र्‍यापरदेखि पूर्वडिआईजीसम्म काठमाडौंको मेयर बन्ने दौडमा, प्रमुख दलको अवस्था कस्तो ?
वैकल्पिक शक्तिको मत विभाजित भएर कता जान्छ ?

देशकै संघीय राजधानी शहर भएकाले पनि काठमाडौं महानगरपालिकाको चुनाव विशेष चर्चामा हुन्छ । केन्द्रको राजनीतिले प्रभाव पार्ने भएकाले काठमाडौंको निर्वाचनमा धेरैको चासो बढ्नु स्वभाविक पनि हो ।

उसो त, देशकै सबैभन्दा बढी मतदाता भएको महानगर पनि हो–काठमाडौं । ०७४ को निर्वाचनभन्दा अहिले २० हजार ९ सय ३३ मतदाता थपिएको निर्वाचन आयोगको तथ्यांक छ ।

अहिले देशका राजनीतिक दलहरू ३० वैशाखमा हुने स्थानीय निर्वाचनको जोडतोड तयारीमा जुटेका छन् । सत्तारूढ गठबन्धनले बिहीबार मात्रै तालमेल गरेर निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । गठबन्धन एकातिर जुट्ने निर्णय भएसँगै काठमाडौं महानगरको चुनावी चासो झनै रोचक बनेको छ ।

गाउँदेखि शहरसम्म चुनावी सरगर्मी बाक्लो भइरहेको बेला काठमाडौं महानगरपालिकामा मेयर बन्ने आकांक्षीहरू पनि थपिँदै गएका छन् । देशका ६ महानगरपालिकामध्ये सर्वाधिक चासो बटुलेको काठमाडौंमा प्रदेश सांसद, पूर्वमेयर, पूर्वप्रहरीदेखि गायकसम्मले निर्वाचनमा उम्मेदवारी दिने चर्चाले झनै रौनक थपिदिएको छ ।

काठमाडौंको चुनाव–०७४ लाई पर्केर हेर्दा

०७४ को निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर एमालेले हत्याएको थियो । एमालेले गठबन्धन गरेर प्रमुखमा एमाले र उपप्रमुखमा राप्रपा हुनेगरी समझदारी गरेको थियो ।



एमालेबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्य थिए भने राप्रपाबाट उपप्रमुखको उम्मेदवार राजाराम श्रेष्ठ थिए । शाक्य ६४ हजार ९१३ मतसहित मेयरमा विजयी भएका थिए ।

त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए । उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९५२ सहित विजयी भएकी थिइन् भने उनको निकट प्रत्यासी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका थिए ।



त्यस्तै, विवेकशील नेपाली दलको तर्फबाट मेयरकी उम्मेदवार बनेकी रञ्जु न्यौपाने (रञ्जु दर्शना) ले २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन् । साझा पार्टीका मेयर उम्मेदवार किशोर थापाले १८ हजार ४९६, माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम दास डंगोलले ७ हजार ९०६, नयाँ शक्ति पार्टीका उम्मेदवार पवित्र बज्राचार्यले ६ हजार ५० मत प्राप्त गरेका थिए ।

०७४ को स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार शाक्य महानगरमा खसेको मतको झण्डै ३३ प्रतिशत मत प्राप्त गर्दै मेयर निर्वाचित भएका थिए । २ लाख ७९ हजार ३ सय ६ मतदाता रहेको काठमाडौंमा १ लाख ९७ हजार २ सय २७ मत खसेको थियो ।

६४ हजार ९ सय १३ मतसहित शाक्य निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जोशीले ४५ हजार २ सय ६९ मत प्राप्त गरेका थिए ।

जसको चर्चा छ

काठमाडौंको मेयरका लागि प्रदेश सांसददेखि मन्त्री भइसकेका केशव स्थापित, नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल, र्‍यापर बालेन शाह, बहालवाल मेयर विद्यासुन्दर शाक्य लगायतको नाम चर्चामा छ ।

सबै राजनीतिक दलहरूले आफ्नो प्रतिष्ठाको रूपमा यस महानगरलाई लिइरहँदा केही स्वतन्त्र उम्मेदवारहरूको ‘इन्ट्री’ले पनि चर्चा चुलिएको छ ।

 ० र्‍यापर बालेन शाह

निर्वाचनको रौनक सुरु हुनुपूर्वदेखि नै चर्चाको शिखरमा छन्, र्‍यापर बालेन शाह । उनको नाम ‘हिपहप’ मन पराउने युवा जगतमा चर्चित मानिन्छ । केही समयअघि शाहले आफू स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयर उठ्ने घोषण गरेसँगै सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो ।

आफ्ना सिर्जनामा देशको सामाजिक र राजनीतिक अवस्थामाथि टिप्पणी गर्ने शाहले काठमाडौंलाई स्मार्ट सिटी बनाउनेदेखिका योजना बोकेर टोल टोलमा पुग्न थालिसकेका छन् ।

काठमाडौंको गैरीगाउँमा बुवा डा. रामनारायण शाह र आमा दुर्गादेवी शाहको कोखबाट जन्मिएका उनी बाल्यकालबाटै हिपहप संस्कृतिबाट प्रभावित थिए । उनले राजधानीकै भीएस निकेतनबाट प्लस टू उत्तीर्ण गरेका थिए भने ह्वाइट हाउस कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका थिए ।

भारतको बैङलोरमा रहेको भिटियु युनिभर्सिटीमा ‘मास्टर आफ टेक्नोलोजी इन स्टकचरल इञ्जिनियरिङ’ पढेका उनी सानैदेखि संगीतमा रुचि राख्थे । ०७२ सालको विनाशकारी भूकम्पमा उनले गोर्खामा २८ ओटा अस्थायी घर बनाउनमा उनको प्रमुख हात रहेको थियो ।

० पूर्वमन्त्री केशव स्थापित

०५४ मा काठमाडौंबाट मेयर बनेका स्थापित हाल बागमती प्रदेशका सांसद छन् । उनी नेकपा एमालेका केन्द्रीय सदस्य पनि हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नजिक मानिने उनी यसअघिको निर्वाचनमा पनि मेयरको उम्मेदवारको रुपमा चर्चाकै शिखरमा थिए ।

स्थापित एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको संस्थापक महासचिवसमेत बनेका थिए । पार्टीबाहेक उनी २०५१ देखि २०५२ सम्म राष्ट्रिय खेलकुद परिषद् नेपालको नवौं सदस्यसचिव समेत बनेका थिए ।

२०६९ मा काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त भएका उनी २०५४ मा मेयरको उम्मेदवार बनेपछि उनले ल्याएको ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ नारा चर्चित बनेको थियो ।

राजाको प्रत्यक्ष शासनकालमा मेयर बनेका बखत उनले पशुपति क्षेत्र, माइतीघर, तीनकुनेलगायतका क्षेत्रमा निर्माण भएका अव्यवस्थित घर–टहरा भत्काएर विवादमा तानिएका थिए ।

०७४ को प्रदेशसभा निर्वाचनमा विजयी भएका स्थापित सुरुमा बागमती प्रदेशको मुख्यमन्त्री बन्ने चर्चा पनि थियो । तर, ‘मी टू’ अरोपमा तानिएसँगै भौतिक पूर्वाधारमन्त्री बनेका स्थापितलाई बर्खास्त गरिएको थियो । 

आगामी स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा स्थापितको नामसमेत चर्चामा छ । उनले काठमाडौंका टोल-टोलमा आफ्नो प्रभाव बढाउँदै चुनावीसभाहरू बाक्लो बनाएका छन् ।

० पूर्वडिआईजी रमेश खरेल

निर्वाचन आयोगमा गत पुस महिनामा मात्रै नेपाल सुशासन पार्टी दर्ता गराएका नेपाल प्रहरीका पूर्वडिआईजी रमेश खरेलले पनि आफू काठमाडौंको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । खरेल अहिले सो पार्टीको संगठन विस्तारमा लागिपरेका छन् ।

खरेलले २०७४ सालमा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए । सरकारले अर्का डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि राजीनामा दिएर खरेल नेपाल सुशासन अभियानमा क्रियाशील थिए ।

अभियानलाई पार्टीमा रूपान्तरण गरेका खरेल प्रहरीमा सेलिब्रेटी छवि बनाएका भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा समेत चिनिन्छन् । खरेलको स्थायी ठेगाना भने काभ्रेपलान्चोक हो । मेयर बन्ने घोषणासँगै काभ्रेका बासिन्दा रहेकाले काठमाडौं महानगरपालिकामा कसरी उम्मेदवार बन्न सक्छन् ? भन्दै सामाजिक सञ्जालमा प्रश्न उठेको थियो ।

प्रश्न उठेपछि उनले आफू काठमाडौंकै मतदाता रहेको भन्दै परिचयपत्र सार्वजनिक गरेका छन् । खरेलको मतदाता नामावली काठमाडौं महानगरपालिका–३१ मा रहेको छ । खरेलले मतदान गर्ने केन्द्र छुनामुना कमलक्षेत्र स्कुल बानेश्वर छ ।

० पूर्वमन्त्री भीमसेनदास प्रधान

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने नेता हुन्, भीसेनदास प्रधान । उनी पूर्वमन्त्रीसमेत हुन् ।

वर्तमान सांसद प्रधानलाई आगामी निर्वाचनमा काठमाडौं महानगरमा मेयरको सशक्त दाबेदारको रूपमा हेरिएको छ । यसअघिको निर्वाचनमा पनि प्रधान कांग्रेसबाट मेयरमा उठ्ने तयारीमा थिए । उनले पार्टीभित्र आवश्यक परामर्श नगरी टिकट दिँदा काठमाडौंमा हार ब्यहोरेको बताएका थिए ।

प्रधान पार्टी राजनीति र सरकारमा समेत बसेर काम गरेको अनुभव रहेको छ । पूर्वरक्षामन्त्री समेत रहेका नेता प्रधान काठमाडौं क्षेत्र नं ६ बाट पटक–पटक सांसद निर्वाचित भएका छन् ।

काठमाडौं जिल्लाको कांग्रेस सभापतिसमेत भएका नेता प्रधान प्राध्यापक संघका पूर्वसभापति पनि हुन् ।

नेता प्रधान पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । यसअघि बागमती प्रदेशमा प्रदेश सभापतिको पहिलो चरणमा तेस्रो भएका नेता प्रधानले देउवाका उम्मेदवार इन्द्र बानियाँलाई सहयोग गरेका थिए ।

० वर्तमान उपमेयर हरिप्रभा खड्गी

०७४ को निर्वाचनमा मेयर एमालेले जित्दा गठबन्धनलाई समेत पछाडि पारेर उपमेयरमा जितेकी थिइन्–हरिप्रभा खड्गीले ।

खड्गी यस पटकको निर्वाचनमा मेयरको आकांक्षीको रूपमा आफूलाई अगाडि ल्याएकी छिन् । पार्टीको १४ औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नं ६ बाट महाधिवेशन प्रतिनिधिसमेत रहेकी खड्गी निडर महिला नेतृत्वको रूपमा आफूलाई उभ्याउने गरेकी छिन् ।

काठमाडौंभित्रको आन्तरिक राजनीतिमा नेता प्रकाशमान सिंहको निकट रहेकी उपमेयर खड्गी केन्द्रमा सभापति शेरबहादुर देउवानिकटका नेताहरूसँग पनि सम्बन्ध बनाएकी छिन् ।

यसअघिको निर्वाचनमा उनका निकटतम प्रतिद्वन्द्वीलाई २४ हजारको मतान्तरले पराजित गरेकी खड्गी यस पटक मेयरको उम्मेदवारी दिने तयारीमा रहेकी छिन् ।

उपमेयर खड्गीलाई पार्टीले दुई पटक संविधानसभाको निर्वाचनमा पार्टीले समानुपातिकतर्फको सांसदको सूचीमा समेत राखेको थियो ।

० पूर्वमन्त्री रामवीर मानन्धर

काठमाडौंको मेयर बन्ने चर्चाको शिखरमा रहेको अर्को नाम हो–रामवीर मानन्धर । काठमाडौं महानगरका लागि उनको नाम परिचित छ ।

उनी २०७० र २०७४ मा काठमाडौं क्षेत्र नं ७ बाट एमालेबाट निर्वाचित सांसद पनि हुन् ।

पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका नेता मानन्धर वडा तहदेखि उठेका नेता हुन् । दुई पटकसम्म काठमाडौं महानगर १६ बाट २ पटक वडाध्यक्षसमेत बनेका मानन्धर योजनासहित आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरका उम्मेदवारका रूपमा अघि आउन लागेको चर्चा छ ।

यसअघि २०७४ मा मेयरको प्रमुख दाबेदार रहे पनि अन्तत: उनकै आग्रहमा विद्यासुन्दर शाक्यलाई मेयरका रूपमा अघि बढाइएको थियो ।

काठमाडौंका स्थायी बासिन्दा मानन्धर केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका बेलाको सक्रियता देखाएका थिए । धेरैले उनलाई सोही सक्रियताको पनि चर्चा गर्ने गरेका छन् ।

० वर्तमान मेयर विद्यासुन्दर शाक्य

०७४ को निर्वाचनमा एमालेबाट काठमाडौंका मेयर बनेका विद्यासुन्दर शाक्य पुनः मेयरमा नै आफ्नो उम्मेदवारी दर्ता गराउने आकांक्षामा छन् ।

उनले केही समयअघि मात्र पार्टीले जिम्मेवारी दिएको अवस्थामा पुनः मेयरमा दोहोरिने चाहना पटक–पटक दोहोर्‍याएका छन् ।

यसअघिका प्रतिबद्धता पूरा गर्न नसकेको भनेर आलोचना खेपिरहेका शाक्य पार्टीले जिम्मेवारी दिए पुनः दोहोरिने सोचमा छन् । यसअघि पनि उनले ‘सय दिनमा सय’ काम भन्ने नारा लिएका थिए । तर, हालसम्म कुनै पनि उपलब्धि नभएको गुनासा सुनिएका छन् ।

०२० साल जेठ ९ गते जन्मिएका शाक्यले शंकरदेव क्याम्पसबाट वित्तीय व्यवस्थापन विषयमा स्नातक गरेका छन् । उनी प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, २१ वडा कमिटीका संस्थापक कोषाध्यक्ष भएर काम गरेका थिए ।

एमालेको काठमाडौंको जिल्ला सचिव भएर काम गरेको अनुभवसमेत उनीसँग छ । एमालेमा शाक्यसँगै अन्य प्रतिस्पर्धीहरू एमालेमा बाक्लो देखिन थालेपछि शाक्य दोहोरिने वा नदोहोरिने भन्ने अन्यौल छ । उनी एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।

कुन दलको कस्तो अवस्था ?

विभिन्न दलबाट नेताहरुले आ–आफ्नो आकांक्षा प्रस्तुत गरिरहेका छन नै । त्यो स्वभाविक पनि हो । तर, काठमाडौंको मेयर बन्नका लागि र्‍यापरदेखि प्रदेश र संघका मन्त्रीसम्मको आकांक्षाले झनै चर्चा चुलिएको हो ।

गत निर्वाचनमा काठमाडौंको मतदाताको ट्रेन्ड हेर्दा एमालेले गरेको गठबन्धनप्रति मतदाताले रुचि देखाएनन् । यसपटक २०७४ सालको जस्तै परिस्थिति छैन । एमालेले केही स्थानमा राप्रपासँग गठबन्धन गरेको थियो ।

कांग्रेस र माओवादी केन्द्रबीच सीमित स्थानमा तालमेल भएको थियो । तत्कालीन समयमा कांग्रेस र माओवादी केन्द्र सरकारमा समेत सँगै थिए । अहिले पनि यी दुई दल तालमेल गरेरै अघि बढ्ने निर्णयसहित अघि बढेका छन ।

भरतपुर र पोखरा महानगरमा चुनावी गठबन्धन गरेका कांग्रेस र माओवादी केन्द्रले यसअघि काठमाडौंमा भने समीकरण बनाएका थिएनन् ।

सत्ता गठबन्धनको छायाँ आसन्न निर्वाचनमा पनि अवश्य देखिनेछ । सत्तापक्ष एक आपसमा भिडेर एमालेका उम्मेदवारलाई जिताउन लाग्दैनन् । काठमाडौंमा त्यसको प्रमुख लाभ कांग्रेसले लिने टिप्पणी भइरहेका छन् ।

उता, प्रमुख शक्तिका रूपमा हेरिएको एमाले पनि विभाजित अवस्थामा छ । विभाजित एकीकृत समाजवादीमा सानै समूह रहे पनि एमालेलाई कमजोर बनाउन भने भूमिका खेल्ने देखिन्छ ।

मालेको मत विभाजित हुँदा त्यसको प्रत्यक्ष लाभ उठाउने कांग्रेसले नै हो । अर्कोतर्फ, पराजित हुने अवस्थामा उम्मेदवार खडा गर्नुभन्दा कांग्रेसकै उम्मेदवारलाई समर्थन गर्ने मनसाय माओवादी, एकीकृत समाजवादी तथा जसपामा हुनसक्छ । प्रमुख पद कांग्रेसलाई छोडेर अन्य पदमा भागबण्डा लिने उपाय समाजवादीका लागि फाइदाजनक बन्नसक्छ ।

वैकल्पिक शक्तिको अवस्था !

०७४ को निर्वाचनताका वैकल्पिक शक्ति भन्दै आएको विवेकशील नेपाली दल र साझा पार्टी नेपाल एकताबद्ध भएर चुनावमा उभिएका थिए । विवेकशील साझा पार्टी बनाएर अघि बढेको यो दलले त्यतिबेला उल्लेखनीय मत ल्याएको थियो । सो दलको अहिलेको अवस्था निकै कमजोर देखिन्छ ।

विवेकशील नेपाली दलका संस्थापक नेता उज्जवल थापाको निधन भइसकेको छ । त्यसपछि अहिले एकीकृत दलको हर्ताकर्ता साझा पार्टीबाट आएका रविन्द्र मिश्र छन् । उनले संघीयताको खारेजी, राजतन्त्र र धर्मनिरपेक्षताका विषयमा जनमत संग्रहको एजेण्डा अघि सारेसँगै पार्टीभित्र आन्तरिक कलह छ ।

मिश्रको प्रस्तावमा सोही पार्टीभित्र रहेका विवेकशील नेपाली दलबाट आएका अर्का संयोजक मिलन पाण्डेलगायतले विरोध जनाए । सो दलले विगतमा पाएको जनमत यसपटक फेरि दोहोरिन कठिन देखिन्छ । विवेकशील साझाले नपाए त्यत्रो ठूलो मत कहाँ जान्छ त ? भन्ने प्रश्न यससँगै उब्जिएको छ । वैकल्पिक शक्ति भनेको दल नै छिन्नभिन्न भइरहँदा यो पटकको निर्वाचनमा यसअघि उनीहरूले पाएको त्यो मत बाँडिने देखिएको छ ।

[स्थानीय निर्वाचन] तालमेलको केन्द्रमा भरतपुर : दबाबमा कांग्रेस, के गर्ला माओवादी ?

  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १८:७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया