त्रिकोणात्मक सिरिज : मलेसियाविरुद्ध नेपालले सुधार गर्नुपर्ने तीन पक्ष

घरेलु मैदानमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ । 

सिरिजमा दुवै टोलीले सुखद् सुरुवात गरिसकेका छन् । नेपाल-मलेसियाले पपुवा न्यूगिनी (पिएनजी) लाई हराउँदै सिरिजमा राम्रो सुरुवात गरेका हुन् । पिएनजीविरुद्ध नेपालले १५ र मलेसिया ८ रनले विजयी भएको थिए । दुवै टोली आजको खेल आफ्नो पक्षमा पार्दै सिरिजमा लगातार दोस्रो जित हात पार्ने सोचमा छन् । 

मलेसियाविरुद्ध लगातार तेस्रो जितको खोजीमा नेपाल  

हालसम्म नेपाल र मलेसियाले एकअर्काविरुद्ध ६ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा नेपालले पाँच खेलेको जितेको छ । २०२० मा भएको एक खेलमा मात्र मलेसियाविरुद्ध नेपाल २२ रनले पराजित हुन पुग्यो । 

सन् २०१९ मा नेपालले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रीय छनोट प्रतियोगिताअघि मलेसिया भ्रमण गरेको थियो । दुई खेलको सो सिरिजमा नेपालले क्लिन स्विप गर्न सफल भयो । नेपालले टी–२० सिरिज क्लिन स्विप गरेको त्यो पहिलोपटक हो ।

नेपालले पहिलो खेल ७ विकेट र दोस्रो खेल ४ विकेटले आफ्नो पक्षमा पार्‍यो आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रीय छनोट प्रतियोगितामा समेत नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्न सफल रह्यो ।  



सन् २०२० को एसिसी इस्टर्न रिजन टी–२० मा भने नेपाल पहिलोपटक मलेसियासँग पराजित हुन पुग्यो । सन् २०२१ मा घरेलु मैदानमा आयोजना भएको त्रिकोणात्मक टी–२० सिरिजको दुवै खेलमा नेपालले मलेसियालाई हराएको थियो । 

सो श्रृंखलामा नेपालले पहिलो ९ विकेट र दोस्रो खेल ६९ रनको जितेको थियो । उक्त सिरिजमा नेपाल र मलेसियाबाहेक नेदरल्याण्ड्सले पनि प्रतिस्पर्धा गरेको थियो ।  



टी–२० मा नेपाल र मलेसिया हेड टु हेड

सन् २००७ मा कुवेतमा भएको एसिसी टी–२० कपमा नेपालले मलेसियासँग पहिलोपटक खेलेको थियो । सो खेलमा नेपालले २१ रनको जित निकाल्यो । यी दुई टोलीबीचको दोस्रो भेट २००९ मा एसिसी टी–२० कपमा भएको थियो । युएईमा भएको सो खेलमा नेपालले ६ विकेटले पराजित हुन पुग्यो ।  

सन् २०१३ को एसिसी टी–२० कप नेपालमा आयोजना भएको थियो । जहाँ मलेसियाविरुद्ध नेपाल १९ रनले विजयी भयो । नेपाल र मलेसियाले सन् २०१८ को विश्व टी–२० एसिया अन्तर रिजनल छनोटमा पनि प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा नेपालले मलेसियालाई ८ विकेटले हराएको थियो ।  

मलेसियाविरुद्ध नेपालले सुधार गर्नुपर्ने पक्ष

१. ब्याटिङ 

ब्याटिङ नेपालको परम्परागत समस्या हो । खराब ब्याटिङकै कारण नेपालले जित नजिक पुगेका धेरै खेल गुमाएको छ । पछिल्लो केही खेलमा भने नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गरेको छ । तर, त्यसमा अझै केही कमजोरी भने बाँकी नै छन् ।

विशेषगरी नेपालले मध्यक्रमले राम्रो प्रदर्शन गरिरहेको भए पनि ओपनिङ र फिनिसिङमा सोचेअनुरूप हुन सकेको छैन । जसको फाइदा विपक्षी टिमहरूले लिइरहेका छन् । 

घरेलु मैदानमा प्रायः खेलमा नेपालको ब्याटिङ राम्रै रहन्छ । पिएनजीविरुद्धको दुई एकदिवसीय र एक टी–२० खेलमा पनि नेपाल पूरै ओभर ब्याटिङ  गर्न सफल भयो । यद्यपि, राम्रो सुरुवातका बाबजुद माथिल्लो क्रमका ब्याटरले ठूलो पारी भने खेल्न चुकिरहेका छन् ।  

जारी सिरिजको पहिलो खेलमा नेपालले १८३ रन बनायो । तर, कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । टी–२० मा आक्रामक तरिकाले खेल्नुपर्ने भए पनि पिएनजीविरुद्ध हतार गर्दा नेपाली ब्याटरले ठूलो पारी खेल्न सकेका थिएनन् । मलेसियाविरुद्ध नेपाली ब्याटरले सट सेलेक्सनमा पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ । 

२. बलिङ

नेपालको प्रमुख हतियार भनेको बलिङ आक्रमण हो । तर, पछिल्ला केही खेलमा भने नेपाली बलर लयमा देखिएनन् । एकदिवसीय सिरिजमा पावर प्ले र डेथ ओभरमा नेपालको बलिङ फितलो रह्यो । टी–२० मा नेपालले पावर प्लेमा केही सुधारिएको प्रदर्शन गरे पनि डेथ ओभरमा भने अझै चुकिरहेको छ । 

पहिलो खेलमा पिएनजीले आठौं विकेटका लागि ६७ रनको साझेदारी गर्नुले पनि नेपालले डेथ ओभरमा कमजोर बलिङ गरिरहेको प्रष्ट पार्छ । नेपालले सो खेलको डेथ ओभरमा ६० रन खर्चिएको थियो । तुलनात्मकरूपमा नेपालभन्दा कमजोर मानिएको मलेसियाले पिएनजीविरुद्ध डेथ ओभरमा ५३ रन बनाएको थियो । 

त्यसकारण नेपालले मलेसियाविरुद्ध अनुशासित बलिङ गर्न आवश्यक छ । पिएनजीसँगको जस्तो कमजोर डेथ ओभर बलिङ दोहोर्याएमा नेपालका लागि घातक सिद्ध हुन सक्छ । पिएनजीविरुद्ध मलेसियाले ३ विकेट मात्र गुमाएको थियो । यसले पनि केही कुरा प्रष्ट हुन्छ कि उसका ब्याटर राम्रो लयमा छन् । नेपालले मलेसियाविरुद्ध सुरुवातदेखि कसिलो बलिङ गर्नुपर्छ ।

३. फिल्डिङ 

नेपालले फिल्डिङमा पनि धेरै सुधार गर्नुपर्ने देखिन्छ । पिएनजीसँगको स–साना गल्ती मलेसियाविरुद्ध दोहोर्याएमा भारी पर्नसक्छ । नेपालले पहिलो खेलमा चुस्त फिल्डिङ चुक्दा पिएनजीका ब्याटरले सजिलै रन जोडिरहेका थिए ।  

सो खेलमा नेपालले रन आउटको अवसरलाई  सदुपयोग गर्न सकेको थिएन । अनावश्यक थ्रोका कारण नेपालले केही अतिरिक्त रन पनि खर्चिएको थियो । ती गल्तीहरू नेपालले आज सुधार गर्नुपर्ने देखिन्छ । साथै, घरेलु टोलीले फिल्ड सेटअपमा पनि ध्यान दिनुपर्छ ।  


  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार ९:४३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया