जनता समाजवादी पार्टीकी पदमुक्त सांसद सरिता गिरीले दायर गरेको रिटको सुनुवाइ आज (बुधबार) संवैधानिक इजलासमा हुँदैछ ।
कायममुकाम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराई छन् ।
संघीय संसद् सचिवालयले गैरकानुनी रूपमा सांसद पदबाट निष्कासन गरेको भन्दै गिरी २८ असार २०७७ मा सर्वोच्च पुगेकी हुन् ।
उनले निष्कासन गर्ने सचिवालयको निर्णयलाई खारेज गर्न रिटमार्फत माग गरेकी छन् ।
यसअघि ४ साउन २०७७ मा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गिरीको मुद्दामा अन्तरिम आदेश नहुने निर्णय गरेको थियो ।
उनी सरकारले विवादित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरासमेत समेटेर राजनीतिक नक्सा जारी गरेपछि निशान छापमा नक्सा परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गर्दा प्रस्तावको विपक्षमा उभिएकी थिइन् ।
त्यसपछि पार्टीले ह्विप जारी गर्नुपरेको थियो । ह्विप गरेपछि उनले संसद् बैठक नै बहिस्कार गरेकी थिइन् ।
सोही कारण पार्टीले उनलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्दै सांसद पदबाट पनि निष्कासन गरेको थियो । संसद् सचिवालयलाई पनि पदमुक्त गर्न माग गर्दै पत्राचार गरेपछि गिरी पदमुक्त भएकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।