ललितपुर महानगरमा पेचिलो प्रतिस्पर्धा, कुन दलबाट को आकांक्षी ?
तालमेल भए गठबन्धनको जित, नभए प्रतिस्पर्धा पेचिलो !

राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण प्रभाव पार्नेमध्येको स्थानीय तह हो- ललितपुर महानगरपालिका ।

देशभरका ६ महानगरपालिकामध्ये ललितपुर महानगरको चुनावी चर्चा रोचक हुने गरेको छ।

ललितपुर महानगरपालिकामा कुन पार्टीबाट कसले टिकट पाउने, कुन पार्टीको पल्लाभारी हुने जस्ता अड्कलबाजीहरू जनस्तरमा सुरु हुन थालेका छन्।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारीमा राजनीतिक दलहरूले तीव्रता दिँदै गर्दा ललितपुरको यसअघि र अबको परिदृश्यबारे समीक्षा हुन थालेका छन् । 

राजनीतिकर्मीदेखि, उद्योगी व्यापारीसम्मले आकांक्षा देखाएपछि ललितपुर महानगरको चुनावी रौनक बढेको छ । 

ललितपुरको चुनाव-०७४ लाई फर्केर हेर्दा



ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धन बनेको थियो । 

प्रमुखमा एमाले र उपप्रमुखमा राप्रपाले उम्मेदवारी दिएका थिए । तर, दुवै पराजित भए ।



कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन २४ हजार ६ सय ४२ मतसहित विजयी भए । मेयरकै लागि निकट प्रत्यासी एमालेका हरिकृष्ण व्यञ्जनकार पनि कडा टक्करमा उत्रिएका थिए । 

उनीहरूबीचको मतान्तर धेरै छैन ।  व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए । मेयरका यी दुई प्रतिस्पर्धीबीच जम्मा ३२६ मतको मतान्तर रहेको थियो । 

यो महानगरपालिकामा साझा पार्टीले मेयरमा रमेश महर्जन र उपप्रमुखमा शोभा शाक्यलाई प्रतिस्पर्धी बनाएको थियो । महर्जन तेस्रो हुँदा शाक्य भने दोस्रो भएकी थिइन्।

महर्जनले १३ हजार ४ सय ५८ मत ल्याएका थिए । त्यस्तै, माओवादी केन्द्रबाट उम्मेदवार बनेका दिनेश महर्जनले १० हजार ६ सय ६१ मत पाएका थिए ।

उपप्रमुखमा कांग्रेस उम्मेदवार गीता सत्यालले १९ हजार ८१९ मत पाएर विजयी भएकी थिइन् । 

एमालेसँग गठबन्धन गरेको राप्रपाका उपप्रमुखका उम्मेदवार बाबुकाजी प्रधान १० हजार ५४० मत ल्याउँदै चौथो भए । 

साझा पार्टीबाट उम्मेदवार बनेकी शोभा शाक्यले १४ हजार २ सय ४० मत ल्याएर दोस्रो भएकी थिइन् । 

माओवादी केन्द्रकी उम्मेदवार हसिना शाक्यले १२ हजार ९ सय ७९ मत पाएकी थिइन भने नयाँ शक्ति पार्टी, नेपालकी सजनी महर्जनले १ हजार ३ सय ८० मत पाएकी थिइन् ।

ललितपुर महानगरमा रहेका २९ वडा मध्ये एमालेले सर्वाधिक १४ वडामा जीत हासिल गरेको थियो । दोस्रोमा कांग्रेसले १० वडा जित्दा माओवादीले पनि ४ वडा जितेको थियो ।

तालमेल भए गठबन्धनको जित, नभए प्रतिस्पर्धा पेचिलो !

सत्तारूढ गठबन्धनले स्थानीय तहमा तालमेलका आधारमा चुनावमा भाग लिने बताएको छ । 

गठबन्धनबीच तालमेलको निर्णय भइसकेका कारणले ललितपुर महानगरमा एमालेलाई निकै कठिन पर्ने देखिन्छ । हुन त कांग्रेस र एमालेका उम्मेदवारको ०७४ सालको निर्वाचनमा मतान्तर धेरै थिएन । 

तर, कांग्रेस र माओवादी दुवैको भोट जानेगरी एउटा मात्र उम्मेदवार तय भएको अवस्थामा एमाले उम्मेदवारले पाएको मत भन्दा १० हजार ८ सय ४५ मत बढी गठबन्धनको हुन्छ । 

साथसाथै, एमाले विभाजनको असर पनि त्यहाँ देखिन्छ । हुन त एमाले नेताहरूले एमाले विभाजनको असर अन्य दलबाट प्रवेश गराएर पूर्ति गरिएको दाबी गरिरहेका छन्।

तर, वैकल्पिक शक्ति पनि विभाजित भइसकेको अवस्था भएकाले पनि मत कता जान्छ भन्ने यसै भन्न सकिने अवस्था छैन् । 

गठबन्धन दलहरूभित्र देखिएको छलफलमा ललितपुर महानगरपालिकामा कांग्रेसकै मेयर लड्ने लगभग निश्चित छ । यसर्थ यहाँ यिनै दुई पार्टीबीच वैशाख ३० को निर्वाचनमा सोझो प्रतिस्पर्धा हुने देखिएको छ । 

अहिलेको अवस्था हेर्दा गठबन्धन हावी हुने देखिन्छ । यो महानगरपालिकामा तालमेल नभएको अवस्थामा भने प्रतिस्पर्धा पेचिलो बन्ने निश्चित छ । 

यसअघि एमालेले राप्रपासँग यहाँ तालमेल गरेको थियो । हुन त राप्रपा पनि विभाजित भइसकेको छ । 

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका नेताहरूलाई भेटेर आवश्यक परेको ठाउँमा तालमेल गर्ने संकेत दिइसकेका छन् । जसले यहाँको प्रतिस्पर्धामा झनै रोचकता थप्नेछ । 

को-को छन् आकांक्षी ? 

चासोका साथ हेरिएको यस महानगरपालिकामा विभिन्न दलका आकांक्षीहरूले आफूलाई मेयरको रूपमा अघि सार्नपर्ने बताउँदै आएका छन् । 

एमालेबाट कसको चर्चा ? 

एमालेका अध्यक्ष केपी ओलीका निकट मानिने ललितपुरका दुई नेता ज्ञानेन्द्र शाक्यले मेयर उठ्ने आकांक्षा देखाएका छन् । उनी यसअघि पनि मेयरका आकांक्षी थिए ।

तर, एमाले ललितपुरका पूर्वजिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले अन्तिम समयमा टिकट पाए । 

उनी कांग्रेसका उम्मेदवार चिरीबाबुसँग ३२६ मतले पराजित भएका थिए । व्यञ्जनकारले मेयरमा टिकट पाएमा मन्जरी उपमेयरको उम्मेदवार बन्न तयार रहेको चर्चा एमालेभित्र छ ।

ललितपुर महानगरमा प्रेम महर्जनसमेत बलिया उम्मेदवार हुन् । एमालेले महर्जनलाई समेत उम्मेदवार बनाउन सक्ने सम्भावना बढेको निकटस्थहरू बताउँछन् । 

मेयरको टिकट लिनका लागि उनीहरू सबैले दौडधुप बढाएका छन्।  

कांग्रेसबाट आकांक्षी को को ?

०७४ सालको निर्वाचनमा विजयी भएका चिरीबाबु महर्जन पनि पुनः दोहोरिने इच्छा व्यक्त गरिरहेका छन् । 

उनले जिल्ला, प्रदेश र केन्द्रीय कमिटीमा लबिङ बढाइरहेका छन् ।

महर्जनले आफू पक्षका नेताहरूलाई फेरि मेयरमा दोहोरिने वातावरण बनाउन आग्रह गरिसकेका छन् ।

ललितपुरमा उपमेयर रहेकी गीता सत्यालले पनि मेयरमा दाबी गरिरहेकी छन् । पाँच वर्ष उप-मेयरको रुपमा काम गरेको र अब पार्टीले मेयरको जिम्मेवारी सम्हाल्ने अवसर दिनुपर्ने उनको दाबी छ। 

त्यसबाहेक, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, भरतलाल न्याछ्यौले पनि मेयरको टिकट दाबी गरेका छन् । 

जित्ने बलियो सम्भावना भएकाले पनि कांग्रेसलाई आकांक्षी व्यवस्थापन गर्न गाह्रो परेको बुझ्न सकिन्छ । भरतलाल न्याछ्यौले त आफ्नो चुनावी प्रचारलाई नै तीव्र बनाएका छन् । 

कांग्रेसमा जिल्ला र प्रदेश कमिटीको सिफारिसका आधारमा केन्द्रीय कमिटीले मेयरको उम्मेदवार छनोट गने प्रावधान छ ।

माओवादीबाट को छानिँदै ?

ललितपुर जिल्लालाई माओवादीले आफ्नो प्रभाव भएको क्षेत्रको रूपमा लिन्छ । 

ऊर्जामन्त्री तथा माओवादी प्रभावशाली नेतृ पम्फा भुसालको निर्वाचन क्षेत्र भएकाले पनि यहाँ केन्द्रीय नेताहरूको चासो बढ्ने देखिन्छ ।

उनको क्षेत्र ललितपुर महानगरपालिकाभित्र पनि पर्छ । माओवादीले गठबन्धनबाट निर्वाचनमा सहभागी हुने बताइरहँदा उता कांग्रेसभित्र भने यसअघि निर्वाचित भएको ठाउँ छाड्न नहुने तर्क अघि बढेको छ ।

यसअघिको चुनावमा मेयरमा पराजित भएका दिनेश महर्जनले नै टिकटमा दाबी गरिरहेका छन् । 

त्यसबाहेक, राजकाजी महर्जन र सरोज महर्जनले पनि मेयरको टिकट पाउनुपर्ने भन्दै लबिङ गरिरहेको चर्चा माओवादी वृत्तका जिल्ला नेताहरूमा व्याप्त छ । 

ललितपुरमा माओवादी नेतृ पम्फा भुसालले चाहेको व्यक्तिले नै मेयरको टिकट पाउने अवस्था रहेको माओवादीका जिल्ला नेताहरू बताउँछन् । 

  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार १६:१५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया