बहुप्रतीक्षित जयनगर-जनकपुरधाम रेल्वेको शनिबार उद्घाटन, नेपाली यात्रुले ५ नियमको पालना गर्नुपर्ने

नेपालको एकमात्र रेल्वे शनिबारदेखि सञ्चालनमा आउन लागेको छ । शनिबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा रेल्वे सेवाको भर्चुअल रूपमा उद्घाटन गर्नेछन् ।

उद्घाटनका लागि जनकपुरधामस्थित रेल्वे स्टेसनमा मञ्च निर्माणको काम पूरा भएको छ । 

यसैगरी, भारतको जयनगरमा रेल्वेलाई सजाउने कामसमेत पूरा भइसकेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

महाप्रबन्धक झाले प्रधानमन्त्रीद्वय देउवा र मोदीले दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल्वे उद्घाटन गर्ने बताए । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु कुमारी यादवले शनिवार दुई देशका प्रधानमन्त्रीले भर्चुअल रूपमा स्विच थिचेर रेल्वेको शुभारम्भ गर्ने बताइन् । 

भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४ दशमलव ९ किलोमिटरसम्म चल्ने रेल्वे साढे १२ बजे जयनगरबाट चल्नेछ। 



रेल्वे उद्घाटनपश्चात् प्रत्येक स्टेसनमा नागरिक अभिनन्दनका लागि रेल रोकिने झाले बताए । 

उनले भने, ‘अभिनन्दनका लागि हरेक स्टेसनमा छात्र-छात्राहरू नेपाल र भारतको झण्डासहित रेल्वेमा आउनुहुन्छ । कुर्थासम्म पुगेर फर्केपछि जनकपुरधाममा भव्य कार्यक्रमको आयोजना गरिनेछ ।’



शनिबार उद्घाटन भएपछि आइतबारदेखि दैनिक रूपमा दुई पटक आउने जाने गरी रेल चल्ने महाप्रबन्धक झाकाे भनाइ छ ।

बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्ने छ भने दुई घण्टापछि कुर्था स्टेसनमा पुग्नेछ । 

जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि निस्किने रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्ने महाप्रबन्धक झाले बताए । 

जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको छ । 

यसैगरी नै नियमित रूपमा रेल्वे सञ्चालन हुने उनले बताए ।

नेपाल सरकारले खरिद गरेको दुई सेट रेल फागुन १ गते देखि ‘ड्रायरन’ गर्दै आएको छ । सुरुमा दिनहुँ एक पटक चलाए पनि चैत १ गतेदेखि एक दिनको अन्तरालमा यात्रुबिना सञ्चालन हुँदै आएको थियो । 

महाप्रबन्धक झाका अनुसार शनिबार हुने उद्घाटनका लागि जनकपुरधाम रेल्वे स्टेसन र जयनगरको रेल्वे स्टेसनमा प्रोजेक्टर जडानसहित सजाउने कार्य भइरहेको छ।

जनकपुरधाम रेल्वे स्टेसन र जयनगर रेल्वे स्टेसनमा प्रोजेक्टरसहितको कार्यक्रम आयोजना गरिने महाप्रबन्धक झाले बताए।

भोलि यात्रुले निःशुल्क चढ्न पाउने बताइएकाे छ ।

रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको थिएन । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेकी थिइन् ।

भाडादर ७० देखि ३५० रुपैयाँसम्म निर्धारण

जयनगर-जनकपुरधाम-कुर्थासम्म सञ्चालन हुने रेल्वेको भाडा समेत निर्धारण गरिएको छ । 

नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि जयनगरसम्मको भाडा ७० रुपैयाँदेखि ३५० रुपैयाँसम्म निर्धारण गरेको छ । 

जनकपुरधामदेखि जयनगरसम्मको सामान्य कोचको ७० र एसी कोचको ३५० रुपैयाँ भाडा निर्धारण गरिएको हो । 

त्यस्तै, जनकपुरधामदेखि परवाहा र कुर्थाको सामान्य कोचको २० र एसी कोचको १००, वैदेहीको सामान्य कोचको २५ र एसी कोचको १२५, महिनाथपुरको सामान्यको ३५ र एसीको १७५, खजुरीको सामान्य कोचको ५५ र एसी कोचको २७५, इनर्वाको सामान्य कोचको ६० र एसी कोचको ३०० रुपैयाँ भाडा निर्धारण गरिएको बताइएको छ । 

महाप्रबन्धक झाले टिकट अनलाइन र अफलाइन दुबैको व्यवस्था गरिएको जानकारी दिए । 

नेपाली यात्रुले ५ नियमको पालना गर्नुपर्ने

जनकपुरधाम जयनगर रेल्वेमा यात्रा गर्न नेपाली यात्रुले भारत जानका लागि ५ नियमको पालना गर्नुपर्ने भएको छ । 

रेलमा यात्रा गर्दा भारतको जयनगरसम्म जानका लागि नेपाली नागरिकले केही कागजात साथमा राखेपछि मात्र प्रवेश दिइने भएको छ । 

सुरक्षा र खुला सीमाका कारण नेपाली नागरिकले रेलमा यात्रा गर्दा पासपोर्ट वा नागरिकताको प्रमाणपत्र अनिवार्य रूपले साथमा राख्नुपर्ने हुन्छ । 

रेलमा यात्रा गर्दा नेपाली हो भनेर परिचय खुल्ने गरी वैद्य नेपाली परिचयपत्र अनिवार्य राख्नुपर्ने नियम लागू गरिएको छ । 

नागरिकता नभएको खण्डमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र अनिवार्य रूपले साथमा राख्नुपर्ने हुन्छ । 

त्यस्तै, आकस्मिक प्रवेशका लागि भारतस्थित नेपालको महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफरिस पत्र वा प्रमाणपत्र साथमा बोक्न भनिएको छ । 

यसैगरी, १० देखि १८ वर्ष उमेरसम्मका बालबालिकाको हकमा स्कुले आइडी कार्ड अनिवार्य साथमा राख्नुपर्नेछ । 

यस्तो छ तयारी

१९९४ सालमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जंगलबाट काठ लग्नका लागि रेल्वे लाइन विस्तार गरेको थियो । त्यसबेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो ।

पछि भारत सरकारले १८ वटा बोगीसहित वाष्प इन्जिन सहयोग गरेको थियो । २०५१ सालदेखि स्टिम इन्जिनयुक्त रेल सञ्चालनमा आएको थियो । २०६१ माघ रेल बन्द भएको थियो । 

अहिले नेरोगेजबाट ब्रोडगेजमा परिणत गरिएको छ । त्यसअनुसार नै तयारी गरिएको छ । 

भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा निर्माण भइरहेको छ । 

परियोजनाको प्रथम चरणमा जयनगर-कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेको छ ।

जसअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम चलिरहेको छ । 

डिजेल इलेक्ट्रिक मल्टिपल युनिट डिजेल र विद्युत दुवैबाट चल्ने यी दुवै विश्वमै नयाँ मोडेलका रेलको रूपमा तयार गरिएको निर्माण कम्पनीले दावी गरेको छ । 

डिपिसी १९०१ र डिपिसी १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका हुन् । 

प्रति घण्टा ११० किलोमिटरको स्पिडमा चल्ने सक्ने रेल एक पटकमा १ हजार ३ सयसम्म यात्रुले यात्रा गर्न सक्छन् । 

एउटै इन्जिन भए पनि दुबै तर्फबाट चलाउन सकिने रेलको एउट बोगीमा ७० वटा सिट रहेको छ ।

रेलका बाेडिङमा यात्रुले आफूसँग ल्याउने झोलाहरू राख्ने स्थान बनाइएको छ भने प्रत्येक बोगीमा शौचालयको व्यवस्था गरिएको छ। एसीबाहेक अन्य जनरल बोगीमा ठाउँठाउँमा पंखा लगाइएको छ ।

२० मिटर लामो रेलको इन्जिनबाहेक एक एसी र २ जनरल बोगी रहेको छ । 

प्रति किलोमिटर २ लिटर डिजेलको एभरेज दिने रेलमा आवश्यकता अनुसार थप ४ वटा बोगीसम्म जोड्न सकिने निर्माण कम्पनीको दावी छ । 

  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार १६:३८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया