एमसिसीका कारणले अमेरिकन सेना आउँछ भन्नु भ्रम मात्रै हो : सञ्चारमन्त्री कार्की
फरकधार / १२ चैत, २०७८

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजना विकास परियोजना भएको बताएका छन् ।



नेपाली कांग्रेस क्षेत्र नं ४ सुनसरीले कोसी गाउँपालिकामा आयोजना गरेको ‘घर–घर जाऊँ, काँग्रेस जिताऊ’ अभियान कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

एमसिसी परियोजनाका विषयमा छरिएको भ्रममा कुनै किसिमको सत्यता नभएका कारणले त्यसको पछि नलाग्नका लागि उनले सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे । उक्त परियोजना केवल विकास परियोजना भएको र यसमा आउने अनुदान रकमबाट पूर्वाधार विकास, सडक र विद्युत्को ट्रान्समिसनलाइन विस्तारमा खर्च हुने भएकाले यो केवल विकास परियोजना मात्र भएको मन्त्री कार्कीले बताए ।



एमसिसी परियोजनाबाट ७७ किलोमिटर अन्तर्राष्ट्रियस्तरको बाटो निर्माण गर्ने लक्ष्य रहेको उनले बताए । गरिबी निवारण गरेर देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे । उनले एमसिसीका कारणले अमेरिकन सेना आउने भन्ने भ्रममा कुनै किसिमको सत्यता नभएको जनाउँदै यसले मुलुकको समृद्धिका लागि ढोका खोल्ने कार्य गरेको बताए । मन्त्री कार्कीले एमसीसी परियोजना मुलुक, नेपाली जनता र राष्ट्रको हितमा रहेको दाबीसमेत गरे ।



कार्यक्रममा संघीय सांसद सीताराम मेहता, नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल, कोसी गाउँपालिकाका सभापति अयुव अन्सारी, उपाध्यक्ष अनितादेवी यादव, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहतालगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर नेता तथा कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार २१:४३:१०,   अन्तिम अपडेट : चैत १२, २०७८ शनिबार २१:४५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया