बारको मतदान जारी, मतपरिणाम आउन तीन दिन लाग्ने

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसाेसिएसनको केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान जारी छ ।

काठमाडौंसहित देशका विभिन्न भागमा रहेका ३५ वटा स्थानबाट नेपाल बार एसाेसिएसनको २६ औं केन्द्रीय कार्य समिति चयनका लागि मतदान भइरहेको हो । 

बारमा अध्यक्षसहित ११ जना पदाधिकारी र सदस्यहरूसहित २५ जनाको कार्य समिति चयन हुनेछ । 

बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म हुनेछ ।

अपरान्ह ४ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताहरूले मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकले जानकारी दिए।

उनका अनुसार केही स्थानमा भने मतदान सकिएको छ भने धेरैजसो मतदान केन्द्रमा ५० प्रतिशतभन्दा बढी मतदान भएसकेको छ ।



निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भइसकेपछि देशभरका मतपेटिका काठमाडौंमा ल्याइनेछ । 

त्यसपछि मतगणना सुरु हुने हुनाले परिणाम आउन करिब ३ दिन लाग्ने अनुमान गरिएको पनि प्रमुख निर्वाचन अधिकृत पाठकले बताए।



नयाँ कार्य समितिको नेतृत्वको लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुनेछ । 

सो समूहहरु मध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्वमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् ।

  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार १३:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया