जनकपुरधाम–जयनगर रेल्वेको यही १९ चैतमा उद्घाटन हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जनकपुरधाम–जयनगर रेल्वेको उद्घाटन हुन लागेको जानकारी दिएका हुन् ।
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा जुम प्रविधिबाट उद्घाटन गर्ने सम्भावना रहेको महाप्रबन्धक झाले बताए । ‘अहिलेसम्म पूर्ण रूपमा उद्घाटनको मिति तय नभए पनि चैत १९ गते हुने प्रवल सम्भावना छ । सम्भवतः आज साँझसम्म मिति तय हुन्छ,’ उनले भने ।
उनले रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन नसकिरहेको बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः अध्यादेश जारी गरेपछि चल्ने सम्भावना रहेको बताए ।
उनले भने, ‘प्राविधिक रूपमा सबै तयारी पूरा भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन् । उद्घाटन पश्चात औपचारिक रूपमा यात्रु बोकेर रेल चल्ने छ ।’
जनकपुरधाम–जनगर रेल १ फागुनदेखि दिनमा एकपटक यात्रुबिना नै जयनगरबाट कुर्थासम्म आउजाउ गरी ‘ड्रायरन’ गरेको थियो । चल्ने मिति निर्धारण नभएपछि २ चैतदेखि एक दिन बिराएर रेल चल्दै आएको छ ।
२ असोज ०७७ मा भारतीय कोकंण रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएको थियो । रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । दुवै बोगी करिव १५ सय यात्रु बोक्ने क्षमताका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।