरी हिचकिचाहट लाग्दैन । राजनीतिमा पनि छ र कर्मचारी संयन्त्रमा पनि छ’, मन्त्री शर्माले भने ।



उनले प्रदेश सरकारकै मातहतको सचिव मन्त्रालयमा नहुँदासम्म संघीयता साँचो अर्थमा कार्यान्वयन हुन नसक्ने बताए ।

संघ मातहतका कर्मचारीले प्रदेशको समस्या बुझ्न नसकेका कारण प्रदेश सरकारको निर्णय कार्यान्वयन नभएको मन्त्री शर्माकाे भनाइ छ । 



उनले प्रदेश सरकारले ल्याएको सञ्चार ऐनलाई सरोकारवालाको भावना विपरीत हुनेगरी संशोधन नगरिने पनि स्पष्ट पारे । मन्त्री खनालले सञ्चार रजिस्टारको कार्यालयलाई बलियो बनाइने पनि जिकिर गरे ।

  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १५:५८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया