भन्ने गरिन्छ कि फुटबलको विश्वकप जित्न जति गाह्रो छ, त्योभन्दा बढी गाह्राे छ- यसमा छनोट हुन । यदि सजिलो हुन्थ्यो त, इटालीजत्तिकाे टोली त्यसमा छनोट हुन असफल हुने थिएन, त्यो पनि लगातार दोस्रो वर्ष ।
भर्खरै निश्चित भएको छ- यस वर्ष कतारमा हुने विश्वकपमा इटालीले सहभागी हुन पाउने छैन।
रुसमा भएको अघिल्लो विश्वकपमा पनि इटाली थिएन । यसरी लगातार दुई संस्करणका विश्वकपमा इटाली नहुने भएको छ ।
विश्वभर रहेका इटालीका समर्थक यसपटक पनि निराश हुने भएका छन् । इटालीले हालसम्म चारपटक विश्वकपकाे उपाधि चुमिसकेकाे छ । सबैभन्दा धेरै पटक विश्वकप जित्ने टाेलीमा इटाली दाेस्राे स्थानमा छ । उसले पहिलाेपटक सन् १९३४ मा र अन्तिम पटक २००६ मा विश्वकप जितेकाे थियाे ।
अबको विश्वकपमा इटालीले पस्कने जुन विशिष्ट खालको फुटलब छ- त्यो देखिने छैन । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा इटालीको अनुपस्थितिले सबैको मन भने पक्कै बिझाउने छ ।
नर्थ म्यासेडोनियाविरुद्धको खेल गुमाएपछि इटालीले विश्वकप नखेल्ने निश्चित भएको हो । कसैले पनि सोचेका थिएनन्- चारपटकको विश्व विजेता इटालीको फुटबल यो स्थितिबाट गुज्रनेछ भनेर ।
भर्खर त हो, इटालीले युरोकप २०२० जितेको । त्यो युरो संस्करण जितेर इटालीले तहल्का नै मच्चाएको थियो । अनि, सबैले भन्न थालेका थिए- इटाली सन् २०१८ को विश्वकपमा छनोट नहुनु संयोग मात्र थियो । तर, अहिले पनि इटाली छनोट हुन सकेन । अब यसलाई के भन्ने ? यसलाई संयोग मात्र त मान्न सकिँदैन !
बरु, इटालीले युरोकप जित्नु चाँहि संयोग थियो कि ? । युरोकप २०२० जित्दा इटालीका प्रशिक्षक रोबर्टो मान्सिनी नायक जस्तै भएका थिए । जताततै उनको वाहवाही चलेको थियो । तर, अहिले तिनै मान्सिनी इटालियन फुटबलका लागि खलनायक सावित भएका छन् ।
सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएपछि सुध्रिएकाे इटालीले लगातार ३७ खेलसम्म अपराजित रहँदै तहल्का मचाएको थियो । इटालीको अपराजित यात्रासँगै विश्व फुटबलमा उसको दबदबामा पनि पूर्णविराम लाग्यो ।
युरोकप जितेपछि इटालीले त्यस्तो फुटबल खेल्न सकेन, जसले उसलाई विश्वकपमा पुर्याउन सकोस् ।
विश्वकपमा छनोट हुन असफल भएपछि मान्सिनीले भनेका थिए, ‘जुलाईमा मात्र मेरो जीवनमा सबैभन्दा खुसीको क्षण आएको थियो- युरोकप जित्दा । अहिले मेरो खेल जीवनकै सबैभन्दा दुखद क्षण हो । म निकै निराश छु र आफ्ना खेलाडीको दुःख हेर्न सकिरहेको छैन । म वास्तवमै कति दुःखी छु भने मेरो आफ्नै भविष्यलाई लिएर मैले केही पनि सोंच्न सकिरहेको छैन ।’
अहिले तत्कालका लागि मान्सिनी इटालीको फुटबल टिमका प्रशिक्षक रहन्छन् वा रहँदैनन् त्यसमै अनिश्चितता छ ।
इटालीको फुटबल संघका अध्यक्ष गाब्रिअल ग्राभिनाले मान्सिनी प्रशिक्षक रहेकै राम्रो भनेका छन्, विश्वकप छनोट सम्भावना समाप्त भइसकेको स्थितिमा पनि ।
सायद मान्सिनी आफैंले भने यसलाई मान्ने छैनन् । उनका लागि इटालीको फुटबल टिम छाड्नु नै ठीक हुनेछ, किनभने उनी विश्वकप छनोटमा असफल भएकै हुन् । यो तथ्यलाई सबैले स्वीकार्नै पर्छ ।
मान्सिनी आफैंले पनि इटालीको हारको सबै जिम्मेवारी लिएका छन् । उनले भनेको पनि ठीकै हो- जित्दा त्यसको सबै श्रेय खेलाडीलाई अनि हार्दा त्यसको पूरा दोष प्रशिक्षकलाई ।
दोष त इटालीको फुटबलमै पनि खोज्नु पर्ने बेला आएको छ, विशेषतः त्यहाँको घरेलु फुटबलमा । इटालीको घरेलु फुटबलको कुरा गर्दा अगाडि आउने नाम हो -सिरी ए ।
इटालीको यो माथिल्लो डिभिजन अब त्यस्तो रहेन, जस्तो पहिला थियो । दुई मिलान क्लबसहित युभेन्टसलाई अचेल युरोपेली क्लब फुटबलमा महाशक्तिको रूपमा हेरिँदैन ।
कुनै समय थियो- इन्टर र एसी मिलानसहित युभेन्टसले युरोपमा सनसनी मच्चाउँथे । अहिले यी सबै पुराना सम्झना भइसकेका छन् । त्यसकै कारण हो- यसपटकको युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा कुनै पनि इटालियन टोली पुग्न सकेनन्।
इंग्लिस प्रिमियर लिग र स्पेनी ला लिगा अगाडि सिरी ए कमजोर सावित हुन थालेको छ । त्यसैको झल्को त हो- इटाली विश्वकपमा छनोट नहुनु ।
इटालियन फुटबलले अब वास्तवमै विश्लेषण गर्नुपर्ने बेला आएको छ- कुरा कहाँ बिग्रिएको छ र यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर ।
(एजेन्सीहरूकाे सहयाेगमा फरकधारकर्मी याेगेश भट्टराईले तयार पारेकाे सामग्री)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।