त्रिकाेणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजअन्तर्गत आजकाे खेलमा घरेलु टाेली नेपाल विजयी भएकाे छ ।
नेपालले लगातार तेस्रो जित निकाल्ने क्रममा पपुवा न्युगिनी (पिएनजी)लाई ३७ रनले हराएकाे हाे ।
याे जितसँगै नेपाल एक खेलअगावै सिरिजकाे फाइनल प्रवेश गरेकाे छ ।
२०४ रनकाे लक्ष्य पछ्याएकाे पिएनजीले दुई बल बाँकी छँदा सबै विकेट गुमाउँदै १६६ रन मात्र बनाउन सक्याे ।
पिएनजीका लागि चार्ल्स अमिनीले अर्धशतकीय पारी खेले । ६२ रन बनाएका उनले ४७ बलमा ९ चाैका प्रहार गरे ।
तेस्रो विकेटका लागि अमनी र टाेनी उराले ८४ रनकाे साझेदारी गरेका थिए । उरा ४३ रन बनाएर आउट भए ।
सेसे बाउले २५ र नाेर्मन भानुआले १७ रन जाेडे ।
नेपालका लागि ह्याट्रिक पूरा गरेका करण केसीले ५ लिए । उनले २० औं ओभरको दोस्रो, तेस्रो र चाैथाे बलमा क्रमश: चाड साेपर, सिमाेन अटाई र नाेसैना पाेकानालाई आउटल गराउँदै टी-२० अन्तर्राष्ट्रियमा आफ्नो पहलाे ह्यट्रिक पूरा गरे ।
करणले साेपरलाई राेहितकुमार पाैडेल तथा पाेकानालाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराएका हुन् भने अटाइलाई बाेल्ड गराए ।
याेसँगै करण टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक पूरा गर्ने तथा एकै खेलमा ५ विकेट लिने पहिलाे नेपाली खेलाडी बनेका छन् ।
साेमपाल कामी र अविनाश बाेहराले २/२ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट हात पारे ।
यसअघि कीर्तिपुरस्थित त्रीवि क्रिकेट मैदानमा टस हारेर र ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनायाे ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले ।
१९ औं ओभरको अन्तिम बलमा नाेसैना पाेकानाले टाेनी उराबाट क्याच गराउनुअघि दीपेन्द्रले ३३ बलमा ३ चाैका र ४ छक्कासहित ६६ रन बनाए ।
दीपेन्द्र र राेहितकुमार पाैडेलले तेस्रो विकेटका लागि ५१ रनकाे साझेदारी गरेका । राेहित ४१ रन बनाएर आउट भए ।
त्यस्तै, चाैथाे विकेटका लागि दीपेन्द्र र आदिल अन्सारीले ७६ रनकाे साझेदारी गरेका थिए । टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका आदिलले ३१ रनकाे याेगदान दिए ।
आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन जाेडे ।
पिएनजीका लागि कावुआ माेरेयाले ३, रिले हिकुरेले २ तथा नाेर्मन भानुआ र नाेसैना पाेकानाले १/१ विकेट हात पारे ।
याे जितसँगै नेपालले ३ खेलमा ६ अंक जाेड्दा तीनै खेलमा पराजित पिएनजी अंक विहिन छ ।
नेपालले यसअघि पिएनजीलाई १५ रन तथा मलेसियालाई ६ विकेटले पराजित गरेकाे थियाे ।
पिएनजीले नेपालसँग १५ तथा मलेसियासँग ८ रनकाे पराजय बेहाेरेकाे थियाे ।
आफ्नो अन्तिम खेलमा पिएनजीले शुक्रबार र नेपालले शनिबार मलेसियाकाे सामना गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।