आइपिएल २०२२ मा मुम्बईको लगातार दोस्रो हार, शीर्षमा उक्लियो राजस्थान

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) पाँच पटकको विजेता मुम्बई इण्डियन्सले लगातार दोस्रो हार बेहोरेको छ । दोस्रो हार बेहोर्ने क्रममा ऊ आज राजस्थान रोयल्ससँग २३ रनले पराजित हुन पुग्यो ।

पहिलो खेलमा रोहित शर्मा नेतृत्वको मुम्बई दिल्ली क्यापिटल्सविरुद्ध ४ विकेटले पराजित भएको थियो ।  आफ्नो दोस्रो खेलमा राजस्थानले दिएको १९४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । 

उसका लागि तिलक वर्माले  र इशान किशनले अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् । १९ वर्षीय वर्माले ३३ बलमा पाँच छक्का र तीन चौकासहित ६१ रन बनाए । इशानले ४३ बलको सामना गर्दा पाँच चौका र एक छक्कासहित ५४ रनको पारी खेले । किशन र वर्माले ५४ बलमा ८१ रनको साझेदारी गरे ।

आक्रामक फिनिसरको परिचय बनाएका किरण पोलार्डले २४ बलमा २२ रन मात्र जोड्न सकेन । कप्तान रोहित शर्मा १० रनमै पवेलिएन फर्किए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । राजस्थानका लागि युजवेन्द्र चहल, नवदीप सैनीले दुई/दुई, रविचन्द्रन आश्विन, प्रशिद्ध कृष्णा र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए ।  

यसअघि मुम्बईस्थित डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९३ रन बनायो । 

उसका लागि जस बटलरले शतकीय पारी खेले । ६८ बलको सामना गरेका उनले ११ चौका र पाँच छक्कासहित १०० रन बनाए । शिमरोन हेटमायरले ३५ र कप्तान सञ्जु स्यामसनले ३० रन बनाए ।



मुम्बईका लागि जसप्रीत बुमराह र टाइमल मिल्सले तीन/तीन तथा किरण पोलार्डले एक विकेट हात पारे । मुम्बईले एक विकेट भने रन आउटको रूपमा प्राप्त गर्‍यो । 

जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोडेको छ । दुवै खेलमा पराजय बेहोरेको मुम्बई अंकविहीन छ ।



  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार २०:२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया