बाँकेका १ सय ३७ जनाको ब्याज अनुदान फिर्ता

युवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गरेका हुन् । 

बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगन्जको गृहिणी बहुउद्देश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था तथा कोहलपुरका सृजना कृषि सहकारी संस्था र गंगा जमुना कृषि सहकारी संस्थामार्फत कर्जा लिएका १ सय ३७ जनालाई १८ लाख रुपैयाँ ब्याज अनुदान वितरण गरिएको हो ।
 
युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारीमार्फत युवाहरुलाई आयआर्जन र स्वरोजगार गराउने उद्देश्यले प्रवाह गरेको ऋणको ब्याजमा ६० प्रतिशत स्वरोजगार कोषले फिर्ता गर्ने नीतिअनुरुप ब्याज रकम फिर्ता गरिएको हो । कोषको अध्यक्षसमेत रहेका मन्त्री गहतराजले गृहजिल्ला (बाँके)बाट ब्याज रकम फिर्ता अभियान सुरु गरेका हुन् ।
  
कार्यक्रममा बोल्दै उनले युवा तथा महिलाहरुलाई स्वरोजगार बन्न आग्रह गरे । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत देशभरका करिब ८१ हजार युवाहरु स्वरोजगार भएको उल्लेख गर्दै उनले रोजगारसँगसँगै स्वरोजगारको उपाय अवलम्बन गर्न आग्रह गरे ।  

कार्यक्रममा बोल्दै उद्यमीहरुले स्वरोजगार कोषले कर्जामा समेत ब्याज अनुदान दिएको भन्दै खुसी व्यक्त गरेका थिए । उनीहरुले यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाई युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न समेत अपिल गरेका थिए ।

युवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा रहेका ७२ वटा सहकारी र २६ वटा बैक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा ३६ करोड ५१ लाखभन्दा बढी रकम लगानी गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए । कोषले बाँकेका ३ हजार व्यक्तिलाई स्वरोजगार हुन मद्दत गरीरहेको अधिकारीले बताए । 





  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १८:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया