अस्ट्रेलिया जानेको स्वास्थ्य परीक्षण गर्ने दायरा बढाउन मन्त्री खतिवडाको आग्रह

स्वास्थ्य तथा जनस‌ंख्यामन्त्री विरोध खतिवडाले अस्ट्रेलिया जानेहरूको स्वास्थ्य परीक्षण गर्ने दायरा बढाउन आग्रह गरेका छन् । सीमित स्थानबाट मात्र परीक्षण हुँदा रोजगारी र अध्ययनका लागि अस्ट्रेलिया जानेहरूको स्वास्थ्य परीक्षणको पालो ढिलो आउने र त्यसले समस्या पर्ने गरेको भन्दै मन्त्री खतिवडाले त्यसलाई तत्काल दायरा बढाएर सहज गराउन आग्रह गरेका हुन् ।

नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले मन्त्री खतिवडासँग शिष्टाचार भेट गर्ने क्रममा सो कुरामा जोड दिएका हुन् । भेटमा दुई देशबीचको सन् १९६० देखिको कुटनीतिक सम्बन्ध, नेपाललाई अस्ट्रेलियाले स्वास्थ्य क्षेत्रमा गरेको सहयोग र आगामी दिनमा हुनसक्ने सहयोग आदानप्रदान तथा सहकार्यबारे छलफल भएको थियो ।

छलफलमा मन्त्री खतिवडाले स्वास्थ्यका क्षेत्रमा अस्ट्रेलियाले नेपाल सरकारलाई गर्दै आएको सहयोगप्रति धन्यवाद दिए । भेटमा उनले नेपालबाट अध्ययन र रोजगारीका लागि अस्ट्रेलिया जानेहरूको स्वास्थ्य परीक्षण सीमित स्थानबाट मात्र हुँदा नेपालीले दुःख पाइरहेको भन्दै धेरै ठाँउबाट परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेको उनका प्रेस सल्लाहकार शान्तराम बिडारीले जानकारी दिए।

सो अवसरमा राजदूत भोल्कले उक्त गुनासो चाँडै सम्बोधन गर्ने आश्वासन दिए । ‘अन्यत्रबाट पनि यस विषयमा कुरा आएको छ, स्वास्थ्य परीक्षणको विषय त्यहाँको गृह मन्त्रालयँंग सम्बन्धित छ, नेपालीलाई कसरी सहज हुन्छ, त्यसतर्फ कदम चाल्छु,’ उनले भने ।  





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार ७:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया