अस्थायी प्रहरी बिटले पायो भवन

सुर्खेतस्थित संरक्षित वन क्षेत्र काँक्रेविहार प्रवेशद्वार नजिकै अस्थायी प्रहरी बिट भवन स्थापना गरिएको छ । 

वीरेन्द्रनगर नगरपालिकाका ९ र १० नम्बर वडाकाे भूभाग सुरक्षार्थ खटेको प्रहरीको टोलीका लागि उक्त भवन निर्माण गरिएको हो ।

सोमबार वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदी र उप-प्रमुख मोहनमाया ढकाल र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले संयुक्त रूपमा उक्त भवनको उद्घाटन गरे ।

२०७६ भाद्र २५ गते प्रहरीले सो क्षेत्रमा अस्थायी प्रहरी बिटमार्फत् सेवा दिइरहेको थियो ।

नवनिर्मित भवनको शुभारम्भ गर्दै नगरप्रमुख सुवेदीले देशकै ऐतिहासिक क्षेत्र काँक्रेविहार रहेकाेले प्रहरी एक्लैले मात्र सुरक्षा व्यवस्था मिलाउन नसक्ने भन्दै यहाँका स्थानीयले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने बताए । 

त्यस्तै, नगर उप-प्रमुख ढकालले बढ्दो जनसंख्यासँगै सुरक्षा चुनौती समेत बढ्दै गएकाले जनतालाई सुरक्षित महसुस गराउन प्रहरी सक्रिय हुनुपर्नेमा जाेड दिइन्।



६ लाख ५० हजार रुपैयाँ लागतमा अस्थायी प्रहरी बिटका लागि भवन निर्माण सम्पन्न भएको वीरेन्द्रनगर-९ का वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिए ।
 
उनले भने, ‘यो प्रहरी बिटले ९ नम्बर मात्र नभएर, २ र १० नम्बर वडाको पनि केही क्षेत्र हेरिरहेको छ । यस क्षेत्रमा लागुऔषध नियन्त्रण गर्न प्रहरी र जनता उतिकै लाग्नुपर्छ ।’

अस्थायी प्रहरी बिटका लागि भवन उद्घाटन कार्यक्रममा समाजसेवी डम्मरविक्रम जिसी, गणेश वली, कर्णाली प्रदेश सरकारका पूर्व मुख्यन्यायधिवत्ता विद्याभूषण मानन्धर, वडा सदस्यद्वय जीवनकुमार शर्मा, टिका विकलगायतको उपस्थिति रहेको थियो ।



  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १६:३९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया