नेपाल भर्सेस पिएनजी एकदविसीय सिरिज : खस्किएको बलिङ, फिनिसिङमा चुक्यो

नेपालले घरेलु मैदानमै पिपुवा न्युगनी (पिएनजी)विरुद्ध २ खेलको अन्तर्राष्ट्रिय सिरिज गुमाएको छ ।

नेपालले शुक्रबार भएको पहिलो खेलमा ६ रन र शनिबारको दोस्रो खेलमा ३ विकेटले पराजित हुँदै सिरिज पाहुना टोलीलाई सुम्पिएको हो । शनिबार २७९ रनको लक्ष्य पिएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।

नेपालले भर्खरै युएईमा सम्पन्न भएको आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दुवै खेलमा पिएनजीलाई हारएको थियो ।

घरेलु मैदानमै भएकाले यो सिरिज पनि नेपालले जित्ने अपेक्षा गरिएको थियो, तर पहिलोपटक नेपाली भूमिमा अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेको पिएनजीले घरेलु टोलीका त्यो इच्छालाई पूरा हुन दिएन ।

यी दुई खेललाई हेर्दा नेपाली मध्यक्रम ब्याटिङ केही सुध्रिएको देखिए पनि बलिङ भने खस्किएको छ । यस्तो रह्यो पिएनजीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालको प्रदर्शन :

ब्याटिङ



यी दुई खेलाई हेर्दा नेपाली मध्यक्रम ब्याटिङ केही सुध्रिएको भान भए पनि अझै त्यसमा निकै कमजोर देखिन्छ । नेपालले दुवै खेलमा ५० ओभरसम्म टिकेर खेल्यो यसलाई भने सकारात्मक पक्ष मान्न सकिन्छ  ।

नेपालले पहिलो र दोस्रो खेलमा समान ८ विकेट गुमाउँदै क्रमशः २८६ र २७८ रन बनायो ।



दुवै खेलमा नेपाल ओपनिङ र फिनिसिङमा चुकेको छ । शनिबारको दोस्रो खेलमा नेपालले ५ रन बनाउँदा दुई विकेट गुमाइसकेको थियो ।

नेपालका लागि ओपनरद्वय कुशन भुर्तेल र अनिल शाह सिरिजमा खासै राम्रो प्रभाव छाड्न सकेनन् । शनिबार उनीहरू क्रमश: शून्य र १ रनमा आउट भए ।

दीपेन्द्रसिंह र देव खनालले तेस्रो विकेटका लागि १२९ रनको उत्कृष्ट साझेदारी गर्दै नेपालको पारी सम्हाले ।

यो साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि कुनै पनि विकेटका लागि सर्वाधिक हो । यसअघि रोहितकुमार पौडेलले र आरिफ शेखले पाँचौ विकेटका लागि गरेको १०४ रनको साझेदारी नेपालका लागि सर्वाधिक थियो ।

दीपेन्द्रले १४० बलको सामना गर्दै ७ चौकासहित १०५ रन बनाउँदा ७२ जोडेका देवले ८६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

दीपेन्द्रले चौथो विकेटका लागि रोहितकुमार पौडेलसँग ५८ रनको साझेदारी गरे । रोहितले ३५ रन बनाए ।

त्यस्तै, दीपेन्द्र र भीम सार्कीले पाँचौ विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । भीम २६ रन बनाएर पेभलियन फर्किए ।

तल्लो क्रममा कप्तान सन्दीप लामिछानेले आज राम्रो प्रदर्शन गरे । मात्र ९ बलको सामना गरेका उनी २ चौका र १ छक्कासहित २४ रनमा अविजित रहे ।

शुक्रबारको पहिलो खेलमा २९३ रनको लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुवात गर्न नसके पनि पूरै ओभर ब्याटिङ गर्दै ८ विकेट गुमाएर २८६ रन बनाएको थियो ।

७३ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौ विकेटका लागि रोहित र आरिफले १०४ रनको शतकीय साझेदारी गर्दै नेपालको आशा जीवित राखेका थिए ।

१०७ बलको सामना गरेका रोहित १२६ रनको योगदान दिँदा आरिफ २४ रन जोडे । कुशल भुर्तेलले ३२ रन बनाउँदा कमलसिंह ऐरी र सोमपाल कामी १८–१८ रनमा अविजित रहे ।

यो खेलमा कमल र सोमपाल फिनिसिङमा चुक्दा नेपाल ६ रनले पराजित हुन पुग्यो । दुई दिनको खेल विश्लेषण गर्दा नेपालले ओपनिङ र फिनिसिङमा ध्यान नपुगेको देखिन्छ ।

बलिङ

पिएनजीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दुवै खेलमा नेपालको बलिङ निकै कमजोर रह्यो । शनिबारको दोस्रो खेलमा नेपालले राम्रो सुरुवात गरे पनि त्यसलाई कायम राख्न भने सकेन । दोस्रो ओभरमा सोमपालले लगातार दुई विकेट लिएका थिए ।

९ रन बनाउँदा दुई विकेट गुमाएको अवस्थामा तेस्रो विकेटका लागि चार्ल्स अमिनी र लिया सियकाले ६९ रनको साझेदारी गरे ।

त्यस्तै, चौथो विकेटका लागि सियका र सेसे बाउले ११० रनको शतकीय साझेदारी गर्दै पिएनजीको पारी उकासेका थिए । यो नै नेपाललाई हार दिलाउने प्रमुख कारण बन्यो ।

सियकाले ९०, बाउले ३८ र अमिनीले ३५ रनको योगदान दिँदा रिले हिकुरे ४८ रनमा अविजित रहे ।

नेपालले आज मात्र तीन प्रमुख बललाई मैदान उतारेको थियो । नेपालका लागि सोमपाल कामी, कप्तान सन्दीप लामिछाने र गुल्सन झा प्रमुख बलका रूपमा थिए ।

सन्दीप आज महँगो सावित भए । उनले १० ओभर बलिङ गर्दा ५४ रन खर्चिएर १ मात्र विकेट हात पार्न सके ।

सोमपालको प्रदर्शन आज राम्रो रह्यो । ९ ओभर बलिङ गरेका उनले १ मेडनसहित ३८ रन दिएर ३ विकेट हात पारे ।   

गुल्सनले १ ओभर बलिङ गर्दा २० रन खर्चिए । त्यसपछि फिल्डिङका क्रममा घाइते भएपछि उनी मैदान उत्रिन सकेनन् ।

नेपालले आज दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ आरिफ शेख, भीम सार्की र कुशल भुर्तेललाई पनि बलिङ गराएको थियो । यी सबै पार्ट टाइमर हुन् ।

दीपेन्द्रले १० ओभर बलिङ गर्दा बिनाविकेट ४३ रन खर्चिए । आरिफले ६ ओभरमा ६३ रन दिएर १ विकेट लिए ।

पवनले ८.४ ओभरमा १ मेडनसहित ४५ रन खर्चिएर २ विकेट हात पारे । समान १ ओभर बलिङ गरेका भीमले ८ र कुशलले ७ रन दिए ।

शुक्रबार भएको पहिलो खेलमा नेपालको बलिङ एकदिवसीय अन्तर्ष्ट्रियमा सबैभन्दा खराबमध्ये एक थियो ।

५० ओभर बलिङ गरेको नेपालले ८ विकेट लिँदै २९३ रन खर्चियो । नेपालका लागि कुनै पनि बल चल्न सकेनन् ।

नेपालले यो खेलमा मुख्य बलरका रूपमा सोमपाल कामी, कमलसिंह ऐरी र सन्दीप लामिछानलेलाई खेलाएको थियो तर यी तीनै बलर चल्न सकेनन् ।

९ ओभर बलिङ गरेका सोमपालले ८१ रन खर्चिंदै २ विकेट लिए । यो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली बलरले एकै पारीमा खर्चिएको सबैभन्दा धेरै रन हो ।

कमलले ९ ओभरम ५६ रन दिएर २ विकेट लिँदा सन्दीपले १० ओभरमा ६२ रन खर्चिएर १ विकेट हात पारे ।

त्यस्तै, दीपेन्द्रसिंह ऐरीले १० ओभरमा १ मेडनसहित ३० रन खर्चिएर र विकेट लिए । पवन सर्राफले ५ ओभरमा २५ रन दिँदै १ विकेट हात पारे ।

आरिफ शेखले ६ ओभरमा १ मेडनसहित २३ र देव खनालले १ ओभरमा ६ रन दिए ।

तेस्रो विकेटका लागि कप्तान असद भाला र चार्ल्स अमिनीले ७४ रनको साझेदारी गर्दै पिएनजीको पारी उकासेका थिए । अमिनीले ७७ र भालाले ६० रनको योगदान दिएका थिए ।

  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १९:८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया