अनि चोरले ‘प्रेस कुकर बम’ मा आदर्श वाणीसहित सुन फर्कायो

घरबाट केही सामान चोरी भएमा विरलै भेटिन्छ । तर, कैलालीमा भने चोरले नै सामान फिर्ता गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ वनखेत बस्ने नवीन साहुको घरबाट १४ मंसिरको हराएको सुन चोरले घर अगाडि प्रेसर कुकरमा राखेर फिर्ता गरेका हुन् ।

चोरले चार महिनापछि चिट्ठीमा सुझाव लेखेर गहना फिर्ता गरेका हुन् । साहुका ससुराले १४ मंसिरको राति करिब १० तोला सुन र १ लाख नगद चोरी भएको भन्दै इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उजुरीपछि प्रहरीले खोजीकार्य अगाडि बढायो । 

‘सुन चोरी भएको भन्दै निवेदन दिएका साहुको घर अगाडि प्रेसर कुकर राखिएको थियो,’ इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले भने, ‘हामीलाई जानकारी भएपछि नेपाली सेनाको बम डिस्पोजल टिमसहित त्यहाँ गएर डिस्पोज गर्दा उक्त कुकरभित्र सुन फेला पर्‍यो ।’ 

प्रेसर कुकरभित्र चोरी भएको सुनका गहनाका साथै त्यसमा घरमालिकलाई चिठ्ठी लेखेर समाजमा मिलेर बस्नुपर्नेलगायतका सुझावहरू राखेको उनले बताए ।  प्रहरी नायव उपरीक्षक खनालले भने, ‘प्रेसर कुकरभित्र सुनका गहनासहित चिठ्ठी थियो, चिट्ठीमा घर मालिकलाई विकास निर्माणका कुरा गर्दा असहमति राख्नु भएको थियो । अब आइन्दा त्यस्तो असहमति नराख्नु होला, समाजमा मिलेर बस्नुहोला, सबैलाई मान मर्यादा गर्नुहोला लगायतका सुझावहरू लेखिएको छ ।’ 



चोरिएको सुन भेटिएपछि प्रहरीले मुचुल्का बनाएर जनप्रतिनिधिको रोहवरमा सम्बन्धित व्यक्तिलाई बुझाएको प्रहरीले जनाएको छ । घटनामा गाउँ टोलकै मानिस संलग्न हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ । ‘यस घटनामा वरपरकै मानिस हुनसक्ने भन्दै हामीले अनुसन्धान थालेका छौँ,’ डिएसपी पोखरेलले भने ।  



  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार ११:५२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया