[पुस्तक समीक्षा] चार्ल्सको मुटु

रामेश कोइरालालाई चार्ल्सको शल्यक्रिया गर्नुपर्दा सामाजिक मानसिक द्विविधा भए पनि उनले चाल्र्सलाई एउटा बिरामीभन्दा अर्को विशेष दर्जा दिन खोजेका छैनन् । तर, बाहिर त्यो लागू भए पनि आन्तरिक रूपमा अपराधीको नजिक पर्दा उसको आनीबानीबाट अछुतो हुन नसकेको र उसप्रति जागेको अनेक धारणालाई सजिलै बिर्सिन नसकेको कथा पनि हो यो पुस्तक । 

केही संस्मरणजस्तो, केही आत्मपरक उपन्यासजस्तो, केही अपराध र अपराधीको व्यक्तिचित्रजस्तो लाग्ने पुस्तकलाई कुनै विधामा छुट्याउनुभन्दा पनि यसले सबैकुरालाई मिश्रण गरेर भन्न र केही व्यावहारिक कठिनाइलाई समाधान गर्न आख्यानको सहयोग लिएको देखिन्छ । चार्ल्सलाई असामान्य घटनामा उभ्याएर उसलाई बढाइँ या पतीत गर्नुभन्दा पनि उसको विगतका छापहरू वर्तमानमा खोजेजस्तो देखिन्छ । 

आफ्नो द्विविधा, यात्रा, अरूका प्रश्न र सपनाको संवाद केही माध्यमहरू हुन्, जसले डाक्टर रामेशलाई चाल्र्सलाई अध्ययन गर्नेको नजर दिएको छ । नजानेर भन्दा जानेपछि बिर्सिन सजिलो हुन्छजस्तो गरेर रामेशले आफ्नो व्यक्तिगत चिन्तन र विचारमा कुख्यात अपराधीलाई स्थान दिएका छन्, तर उसलाई थाहा दिएर होइन । 

यात्रा संस्मरणजस्तो सुरु भएर न्यारेसनमा सामाजिक राजनीतिक टिप्पणीले पनि ठाउँ पाएका छन्, त्यसैले केही अधिकारीहरूका लागि पुस्तक अमिलो लाग्ला । देशको बारेमा सर्तक नागरिकको हैसियतले बोल्दा यसमा सामान्यभित्रका असमञ्जसतालाई व्यंग्य छ । तर, पुस्तकको मर्म भनेको कुख्यात अपराधीको रोगी मुटुको शल्यक्रिया गर्दा आइपरेको चासो र द्विविधा हो । अनि शोभराजको अपराधी व्यक्तित्वलाई नजिकबाट जान्ने प्रयास हो । यसका लागि उसको अपराधको फाइल पनि पल्टाउनुपरेको छ । र, उससँग काल्पनिक संवाद पनि गर्नुपरेको छ । स्वाभाविक छ । तथ्यहरूको संकलन, तिनलाई धेरैथोरै चियाउने र बुझ्ने प्रयास, अपराध मानसिकताको कारण पत्ता लगाउने मोह र चाल्र्सका कमजोरीलाई फर्किएर हेर्दा जागेको खुल्दुलीलाई किताबले आख्यान रूप दिएको छ । 

नेपालको जेलमा जन्मकैद बिताइरहेका चार्ल्स शोभराजलाई विशेषगरी हिप्पी–पर्यटकलाई क्रूरतापूर्वक मार्ने र तिनको परिचय चोरेर मोजमस्तीको फुक्काफाल जीवन बिताउने अपराधीका रूपमा चिनिन्छ । भारतमा पनि लामो काराबास बिताएका चार्ल्स शोभराज नेपाल आएर पक्राउ पर्नु उनको जीवनको सबैभन्दा ठूलो र अन्तिम भूल भएको रामेशलाई लागेको छ । तथ्यहरू केही प्रस्ट केही छायामा भए पनि अदालती कारबाहीले उनी हत्यारा भएको नै पुष्टि गरेको छ । यति हुँदाहुँदै पनि आफू अपराधी र सेलेब्रिटी दुइटै भएको घमण्ड चाल्र्समा छ । 

आफ्नो कुकृत्यको संकोचभन्दा सञ्चारमा आफ्नो छविको मोह धेरै भएको, अनि त्यही व्यक्तित्वले उनी ग्रस्त भएको देखिन्छ । अपराधीसँगको सम्पर्कले जन्म दिएका संवेदनालाई रामेशले आफ्नो प्रायः विगत र केही वर्तमानका प्रसंगहरूबाट पनि शान्त गर्ने वा चिन्ने प्रयास गरेका छन् । सर्पको हत्या, हिप्पीका कथा, बालकको क्रूरता र अन्तर्राष्ट्रिय टिप्पणी पनि त्यसमा सहायक भएका छन् । 



चार्ल्सको हिप्पीट्रेलको यात्रालाई काल्पनिकीकरण गरेको अध्याय र त्यसपछिका केही अध्यायले चाल्र्सको बाल्यकालदेखि उनको अपराधको सग्लो बयान दिन्छ । र, अरू अध्यायभन्दा बेग्लै न्यारेटिभ पनि यिनीहरूमा पाइन्छ । जीवनको उत्तरार्द्धमा आएर धेरैको हत्या गरेका चाल्र्सलाई आफ्नै जीवनप्रति पलाएको मोह अनि बाँच्ने चाहना केही विपर्यासजस्तो लाग्छ । रामेशले चार्ल्सको आपराधिक दिमागभित्र पसेर केही प्रश्नको उत्तर खोज्ने इच्छा गरेको र त्यसैले उनलाई चार्ल्सप्रति जिज्ञासु बनाएको भावना किताबभरि छरिएको छ ।  

साथसाथै यो पनि थाहा छ कि, उनी हत्या गर्ने अनि आफ्नो व्यक्तित्वको प्रभावले भ्रम सिर्जना गरेर पक्राउबाट उम्कने नामुद हत्यारा हुन् । उनीबाट साँचो कुराको अपेक्षा गर्न सकिँदैन । सपनाको संवादमा रामेशले उनी स्वतन्त्र भएर फेरि किन नेपाल आएर पक्राउ पर्न चाहे भन्ने कुरालाई काल्पनीकरण गरेका छन् । धेरै सन्दर्भ स्रोतहरू जुटाएर लेखेको हुनाले कहीँ लेखक हराएर तथ्य मात्र बोलेको महसुस हुन्छ, र यस्तो वेलामा नै किताबमा औपन्यासिक रसहरूको अभाव हुन्छ । त्यसैले यो रंगिन कथा होइन ।



रामेशको पुस्तकलाई सामान्य जीवनमा असामान्य, त्यो पनि अपराधी व्यक्तिको प्रवेश हुँदा, एउटा डाक्टरले त्यसलाई सामना गरेको दैनिक जीवनको विवरण मानेर पढे पनि हुन्छ । चार्ल्स शोभराजको जीवनको अनेक आयामलाई जान्न यो पुस्तकले मद्दत गर्छ । तर, यो कल्पनाले भरिपूर्ण मनोरञ्जन गराउने अपराधीको जीवनी होइन । यसर्थ यो नपढी नहुने पुस्तक पनि होइन । तर, अपराधी मानसिकता जान्न, र विशेषगरी चार्ल्स शोभराजको बारेमा जान्न रुचि हुनेलाई मात्र किताबमा चासो होला । यसो भन्दा नेपाली लेखकले लेखेको भएर यसमा देशीय सीमितता छैन । यसमा भएको चेतनाले पाठकको विशेषता रोज्दैन । यो विरोधाभाषपूर्ण भनाइ भए पनि साँचो कुरा यही हो । 

चार्ल्स शोभराजको फ्रन्टम्याटरबाटै प्रस्ट छ, यो गैरआख्यान होइन । चार्ल्स शोभराजलाई पात्र बनाएर अनेक कोणबाट लेख्न आख्यानात्मक धारले स्वतन्त्रता दिएको छ, यद्यपि आख्यानलाई शृंगार दिने उपकरणहरू पुस्तकमा कमै पाइन्छन् । वास्तविक जीवनबाट लिएको कुरालाई मात्र उतारेको भए पुस्तक पत्रकारको खोजजस्तो वा जीवनीजस्तो हुने थियो । पढ्दा केही अध्यायबाहेक यसलाई आख्यान भनेर पत्याउन पनि गाह्रो हुन्छ । 

किताबमा सामाजिक र राजनीतिक टिप्पणी पनि हावी भएको छ, अपराधका बारेमा भन्ने कानुनी भाषाको लवज पनि छ । त्यसैले अन्य घटना र पात्रले उपन्यासका पाठकलाई किताब अरुचिकर पनि हुन सक्छ । पानैपिच्छे हुटहुटी लगाउने कथा सायद यसले भन्न खोजेको पनि होइन । यसको बनोटको विशेषता भनेको यसको गैरआख्यान र आख्यानको सीमा मेट्ने शैली र प्रयोग नै हो । 
 

  • प्रकाशित मिति : पुस ७, २०७५ शनिबार १०:२३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया