काठमाडौं– संसद् सचिवालयले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को आगामी अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ । संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस ११ गते बुधबार अपराह्न ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरिसकेकी छिन् ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुने संघीय संसद्को अधिवेशनको सन्दर्भमा सचिवालयले हिउँदे अधिवेशनको तयारी पूरा गरेको हो । अधिवेशन सञ्चालनका लागि आवश्यक पर्ने माइकलगायत सम्पूर्ण उपकरण चुस्त र व्यवस्थित पाइएको सचिवालयका सचिव डा. भरतराज गौतमले जानकारी दिए ।
संसद्को आफ्नो भवनको अभावमा सचिवालयले विगत १० वर्षदेखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संसद्को अधिवेशन सञ्चालन गर्दै आएको छ । सचिवालयले प्रत्येक अधिवेशन सुरु गर्नुअघि संसद् भवन र त्यहाँ जडान भएका उपकरणको मर्मत सुधार गर्दै आएको छ ।
हिउँदे अधिवेशनको रुपमा रहेको यो अधिवेशनले खासगरी संघ, प्रदेश र स्थानीय तहबीचको साझा सूचीका रुपमा रहेका विषयवस्तुको सम्बोधन गर्ने तथा संविधानसँग बाझिने पुराना कानुनलाई संविधानसम्मत तुल्याउने गरी कानुन निर्माण गर्नेछ ।
उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, महासचिव मनोहरप्रसाद भट्टराईलगायतले नयाँबानेश्वरस्थित संघीय संसद्का दुवै सदन सञ्चालन हुने सभाहलको शुक्रबार निरीक्षण गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।