प्रधानमन्त्री देउवाको भारत भ्रमणमा केके हुँदैछन् सम्झाैता ?

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् । 

भ्रमणका बेला उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको बेला दुई देशबीच जयनगर-कुर्था रेल सेवा उद्घाटन सम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । 

हस्ताक्षरलगत्तै दुवै देशका प्रधानमन्त्रीले रिमोर्टद्वारा भर्चुअल रूपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

उद्घाटनपछि भारतको जयनगरबाट नेपालको कुर्थासम्म रेल सेवा सञ्चालनमा आउनेछ । उक्त ३५ किलोमीटर रेल सेवा भारतको ८.७७ अर्ब अनुदान सहयोगमा निर्माण गरिएको हो । 

यस्तै, प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला सोलु करिडोरमा विद्युत प्रसारण लाइन निर्माण गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । 



‘डिजिटल भुक्तानी प्लेटफर्म’ सम्बन्धी एक सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

भ्रमणका बेला भारतीय सहयोगमा नेपालमा निर्माण भएका १३२ वटा स्वास्थ्य चौकीको पनि रिमाटबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 



उर्जा क्षेत्रमा सोलार इनर्जी र क्लिन इनर्जी सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई देशबीचको विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रमको अवलोकन गरेपछि भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । 

चैत २० गते भारतको उत्तर प्रदेशस्थित वाराणसी हुँदै प्रधानमन्त्री देउवा स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार ११:२७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया